माओवादी केन्द्रको महासचिवमा रामबहादुर थापा बादलको उत्तराधिकारीका रुपमा देव गुरुङ आइपुगेका छन् ।शान्ति प्रक्रियापछि माओवादीभित्रको अन्तरसंर्घषमा मोहन बैद्यको लाइनमा रहेका गुरुङ प्रचण्डसँग छुटेर नयाँ पार्टीमा लागेका थिए ।
त्यही क्रममा ०७० को दोस्रो संविधानसभा चुनाव बहिस्कार अभियानमा लागेका गुरुङले काठमाडौं १० मा उम्मेदवार भएका प्रचण्डलाई हराउने कमाण्ड सम्हालेका थिए । चुनावपछि बादलको नेतृत्वमा मोहन बैद्य नेतृत्वको पार्टी विभाजिन भयो र विभाजित टोली पुनः प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भयो । त्यही क्रममा प्रचण्डले बादललाई महासचिव बनाएका थिए । वैद्यलाई छोडेर आएपछि प्रचण्डको विश्वास जितेका गुरुङ पार्टीभित्र गुटबन्दी नगर्ने इमान्दार नेताको रुपमा चिनिएका कारण प्रचण्डले महासचिव बनाएको टिप्पणी गरिन्छ ।
त्यसो त, गुरुङलाई अहिले महसचिव चिट्ठा परेको पनि टिप्पणी हुन्छ । महासचिवका दाबेदार वर्षमान पुन र जनार्दन शर्माबीच कडा प्रतिस्पर्धा भइरहेको थियो । उनीहरू पार्टीभित्र प्रचण्डको उत्तराधिकारीको रुपमा उदाउने प्रयासमा थिए । त्यसका लागि महासचिव हुने र संगठनमा पकड जमाउने रणनीतिमा देखिन्थे । महासचिव नहुँदै शर्मा र पुनले देशव्यापी रुपमा पार्टीभित्र गुट चलाएका छन् ।
दुवैले समानान्तर गुट चलाएका कारणले एकले अर्कोलाई अस्वीकार गर्ने परिस्थिति बनेको थियो । युद्धकालदेखि नै रुकुम र रोल्पाबीच द्वन्द्व पनि हुने गरेको थियो । एकले अर्कोको युद्धमा भएको लगानीमाथि प्रश्न उठाएर प्रतिस्पर्धा गरिरहेका हुन्थे । अवसरको साझेदारीमा पनि उनीहरूले एकले अर्कोलाई उछिन्ने प्रयास गरेका थिए । त्यही क्रममा रोल्पाका पुनले रुकुमका शर्मालाई महासचिवमा स्वीकार नगर्ने स्थिति बनेको थियो ।
त्यही बीचमा पम्फा भुसालले पनि पुन र शर्मालाई महासचिव स्वीकार नगर्ने र आफू पनि दाबेदार रहेको प्रचण्डलाई बताएकी थिइन् । पुन र शर्माभन्दा सिनियर भुसालले अस्वीकार गर्ने भएपछि पार्टीभित्र सिनियर नेताहरू पुन र शर्माप्रति रुष्ट थिए । त्यहीकारण सिनियरमध्ये महासचिवका लागि सहज हुने अनुहारको खोजीमा रहेका प्रचण्डले देव गुरुङ पाएका हुन् । पुन र शर्मामध्ये एकजना महासचिव भएको भए प्रचण्डले भनेको मान्ने स्थिति नआउने प्रचण्डको विश्लेषण थियो । त्यहीकारण आफूले भनेअनुसार संगठन चलाउने र सिनियर नेता जसलाई प्रस्ताव गर्दा अरुले विरोध पनि गर्न नसकुन भन्ने खोजिरहेका प्रचण्डले गुरुङलाई पाएका हुन् ।
गुरुङ २०१५ सालमा मनाङको हालको नाशोङ गाउँपािलका ४ मा जन्मिएका हुन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गुरुङले ०३६ सालमा नेकपा चौथो महाधिवेशनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । चौमकाे परिवर्तित नाम नेकपा मशालमा ०३८ सालमा केन्द्रीय सदस्य भएका थिए । ०५१ सालमा माओवादीमा आवद्ध र पोलिटब्युरो सदस्य भएका उनी ०६१ सलामा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य भएका हुन् । ०७५ मा नेकपाको स्थायी समिति सदस्य भएका थिए ।
०६३ को अन्तरिम संसदबाट उनकाे संसदीय राजनीतिक यात्रा सुरु भएको हो । पहिलो संविधानसभा निर्वाचन ०६४ सालमा मनाङबाट निर्वाचित गुरुङ ०७० मा भने चुनाव बहिस्कार अभियानमा थिए । माओवादी विभाजनपछि मोहन बैद्य नेतृत्वको माओवादीमा आबद्ध भएका कारण उनी बहिस्कार अभियानमा लागेका हुन्। उनी ०७४ मा भने लमजुङबाट निर्वाचित भएका हुन् ।
०६३ चैतदेखि ०६५ साउनसम्म स्थानीय विकास मन्त्री भएका थिए । ०६५ साउनदेखि ०६६ असोजसम्म कानुनमन्त्री भएका थिए । नेकपा र माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकको भूमिमा पनि रहेका छन् । संविधान र कानुनसम्बन्धी विषयमा विशेष रुची भएका गुरुङ ०५१ देखि ०५५ सम्म चार वर्ष जेल जीवन विताएका छन् ।
युद्धका क्रममा माओवादी पार्टीले गुरुङलाई वार्ताको मोर्चामा पनि खटाएको थियो । माओवादीले उनलाई छुटाउनका लागि सरकारसँग सौदावाजीको रणनीति पनि लिएको थियो ।
युद्धकालमा माओवादीकाे गण्डक क्षेत्रको जिम्मेवारीमा रहेकै बेला उनी पक्राउ परे । गण्डक क्षेत्रअन्तर्गत गोरखामा खटिँदा ०५३ सालमा उनी पक्राउ परेका हुन ।
गोरखा, वीरगञ्ज, काठमाडौं र ललितपुरका जेलमा ४ वर्ष बिताएका उनलाई माओवादीले सौदाबाजी गरेर जेलबाट छुटाएको थियो । माओवादीसँग पहिलो वार्ताको संकेत रुपमा उनी रिहा भए । कृष्णप्रसाद भट्टराई सरकारका पालामा छाडिने माओवादी नेतामा उनी पहिलो नेता हुन् । त्यसलगत्तै उनी वार्ता टोलीको सदस्य भए । करिब ४ वर्षे बन्दीजीवन व्यतित गरेका गुरुङ पहिलो वार्ता असफल भएपछि पार्टी संगठनमै केन्द्रित भई युद्धमा सहभागी भए ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ १६:३२