उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । माओवादी केन्द्र र नेकपा एससहितको गठबन्धन, गत स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत, व्यक्तिगत छविलगायतलाई आधार मान्दा डा. खड्का एमालेकी चौधरीको तुलनामा निकै सशक्त छन् । ०७९ सालको चुनावमा पनि खड्काले नै बाजी मार्ने सम्भावना प्रबल देखिन्छ । र, यसका केही आधार छन् ।
वाम-लोकतान्त्रिक गठबन्धन
२०६४ यता लगातार चुनाव जितिरहेका डा. खड्काले अघिल्लो चुनावमा एमालेकी चौधरीलाई नै हराएका थिए । त्यो बेला चौधरीलाई माओवादी केन्द्रको पनि साथ थियो । तैपनि खड्काले ५ सय ४८ मतले पराजित गरिदिए । यसपालि माओवादीको साथ खड्कालाई छ । २०६४ को चुनावमा खड्कासितै हारेका माओवादी नेता राजन किराँती (बासु) अहिले सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा उम्मेदवार छन् । अर्कातिर पुरानो एमाले पनि सग्लो छैन । नेकपा एस वाम-लोकतान्त्रिक गठबन्धनतिर छ, जसकाे साथ खड्कालाई नै हुने छ । २०६४ मा देशभर माओवादीको लहर, २०७० मा त्रिपक्षीय टक्कर र २०७४ मा वाम गठबन्धन हुँदा पनि सजिलै चुनाव जितेका खड्कालाई यसपालि चुनौती कम छ ।
२०७४ काे चुनावमा तत्कालीन वाम गठबन्धनकी साझा उम्मेदवार रहेकी चौधरीले ३२ हजार ५ सय ९४ मत पाएकी थिइन् । एक्लै लडेकाे कांग्रेसबाट खड्काले ३३ हजार १ सय ४२ मतका साथ ‘ह्याट्रिक’ जित निकालेका थिए ।
मताधार
उदयपुर १ मा कुल मतदाता १ लाख ३५ हजार छन् । गत स्थानीय चुनावमा १ लाखजति मत खसेको थियो । त्यो बेला वडाध्यक्ष पदका उम्मेदवारले पाएको मत केलाउँदा एमालेसँग २१ हजार ६ सय ५२, कांग्रेससँग २० हजार ७ सय ५७, माओवादी केन्द्रसँग ८ हजार १ सय ७९, जसपासँग २ हजार ४ सय २९, नेकपा एससँग १ हजार ९ सय ९४ र राप्रपासँग १ हजार ६ सय ३३ मत छ ।
यसरी हेर्दा वाम-लोकतान्त्रिक गठबन्धनसँग ३० हजार ९ सय ३० मत देखिन्छ । देशका केही-केही क्षेत्रमा जसपा र राप्रपासँग गठबन्धन गरेको एमाले उदयपुर १ मा एक्लै छ । यो क्षेत्रमा जसपा र राप्रपा दुवैका आ-आफ्नै उम्मेदवार छन् । जसपाले गोपाल राई र राप्रपाले ध्रुव रायमाझीलाई मैदानमा उतारेको छ । यस हिसाबले आफ्नो मतमा सत्ता गठबन्धन घटक दलको केही प्रतिशत मत थपिँदा खड्का सजिलै उम्किन सक्छन् । अघिल्लो चुनावमा माओवादीको साथ पाएर पनि जित्न नसकेकी चौधरीले यसपल्ट गठबन्धनसहित आएका खड्कालाई हराउन मुस्किल देखिन्छ ।
निर्वाचन क्षेत्र धाइरहन्छन्
चुनावमा भोट माग्न जाँदा नेताले अक्सर सुन्नुपर्ने जनगुनासो हुन्छ, ‘जितेपछि फर्केरै आउनुभएन ।’ तर उदयपुर १ मा खड्कालाई यस्तो गुनासो कमै आउँछ । उनी आफ्नो निर्वाचन क्षेत्र धाइरहने नेतामा पर्छन् । आलोचकहरूको भनाइमा तीनपल्ट जित्दा र दुईपल्ट मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा खड्काले देखिने गरी कुनै ठूला आयोजना स्थापित गर्न सकेनन् । तर, आपत्विपद् पर्दा जनतामाझ रहने उनको गुणलाई भने आलोचकहरू पनि अस्वीकार गर्दैनन् । डा. खड्का केन्द्रीय राजनीतिमा दख्खल राख्ने नेता पनि हुन् ।
खड्काकी प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरी पनि बेदाग नेतृ हुन् । विवादित नभए पनि २०७४ काे चुनाव हारेपछि उनी निर्वाचन क्षेत्रमा डुलिनन् । खासगरी कोसी र त्रियुगा बाढीपीडित अप्ठ्यारोमा आफूहरूले चौधरीलाई देख्न नपाएको गुनासो गर्छन् ।
