साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपाली कामदारहरूले एक्जिट भिसा (बहिर्गमन भिसा) पाएका छन् ।
रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अवैध बसोबास गर्दै आएका नेपालीहरूलाई एक्जिट भिसा उपलब्ध गराएको हो । जून १७ देखि २३ सम्मको अवधिमा उनीहरूको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको दूतावासले जनाएको छ ।
साउदी अरबका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरेपछि रियाद र दमामबाट प्रोसेस गरिएकामध्ये जम्मा ९९ जनाको बहिर्गमन भिसा प्राप्त भएकाे हाे ।
अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा साथमा हुनुपर्छ । एक्जिट भिसा नभएका विदेशी कामदारलाई त्यहाँकाे कानुनअनुसार चर्को रकम जरिवाना लाग्छ ।
एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । एक्जिट भिसा पाएका कामदारको नाम दूतावासले आफ्नो फेसबुक पेजमा राख्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १५:३८