गाई आज कसले लग्यो नि
बाच्छा छुटाईकन
पोथी पासो परी मरिछ नि
बच्चा नहुर्काईकन ।
मैले सानैमा सुनेको थिएँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको शोककाव्य गौरीको यो पङ्क्ति । यसले मेरो मन छुन्थ्यो । टुहुरा, अनाथको नाथ बन्न मन लाग्थ्यो ।
कलेज जीवनमा एसओएस संस्थाका थुप्रै युवा मेरा साथी थिए । उनीहरूको पारिवारिक वियोगका थुप्रै कथा मैले सुनेको छु । पूरै जीवन संस्थाको सहयोगमा बिताएका तिनलाई समाजमा पुनर्घुलन हुन गाह्रो भएको मैले देखेको थिएँ, महसुस गरेको थिएँ । जीविकोपार्जनमा सहयोग होस् भनेर उनीहरूलाई जागिर खोज्न सघाएको पनि थिएँ । कतिलाई आर्थिक/भौतिक सहयोग पनि गरेँ । अहिले पनि त्यहाँका साथीभाइ र बैनीले मलाई उत्तिकै माया गर्छन् ।
यो संसार थोरै करुणावान् मान्छेको करुणाबाट चलेको छ । धार्मिक मान्यतालाई विश्वास गर्ने हो भने पूर्वजन्मको संस्कार र कर्मले मात्र होला, कमैले यस्ता करुणावान् मानिसको साथ पाउँछन् । अहिलेको संसारमा पाइला–पाइलामा दुष्ट मानिस फेला पर्छन् । आफूले फाइदा लिनेबाहेक अर्को सोच्ने मानिस फेला पर्दैन । यस्तो बेला मनकारी फेला पर्न पनि भाग्य नै चाहिने रहेछ ।
यो ब्लगमा म टुहुरा पशुको कथा लेख्दैछु । जो सडक दुर्घटनामा परे, जो अलपत्र र बेवारिसे भए । जिउँदो मानिसका लागि त उद्धार र औषधि दुर्लभ रहेको समाजमा ती पशुको के हाल होला ? कसले सुन्ने यी आवाजविहीनको आवाज ?
एउटा बाच्छी छ । हामीले त्यसको नाम छोड्की राखिदियौँ । उसले अहिले सेल्टर पाएकी छे । करिब दुई महिनाअघि सडक दुर्घटनामा छोड्कीले आमा गुमाई । कुनै गाडीको ठक्करले बीच सडकमै उसले प्राण त्यागी । त्यतिबेला बाच्छी त्यस्तै एक महिनाकी हुँदी हो । दूधे उमेरमै आमा गुमाएर टुहुरो र असहाय भएकी थिई छोड्की । मातृ वियोगमा ऊ कराउँदै हिँडेकी थिई । सडकमा ढलेकी आमाको शव उपमहागरपालिकाले उठाइसकेको थियो । खाना न पानी, ऊ आमा खोज्दै भौँतारिइरहेकी थिई ।
दिनहुँ सडकमा हजारौँ मानिस ओहोरदोहोर गर्छन् । ऊ धेरैको आँखामा परी, तर मनमा परिन । कैयौँ दिन सडकमा एक्लै हिँडी । भोकले लखतरान परेकी छोड्कीलाई बागेश्वरी मन्दिरको पछाडिपट्टि रहेको गौशालामा ल्याइयो । यो गौशाला वर्षौंअघि बाबा हरिशंकर गिरीले स्थापना गरेका थिए । उसले त्यहीँ आश्रय पाई । महन्त उमेश गिरीले हो छुनमुने बाच्छीको नाम छोड्की राखिदिएको । नेपालगञ्जीया भाषामा छोड्कीको अर्थ सानी हो । यसरी टुहुरी बाच्छी गौशालाकी सानी भई ।
एउटा गाई सडकभन्दा २० मिटर तल भिरमा रुखमा अल्झिएको अवस्थामा भेटियो । म र डा. दिपेन्द्र अक्करे भिरमा घिस्रँदै त्यस ठाउँमा पुग्यौँ । उसलाई सास फेर्न गाह्रो भइरहेको थियो । डा दिपेन्द्रले मुखमा मुख जोडेर अक्सिजन दिन लागे । म स्लाइनको बोतल समातेर पहरामा अडिएर बसेँ ।
छोड्की अचेल गौशालामा बस्छे, वरपर चर्छे । सायद, ऊ खुसी छे । किनभने, सडकमा गाडी र मान्छेको धक्कापक्का पाएर भौँतारिइरहेकी उसले गौशालामा सन्त र भक्तजनको अभिभावकत्व पाएकी छे । छोड्की गेटबाहिर जाली कि भनेर उमेश बाबा चिन्ता गरिरहन्छन् । उसले खाए नखाएको हेर्छन् । गौशालामा गाई स्याहारकर्ताका लागि छोड्की प्यारी बनेकी छे । उसको विगत थाहा पाएका हनुमानगढीका भक्तजनहरू चासो लिएर सोधखोज गरिरहन्छन् ।
