श्रृजनशील लघुवित्तले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ खुुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर जारी गरेको हो ।
जारी गरिएको आईपीओमध्ये सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको छ भने, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ ।
कम्पनीले सर्वसाधरणबाट १९ भदौसम्म आवेदन माग गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस्तो छ कम्पनीको वित्तीय अवस्था ?
कम्पनीको वित्तीय अवस्थाअनुुसार रेटिङ प्रदान गर्ने कम्पनी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई केयर एनपी इस्यूअर रेटिङ डब्बल बी माइनस प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ मे २५ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२३ मे २५ सम्म कायम रहनेछ ।
लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । जारी पुँजीमध्ये ७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । हाल बिक्री गर्न लागिएको आईपीओपछि चुक्ता पुँजी जारी पुँजीबराबर अर्थात् १० करोड ९३ लाख रुपैयाँ पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६४ प्रतिशत र सर्वसाधारण हिस्सा ३६ प्रतिशत हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ सम्म निरन्तर चुक्ता पुँजी वृद्धि गर्ने योजना कम्पनीले बनाएको छ । आईपीओ बिक्रीपछि कायम हुने पुँजीलाई वृद्धि गरी चालु आर्थिक वर्षको अन्त्यमा १६ करोड रुपैयाँ पुर्याउने विवरणपत्रमा उल्लेख छ ।
यस्तै, आव २०८०–८१ मा २४ करोड र आव २०८१–८२ मा ३० करोड रुपैयाँ पुँजी बनाउने कम्पनीले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म श्रृजनशील लघुवित्तले ८ करोड ७७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
यस्तै, आव २०८०–८१ मा ९ करोड ४७ लाख १७ हजार रुपैयाँ र आव २०८१–८२ मा १० करोड ८ लाख रुपैयाँ नाफा कमाउने अनुमान छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ८१ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै, आव २०८०–८१ मा ३९ रुपैयाँ ४६ पैसा र आव २०८१–८२ मा ३३ रुपैयाँ ६० पैसा हुने प्रक्षेपण रहेको छ ।
२०७५ कात्तिकमा स्थापना भएको कम्पनीको प्रधान कार्यालय सिरहामा छ भने १० वटा जिल्लामा ३३ वटा शाखा कार्यालयहरू स्थापना गरी कारोबार गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १२:१६