कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा दुई हप्ताअघि कोभिडका बिरामी शून्यमा झरेको थियो । हाल अस्पतालमा १८ जना बिरामी भर्ना भएका छन् । जसमध्ये ८ जना आईसीयूमा उपचाररत छन् ।
‘दुई हप्ताको अवधिमा भर्ना हुनेको संख्या बढेको छ,’ अस्पतालका उपनिर्देशक एवं छाति रोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठले भने, ‘संक्रमणदर १० प्रतिशत माथि पुगेको छ । कोरोनाको चौथो लहर सुरू भएको हो ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार संक्रमणदर १२.१ प्रतिशत थियो । एक महिनाको अवधिमा संक्रमणदर उकालो लागेको हो । गत १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । हाल सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ ।
वीर अस्पतालमा पीसीआर विधिबाट परीक्षण गराउनेको संख्या पनि बढेको छ । हिजोआज दैनिक ८० जनाको हाराहारीमा परीक्षण भइरहेको छ । अघिल्लो महिना परीक्षण गराउनेको संख्या ४–५ जना थियो । ‘अघिल्लो सातासम्म परीक्षण गराउने विदेश जानेहरू थिए । अहिले अरु पनि आइरहेका छन्,’ उपनिर्देशक डा. श्रेष्ठले भने ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा ८ जना कोभिडका बिरामी भर्ना भएका छन् । जममध्ये ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । चैतबाट कोभिडका बिरामी अस्पतालमा शून्य थियो । तीन महिनाको ग्यापमा असार पहिलो साता एक जना बिरामी टेकुमा भर्ना भएका थिए । २५ असारबाट भर्ना हुनेको संख्या बढेको हो ।
‘दुई हप्ता भयो भर्ना हुनेको संख्या बढेको छ । चौथो लहरको सुरुवाती चरण देखिन्छ,’ अस्पतालकी निर्देशक डा. मनिषा रावलले भनिन् । पीसीआर विधिबाट परीक्षण गराउँदा पोजिटिभिटीदर पनि बढेको बताउँछिन् उनी । टेकु अस्पतालमा बिहीबार २९ जनाको पीसीआर गर्दा ९ जनामा पोजिटिभ देखिएको थियो । ‘मानिस परीक्षणको दायरामा आएका छैनन्,’ डा. रावल भन्छिन् ।
कोरोना संक्रमण बढ्नुको कारण अनावश्यक भिडभाड भएको उनको निचोड छ । ‘सरकारी कार्यालयहरूमा भिड छ । स्वास्थ्यको मापदण्ड पालना भएको छैन । मास्क लगाएको देखिदैँन,’ उनले भनिन्, ‘साउनबाट चाडपर्व पनि सुरू भएको छ । यसले पनि जोखिम बढाएको छ ।’
जोखिम न्युनीकरण गर्न कोरोनाविरुद्धको खोप र मास्क लगाउन उनको सुझाव छ । ‘खोपको कभरेज बढेको छ । तर, खोप पाएर पनि लगाएको देखिँदैन,’ उनले भनिन् ।
पाटन अस्पतालमा पनि बिरामी भर्ना संख्या बढेको छ । हाल अस्पतालमा ६ जना बिरामी भर्ना भएका छन् । ‘अघिल्लो हप्तासम्म फाटफुट बिरामी थिए । अहिले भर्ना हुनेको संख्या बढेको छ,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले भने ।
नयाँ भेरियन्टको असर देखिएको उनको निष्कर्ष छ । ‘ओमिक्रोनको बीए फाइफ भेरियन्टको असर हुनसक्छ । चौथो लहरको संकेत देखिन्छ । केही हप्ता अझै हेर्नुपर्छ,’ उनले भने ।
चौथो लहरमा संक्रमितको संख्या बढे पनि जटिल स्थिति भने नआउने आकलन चिकित्सकहरूको छ । ‘दोस्रो लहरको डेल्टा भेरियन्ट जस्तो स्थिति नआउला । ७० प्रतिशले खोप पनि लगाएको छ । जटिल केस कम हुन्छ,’ वीर अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले भने, ‘दीर्घरोगी र बालबालिकालाई असर गर्न सक्छ ।’ अस्पताल भर्ना भएका बिरामीहरूमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने जस्ता लक्षण देखिएको उनले बताए ।
नयाँ भेरियन्ट
कोरोनाको नयाँ भेरियन्टका कारण पनि संक्रमण उकालो लागेको विज्ञहरूले औँल्याएका छन् । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको छ । ‘संक्रमण बढ्नुमा नयाँ प्रजाति जिम्मेवार देखिन्छ । बीए फोर, बीए फाइभका कारण संक्रमण तलमाथि भइरहेको छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘बीए फाइभ अहिलेसम्मकै छिटो फैलिने क्षमताको भएको तर घातक कम देखिन्छ ।’
त्यस्तै ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो । बीएफ प्वाइन्ट वान बीए फाइब भेरियन्टको उपप्रजाति हो । यो भेरियन्ट अफ्रिका र अमेरिकामा समेत देखिएको थियो । चिकित्सकका अनुसार यो भेरियन्टले दीर्घ रोगीलाई बढी असर गर्छ ।

स्वास्थ्यकर्मी नै संक्रमित
कोरोनाको चौथो लहरको सुरुवातमै स्वास्थ्यकर्मीहरू संक्रमित हुन थालेका छन् । एक साताको अवधिमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका २१ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । चिकित्सक, नर्स र कर्मचारी गरी २१ जनालाई कोरोना संक्रमण भएको अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताए ।
अस्पतालाहरूलाई सरकारको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोभिड बढेकाले तयारी अवस्थामा बस्न अस्पतालहरूलाई निर्देशन दिएको छ । ‘कोरोना बढेसँगै तयारी अवस्थामा बस्न अस्पतालहरूलाई निर्देशन दिएका छौँ,’ शिलापत्रसँग मन्त्री भवानीप्रसाद खापुङले भने, ‘सीमा नाकामा निगारनी र परीक्षण बढाउन सर्कुलर गरेका छौँ ।’ मन्त्रालयले संक्रमणदर १२ प्रतिशत पुगेसँगै १० बुँदे अनुरोध गरेको छ । भिडभाड नगर्न, मास्क अनिवार्य लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ १७:३८