शेयरबजार परिसूचक नेप्से उच्च अंकले ओरालो लाग्दा पुँजीकरण (अन्तिम कारोबार मूल्यमा गणना भएको कुल बजारमूल्य) मा उल्लेख्य कमी आएको छ । २०७४ भदौमा ३९ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँको पुँजीकरण रहेकोमा एक वर्षको अवधिमा घटेर २६ खर्ब ७३ अर्ब रुपैयाँमा झरेको छ ।
नेप्से परिसूचकमा पनि करिब १ हजार अंकले कमी आएको छ । २०७८ भदौमा २८ सय १२ को विन्दुमा पुगेको नेप्से अहिले घटेर १८ सय ५८ को विन्दुमा झरेको छ । २०७९ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २२० थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ११.१ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ भदौसम्ममा सूचीकृत ६ अर्ब ८१ करोड शेयरको चुक्ता मूल्य ६७१ अर्ब १४ करोड रहेको छ । आर्थिक वर्ष २०७९-८० को दुई महिनामा ३५ अर्बबराबरको विकास ऋणपत्र, २३ अर्ब ४४ करोडबराबरको डिभेन्चर, ८ अर्ब ३१ करोड बराबरको बोनस शेयर, ५ अर्ब ३९ करोडबराबरको साधारण शेयर, ३ अर्ब २७ करोडबराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोडबराबरको हकप्रद शेयर गरी कुल ७६ अर्ब ६२ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड बराबरको डिभेन्चर, ३ अर्ब १५ करोडबराबरको म्युचुअल फण्ड, ९५ करोडबराबरको हकप्रद शेयर र १८ करोडबराबरको साधारण शेयर गरी कुल ८ अर्ब ५२ करोडबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९ १२:०३