आचारसंहिता उल्लंघन गरेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले ‘नोटिस’मा राखेको छ । २३ असोजमा गोरखा- २ मा उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा प्रचण्ड बाजागाजासहित गएका कारण आयोगले नोटिसमा राखेको हो ।
‘उहाँ बाजागाजासहित गएको भिडियो आयोगलाई प्राप्त भएको छ । भिडियोमाथि अनुसन्धान भइरहेको छ,’ आयोग स्रोतले भन्यो, ‘स्पष्टीकरण सोध्ने कि के गर्ने भन्ने निर्णय भएको छैन ।’
आयोगले जारी गरेको आचारसंहितमा २५ जनाभन्दा बढी लैजान नपाउने र बाजागाजा बजाउन पनि नपाउने प्रावधान छ ।
‘निर्वाचनको उम्मेदवारको मनोनयन पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने,’ आयोगले दलहरूलाई दिएको निर्देशनमा भनिएको छ ।
आयोगले दिएको निर्देशनविपरीत प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएका थिए । बाजागाजासहित गएको भिडियो प्रचण्डको आधिकारिक फेसबुकबाट समेत सार्वजनिक गरिएको छ ।
यसरी आचरसंसहिता उल्लंघन भएको पाइएमा १ लाख जरिवाना र उम्मेदवारीसमेत रद्द हुनसक्छ । निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको छ ।

सामाजिक सञ्जालको निगरानी गर्दै आयोग
आयोगले सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारको समेत निगरानी गरिरहेको जनाएको छ ।
'निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १८:५९