हामीलाई चाहिएको थियो अब्बल सामुदायिक सांस्कृतिक चेत, तर त्यसलाई जातिकेन्द्रित उपराष्ट्रवादले खर्लप्पै निलिदियो । बालेन काठमाडौं मेयरमा चुनिनुअघिसम्म ‘कोर नेवार बस्ती’को भोटको दीर्घप्रतीक्षा थियो । पार्टीले उठाएका, आफैँ उठेका स्थापित, सिंह, डंगोल, महर्जन, सायमी इत्यादि छँदै थिए । पार्टी नेतृत्वले त्यही ‘कोर नेवार भोट’ हेरेर उम्मेदवार उठाउने गर्थ्यो, यसपालि पनि त्यसै गर्यो । यस अर्थमा हाम्रो देशमा जातिवादी धारणालाई भुईंतहसम्मै मलजल गर्नमा ती शक्तिहरूको सबैभन्दा ठूलो भूमिका छ, जसले हामीलाई लोकतन्त्रमा जाति, धर्म, वर्ण, सम्पत्ति, क्षेत्र आदिका आधारमा उँचनीच नहुने प्रशिक्षण दिँदै आएका थिए । हिजोआज खुला दोहोरो संवाद र आमप्रशिक्षण छैन, परन्तु ‘अलपत्र बन्दसत्र’ छन् ।
खैर, बालेन नाम गरेका बालेन्द्र शाह चुनिने पक्का भएपछि चिना–टिपन खोज्ने क्रम सुरु भइसकेको छ । उनको शाह सुस्तरी ‘साह’ बन्ने प्रक्रियामा छ । ठीक यही बेला यो पङ्क्तिकारको स्थायी बसोबास रहेको प्रदेश १ को नाम कोसी, किरात, सगरमाथा या यस्तै केही राख्ने हल्ला सुरु भएको छ । यस्तो भन्नेमा केही यस्ता व्यक्ति छन्, जसलाई प्रदेश २ को नाम मधेस राखिएकोमा फिटिक्कै चित्त बुझेको छैन । एक जनाले त मुखै फोरेर भने, ‘मधेस उच्चारण गर्दा देश सुनिन्छ, अलग्गै देश ।’
हाम्रा सोचाइहरूमा रहेको औपनिवेशिक प्रवृत्ति हो यो । अब हामीले स्वतन्त्रताको एउटा लडाइँ लड्नुपर्ने भएको छ, जुन लडाइँले हामीलाई आफ्नै बौद्धिक दासत्वबाट मुक्त पार्नेछ । आफूसँग लड्नु सबैभन्दा कठिन काम हो ।
यो टिप्पणीको पहिलो र दोस्रो अनुच्छेदमा उठाइएका ‘थेसिस स्टेटमेन्ट’ हरूलाई अलिकति टुक्र्याएर हेरौँ । यो लेख्न बस्दैगर्दा आफूलाई सूर्यवंशी ‘पिओर राजाको सन्तान’ दाबी गर्ने बालेनले नेवाः भाषामा शपथ लिएका छन् । साउथ इन्डियन फिल्मको झल्को दिने उनका पोस्टर फेसबुकमा छ्यापछ्याप्ती छन् । उनी पनि जोसैजोसमा उस्तै काँटका डाइलग फालिरहेका छन् । बाउहरूको वंश केलाउने, आमाहरूको वंशलाई बिर्सने जातिप्रथा यसै पनि गलत थियो, र छ । आमाको थर लेखिटोपल्नेले पनि खासमा आमाका बाको थर लेख्छन्, आमाकी आमाको होइन । त्यसैले आउँदै गरेको नयाँ पुस्तासँग स्वाभाविक आग्रह छ– पुर्खाको आदर गर्नुपर्यो, अहंकार होइन । यति कुरो भन्ने हिम्मत जुटाउन ‘बस्नेत काजीको छोरो’ भइराख्नुपर्दैन, किनकि यो मान्यता नै गलत जगमा उभिएको छ । यति कुरो नबुझीकन हाम्रा प्रश्नहरू पनि यसै वंशपरम्परामा आधारित, उत्तरहरू पनि यसै परम्परामा आधारित हुने हो भने त्यो बित्यासको बाटो मात्रै हो । यो सभ्य शब्दावलीहरूमा घोलिएको सम्प्रदायवादको विषाक्त जल हो । त्यस अर्थमा अब चलिआएका प्रश्नहरूको शैलीबारे पनि एकपल्ट प्रश्न गर्नुपर्ने भएको छ । बालेनलाई सोध्नुअघि हामी आफैँलाई सोध्नुपर्नेछ ।
