स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिइरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।
झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुनपानीले मिचीमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।
पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखालाको रहेको भन्दै त्यस्तो लक्षण देखिनासाथ मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै, खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ ।
झाडापखालाको उपचार घरमै गर्न सकिन्छ
यस्तै, झाडापखालाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ । यदि झाडापखाला भएमा हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटकपटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुरा पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक–पटक खुवाइरहने गर्नुपर्छ ।
यस्तो बेलामा स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्छ ।
काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए । ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जीवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्मसमेत रहेको उनले बताए । हैजोको प्रकोप बढ्न थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए ।
खानेपानीको अनुगमन
यस्तै, काठमाडौं जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । कार्यालयका प्रमुख अधिकारीका अनुसार जार, बोतल तथा ट्याङ्कर व्यवसायीले वितरण गरेको पानीको गुणस्तरको अनुगमन खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले गर्ने भएको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाबाट हैजा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्न विद्यालय र वडा कार्यालयलाई पत्राचार गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरित पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमुना सङ्कलन तथा परीक्षण गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १५:१२