प्रतिनिधिसभा सदस्यका लागि जिल्ला र प्रदेश कमिटीबाट ५६ निर्वाचन क्षेत्रबाट आकांक्षीको एकल सिफारिस गरिएको थियो । तीमध्ये दुई जनाले टिकट पाएनन्, मोहन बानियाँ (मुगु) र भीम रावल (अछाम) ।
बानियाँले टिकट नपाउनुको प्रष्ट कारण छ । उनीविरुद्ध बाँके जिल्ला अदालतमा बलात्कारको मुद्दा छ । धरौटीमा छुटेका बानियाँबारे अदालतले कस्तो फैसला गर्छ टुंगो छैन । त्यसैले बानियाँकै सहमतिमा प्रदेशसभा सदस्यमा सिफारिस गरिएका राजु कार्कीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाइयो ।
एमाले पूर्वउपाध्यक्ष भीम रावललाई भने अध्यक्ष केपी ओलीले आफ्नो सम्पर्कमा नभएको भन्दै टिकट दिएनन् । जबकि रावल अछामबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस भएका थिए । अछाम इन्चार्ज झपट बोहोराकै उपस्थितिमा रावललाई एकल सिफारिस गरिएको थियो । तर, अध्यक्ष ओलीले रावललाई रोकेर उनै बोहोरालाई अछाम १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाए ।
एमाले त्यागेको घनश्याम भुसालको घोषणा
त्यस हिसाबले रावलमाथि अन्याय भएको अछामका एमाले कार्यकर्ताको बुझाई छ । आइतबार उम्मेदवारी दर्ता गर्दा अछाम एमालेमा खास उत्साह देखिँदैनथ्यो । रावलका केही समर्थकले ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’को नारासमेत लगाएका थिए । तर, उनी आफैँ कुनै कडा टिप्पणी गरिरहेका छैनन् । बरु, उनलाई भेट्न जाने स्थानीय नेता र शुभेच्छुकलाई पार्टी नछाड्न र एमालेलाई जिताउन लाग्न भनिरहेका छन् ।
यसकारण पाएनन् घनश्यामले टिकट
घनश्याम भुसालको पुरानो निर्वाचन क्षेत्र रुपन्देही १ हो । तर, २०७४ को निर्वाचनमा उनी रुपन्देही ३ बाट निर्वाचित भए । अहिले यी दुईमध्ये उनी रुपन्देही–१ का आकांक्षी थिए । सोही क्षेत्रबाट एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको पनि सिफारिस थियो । त्यसैले रुपन्देही–३ बाट भुसाल र लितोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेको सिफारिस भएको थियो ।
एमालेले राप्रपासँग चुनावी तालमेल गर्दा रुपन्देही–३ राप्रपाले पायो । जहाँबाट राप्रपा नेता दीपक बोहोराले उम्मेदवारी दिएका छन् । एमाले सचिव विश्वकर्मा र भुसालमध्ये रुपन्देही–१ मा विश्वकर्माकै पल्ला भारी थियो । उनी बहालवाला पदाधिकारी मात्र होइन् रुपन्देही १ का निवर्तमान सांसदसमेत हुन् । दलित समुदायबाट एमालेले देशभरमा उनलाई मात्र उम्मेदवार बनाएको छ ।
ओलीसँग सिङ्गो एमाले असन्तुष्ट छ, ढिलो-चाँडो विद्रोह हुन्छ : घनश्याम भुसाल
त्यस हिसाबले भुसालले टिकट नपाउनु भीम रावलप्रति गरिएको पूर्वाग्रहजस्तो होइन् । तर, भुसालले रावलले जस्तो संयमता अपनाएनन् । एमालेमा भुसालनिकट भनिएका थुप्रै युवा आकांक्षीले टिकट पाएका छन् । उनीहरूलाई एमालेमै छाडेर उनले पार्टी छाडेका छन् । एमाले परित्यागको घोषणा गर्दै रातारात सत्तारुढ गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा उनी पुगे ।
भुसाल पार्टीको दशौँ महाधिवेशनमा जस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि लक्ष्य एकातर्फ, निशाना अर्कै गरेको टिप्पणी भइरहेको छ । पार्टीमा वैचारिक अन्तरसंघर्षमा भुसाल र शंकर पोखरेल दुई कित्तामा रहँदै आएका थिए । नवौँ महाधिवेशनमा उपमहासचिवमा पोखरेललाई पराजित गर्दै भुसालले जितेका थिए । त्यस हिसाबले १०औँ महाधिवेशनमा उनको उम्मेदवारी महासचिवमा हुनुपर्थ्यो । तर, उनी उपाध्यक्ष उठे । अहिले निर्वाचनमा पनि उनी एमालेको साथ लिएर उठेका दीपक बोहोराविरुद्ध उम्मेदवारी दिने धेरैको अपेक्षा थियो । तर, गठबन्धनको साथ लिएर उठ्दा पनि उनी रुपन्देही १ मा छविलाल विश्वकर्माविरुद्ध उत्रिए ।
रुपन्देही–१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी
एमालेमा १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिएका नेताहरूमध्ये रावल र भुसालले मात्र टिकट पाएनन् । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले टिकट लिन चाहेनन् । पदाधिकारीमध्ये सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टले टिकट पाए । स्थायी कमिटी सदस्य रघुजी पन्तले समानुपातिकतर्फ खस–आर्य क्लस्टरको बन्दसूचीमा पहिलो नम्बरमै परे । भुसालले जाँदाजाँदै १० बुँदेको मर्म–भावना छाड्नेले मात्र टिकट पाएको भन्दै आफ्नै समूहका सहकर्मीलाई लान्छित गरेका छन् ।
संसदमा प्रखर रावल, कम सुनिएका भुसाल
संविधान २०७२ बनेपछि कार्यकाल पूरा गरेको प्रतिनिधिसभामा भीम रावलले छुट्टै छवि बनाए । नेकपाकालमा आफ्नै पार्टीको सरकारका कामकारबाहीबारे संसदमा चर्को ढंगले आवाज उठाउने उनै थिए । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिपक्षी भूमिका निकै कमजोर थियो । कांग्रेसका दुई सांसद गगन थापा र मिनेन्द्र रिजालबाहेक अरुले विपक्षी सांसदका रूपमा संसदमा आवाज उठाउन नसकिरहेका बेला रावल यस्ता सत्तापक्षीय सांसद थिए, जसले समसामयिक विषय र सरकारका विवादास्पद कामकारबाहीबारे खुलेर बोलेका थिए । अमेरिकी परियोजना (एमसीसी) होस् वा नागरिकता विधेयकमा उनी प्रखर सांसदका रूपमा प्रस्तुत भए ।
नेता भुसाल उनको एनजीओ नेपाल अध्ययन केन्द्रकाे गोष्ठी सेमिनारमा जति खुलेर विचार मन्थन गर्छन्, त्यति पनि संसदमा सुनिएनन् । राजनीतिक रूपमा उनीभन्दा कनिष्ठ कांग्रेस नेता गगन थापा प्रतिनिधिसभाका बैठकमा दिएका विचारका कारणले चर्चामा रहँदा भुसाल भने खासै सुनिएनन् । कृषि मन्त्रीका रूपमा त उनी ‘फ्लप’ नै भए । अन्तरपार्टी संघर्षमा बाहेक घनश्याम भुसालको व्यक्तित्व, विचार र प्राज्ञिकता संसद र सरकारमा प्रकट भएन ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १३:३६