एउटा पशु अधिकारकर्मीका रूपमा मैले बितेका केही वर्षयता दर्जनभन्दा धेरै पशुको उद्धारमा सघाएको छु । तिनको उपचार गराएको छु । अन्त्येष्टिसमेत गरेको छु । ती केही घटना उल्लेखनीय छन् ।
घटना १ : घाइते बाच्छीको उद्धार
अघिल्लो वर्षको जाडो महिनामा सुर्खेतरोडको सडक डिभिजन कार्यालयअगाडि मोटरसाइकलको ठक्करबाट एउटा बाच्छी घाइते भई । उसको मेरुदण्ड भाँचियो । कसैले सामाजिक सञ्जालमार्फत मलाई खबर गरेको थियो । मैले प्रहरीको सहयोग लिएर बाच्छीलाई उठाएर नजिकको खाली घरको छतमुनि सेल्टर व्यवस्था गरेँ । छिमेकी गोन्जालो होटलको साउनीलाई बिहान–बेलुका खुवाउन र पानी दिन अनुरोध गरेँ । सामान्य उपचार गराए पनि त्यसलाई बचाउन सकिएन । मान्छेको एउटा गल्तीले भर्खरै हुर्किंदै गरेकी बाच्छीले अकारण मृत्युवरण गर्नुपर्यो । मैले उपमहानगरपालिकाको गाडी बोलाएर शव व्यवस्थापन गर्न सघाएँ ।
घटना २ः साँढेको दाहसंस्कार
नेपालगञ्जका स्थापित व्यवसायी हुन्, आदेश अग्रवाल । उनको पसलअगाडि एउटा बडेमानको घाइते साँढे सधैँ उभिइरहन्थ्यो । ट्रकले हानेर उसको सिङ भाँचिएको थियो । भाँचिएको सिङबाट रगत बगिरहेको हुन्थ्यो । एक दिन आदेशजीले साँढेको उपचारमा पहल गर्न भन्दै म र अधिवक्ता विश्वजित तिवारीले मेन्सन गरेर सामाजिक सञ्जालमा केही लेखे । हामी त्यहाँ गयौँ र त्यो घाइते साँढेको उपचार गराउन थाल्यौँ । एनिमल नेपालले त्यो साँढेको उपचारमा सघायो ।

साँढे यताउति डुलिरहन्थ्यो । औषधि उपचारका लागि जाँदा खोज्दाकै हैरान हुन्थ्यो । कहिले त उसलाई भेटाउनै एक घण्टा लाग्थ्यो । भेटाउन मुस्किल हुन थालेपछि स्वास्थ्य प्राविधिकहरूले एकैठाउँ राखेर उपचार गराउन सल्लाह दिए । डरलाग्दो साँढेलाई अब कहाँ राखेर उपचार गर्ने ? हामीले हुनमानगढीका नागा बाबासँग सल्लाह गर्यौँ र गौशालामै लगेर उपचार गर्ने निधो गर्यौँ । तर, उसको सिङको जरासम्मै कीरा परिसकेको थियो । त्यसैले बाबाको सल्लाहमा जिल्ला पशु कार्यालय बाँके लगियो । चौरमा रहेको गोठमा साँढे बाँध्ने काम हरिश्चन्द्र आचार्य र मैले गर्यौँ । पशु कार्यालयका हाकिम थिए, वेद केसी । उपचार गर्नुको साटो उनले फुकाएर सडकमै छाडिदिएछन् । अधिवक्ता तिवारीले जिल्ला प्रशासन कार्यालयमा सूचनाको हक माग गर्दै निवेदन दर्ता गराएर साँढे खोज्न लगाए ।
पछि साँढेको उपचार पशु कार्यालयले गर्ने र खानाको प्रबन्ध आदेश अग्रवालले गर्ने सहमति भयो । त्यसको व्यवस्थापनको जिम्मा गौशालाले लिएको थियो । घाउ गहिरो भइसकेको थियो । माघे संक्रान्तिको दिन गौशालामा खिचडी खुवाउने परम्परा छ । हामीले साँढेलाई पनि खुवायौँ । त्यसको केही समयपछि ईश्वर भाइ दगुर्दै आएर भने, ‘साँढे त मर्यो ।’
त्यो विशालकायको साँढेका लागि हामीले बाबाको आदेशअनुसार समाधि बनाएर अन्त्येष्टि गर्यौँ । अन्त्येष्टिमा सहभागी मलामीलाई मिठाई खुवाइएको थियो । १३औँ तिथिमा पनि मिठाई खुवाएर उसको आत्माको शान्तिको कामना गरियो ।
घटना ३ : साँढेको घाउमा प्लास्टिक सर्जनको टाँका
नेपालगन्जका ख्यातिप्राप्त प्लास्टिक सर्जन हुन्, डा विनोद कर्ण । हामीले उनैबाट एउटा साँढेको घाउको सर्जरी गराएका छौँ ।