बालेनको चिना–टिपन भनेको उनको घोषणापत्र र वाचाहरू हुन्, जसलाई मतदाताले ठप्पा लगाइदिएका छन् । उनको परिवार महोत्तरीबाट काठमाडौं कहिले आयो भन्ने कुरो इतिहासको साधारण प्रसंग मात्रै हो, उनको रक्तशुद्धता जाँच्ने मापक होइन । उनको सूर्यवंशी राजकुलमा जन्म भएको जवाफमा जति तीव्र प्रतिक्रियात्मक भावना व्यक्त छ, उति नै एकसाथ अहंकार र हीनता पनि । यस्ता प्रश्नहरूलाई प्रथम दृष्टिमै खारेज गर्ने पो नेता । उनले यसै पनि बालेन भनेर आफूलाई भिन्न परिचयमा उभ्याइसकेका छन् । जातथर चाहिँदैन भन्ने कुरा उनी आफैँले त स्थापित गरिसकेकै मान्यता हो । यो विन्दुमा आएर किन आफैँ आफूसँग बरालिनु ?
अब लागौँ, कोर एरियातिर । यो यस्तो एरिया हो, जो वास्तवमा छँदै छैन । समुदायगत बसोबासको पुरानो स्वरूप हो, जो आजको दिनमा संसारमा अधिकांश ठाउँमा भत्किइसकेको छ । रेड इन्डियनको आदिवासी बस्ती खोजे पनि, आमिश या प्युब्लो जातिको आदि–स्थान खोज्दै गए पनि त्यो आजका दिनमा सामुदायिक मिसमासले झन् उन्नत भइरहेको छ ।
के भन्नुहुन्छ ‘कोर एरिया’ तिरका जानिफकारहरू ? हामीले एउटा–एउटा विचार चिन्तन प्रणालीको ‘कोर एरिया’ तोकेर आएका छौँ । ज्ञान–विज्ञान–संज्ञानको कोर एरिया आजको दिनमा ‘क्रस डिसिप्लिन्ड’ भइसक्यो । एउटै खाना खाएर, एउटै लुगा लगाएर, एउटै भाषा बोलेर, एउटै संगीत सुनेर कसलाई पो पुगेको छ र ?
त्यसैले अरु बेला सिन्को नभाँच्ने, चुनावमा मात्रै ‘कोर एरिया’ खोज्दै हिँड्नुपर्ने दुःखबाट मुक्ति नै आजको ज्ञानको नवीन मार्ग हो भन्ने कोही नयाँ बुद्ध चाहिँदैन । विगतमा दलहरूले उम्मेदवारी दिँदा आफैँ बढ्ता जान्ने भएर सम्बन्धित जातिको उम्मेदवारी दिँदै गए । लिम्बू बस्तीमा लिम्बू उठाउने, मधेसी बस्तीमा मधेसकै निश्चित जाति विशेषको उम्मेदवार । मगर बाहुल्य बस्तीमा मगर उठाए जितिन्छ भने । पूर्वमा खोजीखोजी राई उठाए, पश्चिम तराईमा खोजीखोजी थारू । दलहरूले उम्मेदवार होइन, जात उठाए ।
दलहरू यो समाजका सबैभन्दा ठूला शिक्षक हुनुपर्ने । उनीहरू त बौद्धिक दासप्रथाका नयाँ कारखाना पो बन्न पुगे । ती पनि अलि पहिलेसम्म लिमिटेड थिए, अहिले प्राइभेट लिमिटेड बन्न पुगे । मैले जसलाई इशारा गरेँ, त्यही हो उम्मेदवार, तिमीहरू उसैलाई भोट हाल्ने स्वतन्त्रता प्रयोग गर्न बाध्य छौ भन्ने किसिमले मतदातालाई दुर्व्यवहार गरे । अनि मतदाताले आफैँ नयाँ उम्मेदवार खोज्न लागे । जहाँ दलले उचित प्रस्ताव गरे, त्यहाँ मतदाताले दल नै रोजे । जहाँ दलले जेपायो त्यही गर्न थाले, त्यहाँ मतदाताले आफ्नो सार्वभौमिक नागरिकताको अभ्यास गर्न सुरु गरे ।
