संसदको चौथो शक्ति रास्वपाले ७४ जिल्लामा संगठन विस्तार गरेको छ । गत ७ असारमा स्थापनाको पहिलो वर्ष मनाएको रास्वपा अब हुम्ला, डोल्पा र रुकुम पश्चिममा पुग्न बाँकी छ । ‘तीन जिल्लामा संगठन विस्तार गर्न बाँकी छ,’ संगठनन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले भने । एक वर्षको अवधिमा २ लाखले रास्वपाको सदस्यता लिएका छन् । र, रास्वपाको सदस्यता शुल्क १ हजार तोकेको छ । यसरी २ लाख सदस्यबाट करिब २ करोड रकम रास्वपाले संकलन गरेको छ । ‘४ लाख सदस्यता पुर्याउने योजना छ,’ बुर्लाकोटीले भने ।
२ लाखमध्ये ३४ हजार सदस्यले ५ वर्षका लागि सदस्यता नवीकरण गरेका छन् । ‘यसमा १० प्रतिशतजतिको शुल्क मिनाहा गरिएको छ,’ सह–महामन्त्री बुर्लाकोटीले भने । आवेदन दिएका ६७ हजारको सदस्यता रास्वपाले ‘पेन्डिङमा राखेको छ । ‘प्राविधिक डकुमेन्ट नपुगेर पेन्डिङमा राखिएको हो,’ बुर्लाकोटीले भने ।
सदस्यताका लागि अफलाइनबाट आवेदन दिनेको संख्या करिब ८५ हजार छ । अनलाइन अफलाइनबाट गरी दैनिक ४ सयदेखि ७ सय ५० को संख्यामा सदस्यताका लागि आवेदन आइरहेको सह–महामन्त्री बुर्लाकोटीले बताए । ‘सदस्यता लिन आकर्षण देखिएको छ । विदेशबाट सदस्यता लिनेको संख्या पनि धेरै छ,’ उनले भने ।
उनका अनुसार विदेशबाट दैनिक ८० देखि १ सय जनासम्मको आवेदन आउने गरेको छ । १८ वर्ष उमेर पुगेका नागरिकलाई रास्वपाले सदस्यता दिने गरेको छ । ‘नागरिकता, मतदाता परिचयपत्र भएकालाई सदस्यता दिएका छौँ । सामाजिक रूपमा धूमिल र अरु पार्टीमा लागेर छवि बिगारेकालाई सदस्यता दिँदैनौँ,’ उनले भने, ‘जिल्ला वा पालिका संयोजकले भेरिफिकेसन गर्ने गरेको छ ।’
रास्वपाका अनुसार २ सय ५० वटा पालिकामा संगठन निर्माण भइसकेको छ । करिब ८ सय वडामा पनि रास्वपाको संगठन बनिसकेको छ । अघिल्लो भदौमा सातवटा प्रदेशमा संगठन बनाएको रास्वपाले आगामी भदौसम्म सबै पालिकामा पुग्ने योजना बनाएको छ । आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने योजनाअनुसार रास्वपाले संगठन विस्तारलाई तीव्रता दिएको हो ।
ठूला दलका नेताहरूलाई ‘नो इन्ट्री’
रास्वपाले ठूला दलका नेता र संघीय चुनावमा उम्मेदवार भएकालाई तत्काल सदस्यता नदिने नीति अपनाएको छ । ‘धेरैको संख्यामा आउन चाहनुभएको छ । तर, ठूला दलका ठूला नेतालाई तत्काल सदस्यता दिँदैनौँ,’ बुर्लाकोटीले भने, ‘ठूला पार्टीका नेता ल्याउने अवस्था छैन । इमानदार छवि भएका, लुकेर बसेका, युवा र महिलालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।
बुर्लाकोटीका अनुसार ठूला दलका कतिपय नेता पद नलिने तर अभियानमा जोडिने भन्दै रास्वपामा आइरहेका छन् । ठूला दलका नेता सदस्यता बन्न सक्ने तर महत्त्वपूर्ण जिम्मेवारी नदिइने बताउँछन् प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकाल । ‘साधारण सदस्य भएर बस्छु भन्न पाइयो तर महत्त्वपूर्ण जिम्मेवारी दिदैँनाैँ,’ उनले भने ।
लेबी लिने, चन्दा नलिने
रास्वपाले पार्टी सदस्यबाट लेबी र सयोगीबाट दान लिने गरेको छ । तर, चन्दा शीर्षकमा भने रकम नउठाउने नीति रास्वपाको छ । ‘स्वइच्छाले दान सहयोग दिएमा लिन्छौँ । पत्र पठाएर फोर्स गरेर चन्दा संकलन गर्दैनौँ । चन्दा नउठाउने नीति हो,’ बुर्लाकोटीले भने ।
केन्द्रीय सदस्यको लेबी १ लाख
रास्वपाले सुरूमा २१ जना केन्द्रीय सदस्यको सदस्यता शुल्कबाट पार्टीले आर्थिक गतिविधि सुरू गरेको थियो । अहिले केन्द्रीय सदस्यको लेबी १ लाख छ । तर, तिर्न नसक्नेका लागि भने लेबी छुटको व्यवस्था रास्वपाले गरेको छ । ‘लेबी तिर्न नसक्नेका लागि छुट गरेका छौँ,’ बुर्लाकोटीले भने । हाल रास्वपाले केन्द्रीय सदस्य संख्या ३९ पुर्याएको छ ।
त्यसैगरी, केन्द्रीय विभागको सदस्यको लेबी १५ हजार छ । प्रदेश समितिको सदस्यको लेबी १० हजार र प्रदेशको विभागको सदस्यको लेबी ७ हजार तोकेको छ । त्यसैगरी, पालिका समितिको सदस्यबाट ३ हजार र पालिका विभाग सदस्यको लेबी २ हजार रहेको रास्वपाले जनाएको छ । वडा समिति १ हजार । रास्वपाले पार्टीको सदस्यता शुल्क १ हजार तोकेको छ । हालसम्म करिब १२ हजारले सदस्यता लिएको बताउँछन् संगठन विभाग प्रमुख बुर्लाकोटी ।
सांसदबाट मासिक २५ हजार लेबी
सांसदबाट रास्वपाले मासिक २५ हजार लेबी उठाउँछ । संसदमा रहेका दलहरूमध्ये धेरै लेबी उठाउनेभित्र रास्वपा पर्छ । नयाँ पार्टी भएकाले आर्थिक व्यवस्थापनका लागि लेबी उठाउन बाध्य भएको रास्वपाको भनाइ छ । तर, रास्वपाका सांसदहरूले लेबी धेरै भएकाले आफ्नो दैनिक खर्चमा कठिन भएको गुनासो गर्ने गरेका छन् । तर नयाँ पार्टी भएकाले लेबी बढी भएको रास्वपाका महामन्त्री डा. मुकुल ढकाल बताउँछन् । आगामी वर्ष लेबीमा समायोजन हुने उनको भनाइ छ । ‘हाम्रो नयाँ पार्टी हो । ठूला दलमा जस्तो पहिले नै सञ्चित रकम थिएन । पार्टी सञ्चालनका लागि लेबी लिएका हौँ । आगामी वर्षबाट घट्दै जान्छ,’ उनले भने ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १९:०९