देशभर वाम गठबन्धनले चुनाव जितेका बेला २०७४ मा हारेकी चाैधरीलाई कांग्रेस आफैँ गठबन्धन गरी मैदान उत्रेकाले खड्काकाे तुलनामा कमजोर उम्मेदवारका रूपमा हेरिएको छ । उदयपुरका एक एमाले नेताको भनाइमा डा. खड्कालाई चुनौती दिनसक्ने नेता विमल कार्की थिए । तर, चौधरी दोहोरिनुले खड्कालाई सजिलो भएको ती नेताको दाबी छ । 'यो क्षेत्रमा नारायण खड्काको विकल्प जनताले खोजिरहेका छन् । तर, राम्रो संगठन र इमानदार कार्यकर्ता भएको एमालेले उम्मेदवार छनोटमा ध्यान दिन सकेन', ती नेताले भने ।
उनका अनुसार निवर्तमान प्रदेशसभा सदस्य कार्कीले मन्त्री नहुँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा देखिने खालका केही काम गरेका थिए । खासगरी चाैदण्डीगढीतिर उनकाे निकै राम्राे प्रभाव छ । ती नेताले भने, 'गत स्थानीय चुनावमा पनि कार्कीले चौदण्डीगढीको प्रमुख, उपप्रमुखदेखि बहुमत वडाध्यक्ष जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर फेरि पहिल्यै हारेकी मञ्जुजीलाई टिकट दिइएकाले गाह्रो छ ।' उदयपुर १ मा बेलका, त्रियुगा र चौदण्डीगढी गरी तीनवटा नगरपालिका छन् ।
तर..
उदयपुर-१ को एमालेवृत्तमा चुनावलाई लिएर अनेकानेक अनुमान छन् । तीमध्ये मुख्य अड्कलचाहिँ गठबन्धनमा रहेको माओवादी र कांग्रेसकै संस्थापनइतर समूहमा रहेका कतिपय मतदाताले यसपालि खड्कालाई भोट नहाल्न सक्छन् भन्ने हो ।
प्रदेशसभा (क) मा माओवादी केन्द्रका किराँती वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार छन् । तर, कांग्रेसकै जय सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभामा सुवेदीलाई कांग्रेसले नै बागी उठाएको माओवादी केन्द्रका कतिपय नेताकाे आशंका छ । तर, उम्मेदवारी दिएलगत्तै कांग्रेस उदयपुरले सुवेदीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिसकेको छ । अर्कातिर, एमालेबाट सशक्त उम्मेदवार कुशलबाबु बस्नेत मैदानमा छन् । बागी उम्मेदवार सुवेदीले जति भाेट ल्याउँछन्, किराँतीकै काटिन्छ । यसो हुँदा एमालेका बस्नेत सजिलै जित्न सक्छन् ।
यही आशंकामा अडिएका कतिपय माओवादी नेता-कार्यकर्ताले प्रतिनिधिसभातर्फ कांग्रेसलाई भोट नदिने एमालेकाे अनुमान छ । गत स्थानीय चुनावमा बेलका नगरपालिकाकाे मेयर गठबन्धनबाट कांग्रेसले जिते पनि उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार हारेका थिए । यसकाे इख पनि माओवादी कार्यकर्ताले प्रतिनिधिसभामा पाेख्नसक्ने अड्कल एमाले नेताहरूकाे छ । चाैदण्डीगढीमा त एमाले आफैँ बलियो छ ।
उदयपुर कांग्रेसका पूर्वसभापति विदुर बस्नेतले यसपालि प्रतिनिधिसभा चुनाव लड्न खोजेका थिए । तर, टिकट पाएनन् । यति मात्रै होइन, उदयपुर १ मा बस्नेत पक्षका कसैले पनि टिकट पाएनन् । कांग्रेसको भागमा परेको प्रदेशसभा (ख) मा जिल्ला सभापति हिमाल कार्की उम्मेदवार छन् । माओवादीले पाएको प्रदेशसभा (क) मा किराँती छन् । त्यसैले बस्नेत समूहबाट ३० प्रतिशतजतिले खड्कालाई भोट नहाल्ने अड्कल एमालेले लगाइरहेकाे छ ।
यी दुई अनुमानले काम गरे मात्रै एमालेकी चौधरीले डा. खड्कालाई हराउन सक्छिन् । अन्यथा यसपल्ट पनि एमालेले खड्कालाई राेक्न नसक्ने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ २०:२१