छोड्की अचेल गौशालामा बस्छे, वरपर चर्छे । सायद, ऊ खुसी छे । किनभने, सडकमा गाडी र मान्छेको धक्कापक्का पाएर भौँतारिइरहेकी उसले गौशालामा सन्त र भक्तजनको अभिभावकत्व पाएकी छे । छोड्की गेटबाहिर जाली कि भनेर उमेश बाबा चिन्ता गरिरहन्छन् । उसले खाए नखाएको हेर्छन् ।
कसैले मलाई एउटा साँढे ट्रकले हानेर तरकारी मण्डीनिर घाइते अवस्थामा छ भन्ने जानकारी गरायो । म सपरिवार बजार घुम्दै थिएँ । मैले तत्कालै एनिमल नेपालका डा. दीपेन्द्र शाहलाई फोन गरेँ । उनी आए । बजारबाट म पनि त्यतै लागेँ । साँढेको खुट्टामा धेरै नै चोट लागेको रहेछ । मैले डा. कर्णलाई खबर गरेँ । उनी पनि केही बेरमा आइपुगे । केही औषधि डा. दिपेन्द्रले ल्याएका थिए । केही डा. कर्णको गाडीको डिक्कीमा थियो । डा. कर्णले साँढेको घाउमा टाँका लगाइदिए । एउटा चर्चित प्लास्टिक सर्जनले पशुको घाउमा टाँका र मलम लगाएको देख्दा आनन्द अनुभूति भयो । हामीले त्यो साँढेलाई केही दिन रेखदेख गर्यौँ । पछि ऊ सञ्चो भयो ।
घटना ४ : बहुचर्चित गाईकाण्डको साक्षी
शहरबजारमा गाई दुहुनो हुँदासम्म दूध खाने र थाकेपछि सडकमा छाड्ने पुरानो प्रवृत्ति छ । गधा, कुकुर वा घोडाको हकमा पनि त्यस्तै भइरहेको छ । त्यसरी छाडा छाडिएको गाईवस्तुका कारण नेपालगञ्जको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुने स्थिति पनि आयो । शहरका जुनसुकै चोकमा गाईवस्तुको भिडभाड देखेपछि नेपालगञ्ज उपमहानगरले जुक्ति निकाल्यो, ती गाईगोरुलाई जंगलमा लगेर छाड्ने ।
छाडा पशुचौपायालाई जंगल लगेर छाड्ने भन्दै नेपालगन्जबाट दुई ट्रक गाईगोरु दैलेखका लागि रमाना गरिएछ । दैलेख पुर्याउने बेला सुर्खेतको सुब्बाकुना नपुग्दै केही गाईगोरु ट्रकभित्रै मरेछन् । तिनलाई सुब्बाकुनामा खाल्डो खनेर गाडिएछ । त्यसपछि वीरेन्द्रनगरहुँदै दैलेख लैजान लागिएका पशुलाई कपासे पुगेपछि भिरमा खसाल्ने काम भएछ । त्यो प्रकरणका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि म एनिमल नेपालको प्राविधिक टिमसहित सुर्खेत पुगेँ । त्यहाँको स्थिति भयावह थियो । दर्जनौँ गाई पहाडमा घाइते अवस्थामा चिच्याइरहेका थिए । हामीले ती घाइते गाईगोरुलाई स्लाइन लगाएर प्राथमिक उपचार गर्यौँ । उपचारपछि कति उठेर हिँडे पनि ।
एउटा गाई सडकभन्दा २० मिटर तल भिरमा रुखमा अल्झिएको अवस्थामा भेटियो । म र डा. दिपेन्द्र अक्करे भिरमा घिस्रँदै त्यस ठाउँमा पुग्यौँ । उसको सास चलिरहेको थियो । तुरुन्तै घाँटीबाट स्लाइन दिइयो । उसलाई सास फेर्न गाह्रो भइरहेको थियो । डा. दिपेन्द्रले ऊप्रति दयाभाव देखाएर मुखमा मुख जोडेर अक्सिजन दिन लागे । म स्लाइनको बोतल समातेर पहरामा अडिएर बसेँ । उपचारको हरेक कोसिस गरियो । तर, त्यो गाईलाई बचाउन सकिएन । त्यति धेरै कोसिस गर्दा पनि बचाउन नसकेकोमा थकथकी भइरहेको थियो । गाई बचाउन नसकेकोमा त्यो दिन डा. दिपेन्द्र रोएका थिए ।
एउटा पशुअधिकारकर्मीका रूपमा मैले नेपालगञ्जका गल्लीमा भेटिएका थुप्रै घाइते र बिरामी घोडा–गधाको उपचारमा सघाएको छु । नालीमा फसेका पशुको उद्धार गरेका छौँ । वास्तवमा म चाहन्छु, एउटा सभ्य समाजमा सबैखाले पशुचौपायाले मानवको हेला र हिंसा भोग्न नपरोस् । त्यसैले आवाजविहीन पशुका लागि आवाज दिने कोसिस गरेँ । त्यो अहिले पनि निरन्तर छ ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ ०६:२४