राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वर्ष २ लाख आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ को लेखापरीक्षण प्रतिवेदनमा खुद नाफा २ लाख ३१ हजार ७ सय ५४ रुपैयाँ भएको उल्लेख गरेको छ । रास्वपाको यो १३ दिनको आम्दानी हो । २०७९ असार १७ गते दर्ता भएको रास्वपाले पहिलो वर्ष १३ दिनको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएको हो । ‘नयाँ पार्टी हो । अरू दलको जस्तो सम्पत्ति छैन । पहिलो वर्ष १३ दिनको आयव्यय विवरण बुझाएका हौँ,’ रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले भने, 'वर्षको अन्तिममा दर्ता भएको नयाँ पार्टी हो । अरू दलको जस्तो सम्पत्ति छैन ।’
रास्वपाले अब २०७९/०८० को मात्र पूर्ण लेखापरीक्षण गर्नेछ । सदस्यता शुल्कबाट १ लाख २० हजार र आर्थिक सहयोगबाट २ लाख ९० हजार १० रुपैयाँ गरी ४ लाख १० हजार १० रुपैयाँ रास्वपाले संकलन गरेको छ ।
यही रकमबाट खर्च गरेको विवरण प्रतिवेदनमा देखाएको छ । १३ दिनको प्रतिवेदनमा रास्वपाले कर्मचारीका लागि खर्च गरेको छैन । प्रशासनिक खर्च ८९ हजार ६ सय ९८ रुपैयाँ, अन्य खर्च ८४ हजार १ सय ९६ र ह्रास खर्च ४ हजार ३ सय ६१ गरी १ लाख ७८ हजार २ सय ५५ खर्च भएको छ ।
जग्गा जमिन छैन
लेखापरीक्षण प्रतिवेदनमा रास्वपाले जग्गाजमिन जोडेको देखिँदैन । ‘पार्टीको जग्गाजमिन छैन । पार्टी कार्यालय पनि भाडाको हो,’ सह–महामन्त्री एवं संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले भने, ‘जग्गाजमिन जोड्ने प्रक्रियामा प्रवेश गरेका छैनौँ ।’ बसुन्धरामा रहेको केन्द्रीय कार्यालयको भवन भाडाको हो । भवनको मासिक १ लाख ७५ हजार भाडा रास्वपाले तिर्दै आएको छ ।
लेबी लिने, चन्दा नलिने
रास्वपाले पार्टी सदस्यबाट लेबी र सयोगीबाट दान लिने गरेको छ । तर, चन्दा शीर्षकमा भने रकम नउठाउने नीति रास्वपाको छ । आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा रास्वपाले चन्दाको शीर्षक राखेको छैन, आर्थिक सहयोग शीर्षक राखेको छ । ‘स्वइच्छाले दान सहयोग दिएमा लिन्छौँ । पत्र पठाएर फोर्स गरेर चन्दा संकलन गर्दैनौँ । चन्दा नउठाउने हाम्रो नीति हो,’ बुर्लाकोटीले भने ।
केन्द्रीय सदस्यको लेबी १ लाख
रास्वपाले सुरूमा २१ जना केन्द्रीय सदस्यको सदस्यता शुल्कबाट पार्टीले आर्थिक गतिविधि सुरू गरेको थियो । अहिले केन्द्रीय सदस्यको लेबी १ लाख छ । तर, तिर्न नसक्नेका लागि भने लेबी छुटको व्यवस्था रास्वपाले गरेको छ । ‘लेबी तिर्न नसक्नेका लागि छुट गरेका छौँ,’ बुर्लाकोटीले भने । हाल रास्वपाले केन्द्रीय सदस्य संख्या ४० पुर्याएको छ ।
त्यसैगरी, केन्द्रीय विभागको सदस्यको लेबी १५ हजार छ । प्रदेश समितिको सदस्यको लेबी १० हजार र प्रदेशको विभागको सदस्यको लेबी ७ हजार तोकेको छ । त्यसैगरी, पालिका समितिको सदस्यबाट ३ हजार र पालिका विभाग सदस्यको लेबी २ हजार रहेको रास्वपाले जनाएको छ । रास्वपाले पार्टीको सदस्यता शुल्क १ हजार तोकेको छ । हालसम्म करिब १२ हजारले सदस्यता लिएको बताउँछन् संगठन विभाग प्रमुख बुर्लाकोटी । सदस्यहरूबाट लेबी र शुल्कबापत कति रकम संकलन भयो भन्ने विवरण रास्वपाको आगामी लेखापरीक्षणमा मात्र आउनेछ ।
सांसदबाट मासिक २५ हजार लेबी
सांसदबाट रास्वपाले मासिक २५ हजार लेबी उठाउँछ । संसदमा रहेका दलहरूमध्ये धेरै लेबी उठाउनेभित्र रास्वपा पर्छ । नयाँ पार्टी भएकाले आर्थिक व्यवस्थापनका लागि लेबी उठाउन बाध्य भएको रास्वपाको भनाइ छ । आयोगमा बुझाएको लेखापरीक्षणमा सांसदको लेबी समावेश छैन । लेखापरीक्षण प्रतिवेदन असार मसान्तमा बुझाएको र निर्वाचन मंसिरमा भएका कारण यो विवरण प्रतिवेदनमा समावेश नभएको हो । सांसदको लेबीको विवरण पनि आगामी लेखापरीक्षणमा मात्र समावेश हुनेछ । तर, रास्वपाका सांसदहरू लेबी चर्को भएको गुनासो गर्छन् ।
‘पहिले नर्मल हुँदा महिनाको ३० हजार भए पुग्थ्यो । सांसद भएपछि जिल्ला जान धेरै खर्च लाग्छ,’ रास्वपाका एक संसदले भने, ‘धेरैसँग भेटघाट हुने भएपछि नर्मल खर्च गर्दा पनि तलबभत्ताले नपुग्ने रहेछ ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार नयाँ पार्टी भएकाले लेबी उठाउन बाध्य भएको बताउँछन् । ‘ठूला र पुराना पार्टीजस्तो होइन । नयाँ पार्टी हो । अन्य आम्दानी छैन । सबैको सहमतिमै २५ हजार लेबी उठाउने निर्णय गरेका हौँ,’ उनले भने । यो केही समयपछि हेरफेर हुन सक्ने उनले बताए । ‘सधैँका लागि गरेको निर्णय होइन, केही समयपछि पुनर्मूल्याङ्कन गर्छौं,’ उनले भने ।
नोट : सूचनाको हक प्रयोग गरी रास्वपाको लेखापरीक्षण प्रतिवेदन निर्वाचन आयोगबाट लिएका हौँ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० २०:१४