तर यो सुरुवात मात्रै हो । यसले निरन्तरता पाउँछ कि पाउँदैन, हेर्न बाँकी छ ।
यी सबका मारे, कोर एरियासम्बन्धी भ्रम यसपल्ट भने मज्जैले चिरिएको छ । नेवाः आखिरमा एउटा सभ्यता थियो, यो जातिविशेषको मात्रै कुरो थिएन । यो त कोर भनिएको क्षेत्रका मतदाता आफैँले ब्यालेट बक्समा मत खसाएर पुष्टि गरिसके । किरात यस्तै अर्को सभ्यता हो । पश्चिम पहाडको सिञ्जाक्षेत्रमा खसहरूको सभ्यता अझ अर्को सभ्यता । अरु पनि यस्ता सभ्यताहरूका आधारमा नेपाल देश बनेको छ, जुन यथार्थलाई हामी जातीय संकीर्णतावादी चस्मा लगाएको भरमा निस्तेज गर्न सक्दैनौँ । अनि नेपाल राज्यबाहिर पनि नेपाली सभ्यता, संस्कृति छ, जसलाई हामी चुच्चे या बुच्चे नक्साको पिँजडामा सुगारटान गर्न सक्दैनौँ ।
कोर लिम्बू एरिया भनेको ठाउँले दीपक प्रकाश बाँस्कोटा, कुलबहादुर गुरुङ, झलनाथ खनाललाई जिताएर पठाउने गरेको छ । कोर मधेसी क्षेत्रमा पहाडीले जित्ने गर्छन्, यद्यपि कोर पहाडी क्षेत्र भनिएको ठाउँमा मधेसीले जितेर आउन बाँकी छ । दलहरूको उम्मेदवारी र मतदाताको छनोट दुवै जातीय संकुचनभन्दा बाहिरिन सक्नुपर्छ । हामीले माने पनि नमाने पनि जातीय संकीर्णता अझै बलियो नै छ, एकै झट्कामा त्यो तोडिएला भन्ने पनि लाग्दैन । तर, सुरुवात चाहिएको छ, कथित् कोर एरियाबाट स्वघोषित विद्रोह गर्दै ।
कोर एरिया भन्नु औपनिवेशिक सोच हो । कोर एरिया भन्नु संरचनागत हिंसा हो । कोर एरिया भन्नु ‘लोकल दादा’ को पारा हो । पृथ्वी मान्छेको मात्रै कोर एरिया होइन, यहाँ सबै प्राणी वनस्पति, खनिज र अन्य तत्त्वहरू रहेबसेका छन् । मान्छेको चेतनास्तर मान्छेकै दृष्टिमा अब्बल देखिएको मात्रै हो ।
'नेवार बस्तीबाट भोट गन्न त सुरु होस्, त्यसपछि मैले जानेको छु' भन्नु एउटा नेवारले अर्को नेवारको चेतनामाथि गरेको अपमान हो । नेपाली कांग्रेसको विचार बोकेर हिँड्नुपर्ने उम्मेदवारलाई नेवाःकी बुहारी, गोर्खाकी चेली भन्नु विषाक्त राष्ट्रवादमा उपराष्ट्रवादको चास्नी हाल्नु हो । यौन दुर्व्यवहारको आराेपितलाई प्रश्न गर्दा ‘कोर एरियाबाहिरको भोटर’ले प्रश्न उठायो भन्नु जनताको बहुदलीय जातिवाद हो । लिम्बू यस्ता हुन्छन्, मधेसी उस्ता हुन्छन्, महिला त्यस्ता हुन्छन् भन्नु प्रकारान्तरले आधुनिक समाजभित्र आफ्नो असभ्यताको भद्दा प्रदर्शन हो ।
