बुहारीले सोधिन्, 'कहिलेसम्म ?'
ससुरा बोल्यो,
'छोरो भर्खर त विदेश गयो,
अब नफर्कुञ्जेलसम्म
आफ्नै बैँसलाई धिक्कार्दै
तिमीले आत्महत्या नगरुञ्जेलसम्म
अथवा,
दनदनी बल्दै गरेको अगुल्टोले
मेरा दुइटै आँखा फुट्ने गरी नघोचिदिएसम्म
दापबाट खुकुरी झिकेर
मलाई छपाछप नछप्काइदिएसम्म ।'
नातिनीले सोधिन्, 'के गरेको ?'
हजुरबा बोल्यो, 'माया गरेको ।'
'कहिलेसम्म ?'
'नानु ठूलो नहुञ्जेलसम्मै, अब बिहे नहुञ्जेलसम्मै
नानुको बाल्यकाल नर्क नबनाएसम्मै
अथवा
मैले खाने चियामा
नानुले सुटुक्कै विष नमिसाइदिएसम्मै
ओछ्यानमा म निदाएको बेला
मट्टीतेल छर्केर नानुले आगो नझोसिदिएसम्मै ।'
शिष्याले सोधिन्, 'कहिलेसम्म ?'
गुरु बोल्यो,
'तिमी यो पाठशाला आउञ्जेलसम्मै
तिमीले पढाइ नछोडुञ्जेलसम्मै
तिमीले खोलामा फाल नहालेसम्मै
अथवा
मलाई कालो मोसो दलेर पाठशाला प्राङ्गणमै
थुक र खकारले नपुरुञ्जेलसम्मै,
मैले प्राणको भिख मागेर हात जोड्दै
अन्तिम सास नफेरुञ्जेलसम्मै ।'
महिलाले सोधिन्, 'कहिलेसम्म ?'
पुरुष बोल्यो, 'युगदेखि युगसम्मै
अनादिदेखि अनन्तसम्मै
चुपचाप चुपचाप सहुञ्जेलसम्म
अथवा
आँखामा आँखा जुधाएर
पुरुष अहङ्कार धुलोपिठो पार्न
सिंहिनी गर्जेजसरी तिमी नगर्जुञ्जेलसम्म
तिमी नबहुलाएसम्म
निरीह, अवला र अशक्त देख्ने
सेवक र भोग्य वस्तु देख्ने
वस्तु वस्तु र बढीमा गाईवस्तु देख्ने
पहिले मैले लगाएको यो चस्मा फुटाइदिएर
त्यसपछि तिमीले मेरो आँखा नफुटाइदिएसम्म ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ १७:१९