कोरोना संक्रमणका कारण दुई वर्ष रोकिएको दक्षिण कोरियाको रोजगारी लयमा फर्किएकाे छ । गत कात्तिकयता ५ हजार ५ सय ५६ जना नेपाली श्रमिक राेजगारीका लागि कोरिया पुगेका छन् ।
अझै ३ हजार जना जाने क्रममा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । गतवर्ष कोरोनाका कारण ३ सय ८७ जना मात्र कोरिया गएका थिए भने सन् २०२० मा १ हजार २७ जना गएका थिए ।
विभागले गत वर्षदेखि नेपाली श्रमिक काेरिया जाने क्रम बढेकाे जनाएकाे छ । हाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा नेपाली श्रमिक काेरिया जाने गरेका छन् । कोरियाका रोजगारदाताले वर्षमा १० हजार जनालाई नेपालबाट लैजाने गरेका छन् ।
कोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भएकाले नेपाली कामदार अन्य देशको तुलनामा धेरै लैजाने गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । विभागका अनुसार नेपालबाट सन् २०१७ देखि २०१९ सम्म क्रमशः ७ हजार ८ सय, ८ हजार ५ सय ११ र ७ हजार १ सय ३६ श्रमिक कोरिया गएका थिए ।
सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लोपटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ । हाल कोरियामा उत्पादनमूलक क्षेत्रमा १९ हजार ६ सय ५४, कृषि तथा पशुपालन क्षेत्रमा ८ हजार ४ सय २४ र अन्य क्षेत्रमा ५१ नेपाली कार्यरत छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ ११:०३