अग्रगामी भनेर चिनिने एक लेखकले केही वर्षअघि कुरैकुरामा भने, ‘लिम्बू झोंक्की हुन्छ, राई चिसो ।’ एक अग्रज पत्रकारले बालेनको नाम थरमा किन पातलो ‘स’ नलेखेको भनेर लडाइँ नै छेड्न खोजे । तिनै पत्रकारले केही वर्षअघि आमाको नाममा नागरिकता दिलाउने मुद्दा सतहमा आउँदा ‘बाउ चिनाउन नसक्नेले किन सन्तान जन्माउनु’ भने । तैपनि हामीमध्ये धेरैले ‘छुच्चो प्रश्न गरेर सामाजिक सहिष्णुता किन बिगारिहाल्नु’ भन्दै चुप्पी साँध्यौँ । यथार्थमा समाजले जसरी नयाँ नेता मागिरहेको छ, उसैगरी नयाँ विश्लेषकहरू पनि । प्रगतिशीलताको बहसमा दह जमेको छ । बग्ने बाटो नखोल्ने हो भने त्यो ‘प्रगतिशील सामन्तवाद’ कहलिनेछ ।
यथार्थमा सबै लिम्बू आँटिला हुँदैनन् । लिम्बू हुनु आँटिलो हुनु हो भन्नु संज्ञानात्मक हिंसा हो । त्यसको पेटबोलीमा लिम्बूहरू मूर्ख हुन्छन्, त्यसैले आँटिला हुन्छन् भन्ने जातिभेदी परिभाषा छिपेको छ । लिम्बूले बाहुन कायर हुन्छ, क्षेत्री बलवान् हुन्छ भनेर उसैगरी तर्क गर्यो भने यो पनि पुरानै साम्प्रदायिक धङधङीको निरन्तरता हो । अतीतको परिभाषाले हामीलाई संकीर्णतातिर लैजान्छ, भाइचाराको भावनाले भविष्यतिर डोर्याउँछ । जातले कोही कायर हुँदैन, न कोही बलवान् । कसैलाई बढ्ता बुद्धिमान या सिपालु बनाउन राज्यले विभेदकारी मापदण्ड अपनाएको भए त्यो अर्को प्रश्न भयो । नागरिक चेतना भने त्योभन्दा सबल देखिँदैछ । त्यसैले सुदूरपश्चिम कञ्चनपुर जिल्लाका मतदातालाई मेयरमा किशोर लिम्बू चुन्न कुनै समस्या भएन ।
दलहरू त बौद्धिक दासप्रथाका नयाँ कारखाना पो बन्न पुगे । ती पनि अलि पहिलेसम्म लिमिटेड थिए, अहिले प्राइभेट लिमिटेड बन्न पुगे । मैले जसलाई इशारा गरेँ, त्यही हो उम्मेदवार, तिमीहरू उसैलाई भोट हाल्ने स्वतन्त्रता प्रयोग गर्न बाध्य छौ भन्ने किसिमले मतदातालाई दुर्व्यवहार गरे । अनि मतदाताले आफैँ नयाँ उम्मेदवार खोज्न लागे ।
पाँचथरका मतदातालाई दीपक बाँस्कोटा, इलामका मतदातालाई कुलबहादुर गुरुङ, झलनाथ खनाल चुन्न खास समस्या भएन । खोटाङको राई बाहुल्य बस्तीमा विशाल भट्टराई जितेर आउँछन्, ओखलढुंगाको घना किराती बस्तीमा रामहरि खतिवडा र ताप्लेजङगबाट याेगेश भट्टराई छानिन्छन् । त्यहाँ भट्टराई र खतिवडा छानिएको होइन, दलको उम्मेदवार छानिएको हो । उपलब्ध भएकामध्येको योग्य (त्यस बेलाको) व्यक्ति छानिएको हो ।
अनि यति कुरो बुझीबुझी नेताहरूले टिकट वितरण गर्दा किन जातलाई ध्यान दिनुपर्यो ? उम्मेदवारको योग्यता जातले नापिने हो र ? उसो भए अरु ‘जात’ का उम्मेदवारले किन पार्टी संगठनमा मेहनत गर्नुपर्यो ?
