नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (के.भि.)का तीनवटा सवस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सवस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ ।
२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सवस्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जानकारफ गराएको छ ।
प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नम्बर १ का पहाडी जिल्लाहरूमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।
२२० केभी प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सवस्टेसनको लोड इनरुवा सवस्टेसनमा सार्न सकिने भएकोले उद्योगहरूलाई थप विद्युत दिन सकिन्छ । साथैँ भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ’, घिसिङले भने ‘संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत आयोजनाहरूका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुने छ, कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सवस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने छ ।’
नेपाल सरकारको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सवस्टेसनको निर्माण गरिएको हो ।
नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, बसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।
इनरुवा सवस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–बसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो ।
प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले बताए । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सवस्टेसन निर्माणाधीन छन् ।
इनरुवा सवस्टेसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सवस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सवस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सवस्टेसन अर्को ठूलो हब बन्ने छ ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सवस्टेसनमा जोडिने छ । कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र बसन्तपुरमा २२० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।
कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फमात्र तार तानिएको छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।
कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ ।
अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।
एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ ११:२६