अनि केशव स्थापितजस्ता नेता भनाउँदालाई किन बालेनको थरबारे ‘गोप्य खुलासा’ गर्नुपर्यो ? किन उनलाई अन्तर्राष्ट्रिय ठग भन्नुपर्यो ?
खासमा यो प्रश्न नै असान्दर्भिक हुनेगरी मतदाताले स्थापितलाई उनको ‘कोर एरिया’ मै लौरो लगाइदिए । जुन वडानेर उनको मत बेसी आएको छ, त्यो पनि एमाले मतदाताको वैचारिक झुकाव प्रतिबिम्बित देखिन्छ, जात होइन । मतदाताको विवरण तथ्यांक केलाएर हेरे पुग्छ ।
बाराक ओबामाले सन् १९९५ मा ‘ड्रिम्स अफ माई फादर’ पुस्तक लेखेका थिए । उनी अमेरिकाको राष्ट्रपति बन्नुभन्दा १३ वर्षअघि छापिएको त्यो किताबको आखिरी खण्डतिर पितृभूमि केन्या भ्रमणमा जाँदाको संस्मरण उल्लेख छ । बाराककी निकट आफन्त उनलाई ‘कोर एरिया’ घुमाउने क्रममा केही स्थानीय जातिहरूको नाम लिएर मनपरी बोल्छिन् । अनि थप्छिन्, ‘अझ भारतीयहरूको त कुरै नगरौँ, यी हाम्रो देश लुट्न आएका हुन् । ठूल्ठूला पसल थाप्छन् । कुस्त कमाउँछन्, अनि नाफाजति बम्बई र लन्डनमा लगेर थुपार्छन् ।’
केही बेर सुनिसकेपछि बाराक उनलाई रोक्छन् । अनि जवाफ दिन्छन्, ‘म अमेरिकामा युनिभर्सिटी पढ्न जाँदा कति एसियन साथीले खर्चपानी सघाएका छन् । भाडा तिर्न नसकेर डेरा छाड्दा अमेरिकी साथीहरूकैमा कतिपल्ट सुटकेश गुडाउँदै बास बस्न गएको छु । भारतका साथीहरू त अझै रमाइला छन्, उनीहरूले मलाई कहिल्यै पनि तँ कालो, तँ अफ्रिकी भनेर गिल्ला गरेनन् ।’
तिनै बाराकले सन् २००८ मा डेमोक्रेटिक नेसनल कंग्रेसको फाइनल स्पिच दिने क्रममा मार्टिन लुथर किङको अमेरिकी सपना दोहोर्याए । पहिलोपल्ट राष्ट्रपति चुनिएपछि धन्यवाद मन्तव्य दिँदै उनले ‘काला, गोरा, कट्टरपन्थी, उदार या वामपन्थी नभई सबै अमेरिकीहरूले साझा सपना देख्ने हिम्मत गरेको’ भने । उनले ‘विचारभन्दा माथि देश’ चाहिँ झुक्किएर पनि भनेनन् । किनकि देश भनेको आफैँमा मानवआधारित विचार हो । नदी, हावा, पशुपन्छीले देश बनाउने विचार गरिसकेका छैनन् ।
प्रत्येक गोरा भनिएकाहरूको राज्य त्यसबेला बाराक ओबामा चुन्ने राज्य हो । जो बाइडेनलाई भोट हाल्नेहरू कतिपय काला होलान् । उनीहरूको प्राथमिक परिचय गोरो हुनु या कालो हुनु होइन । त्यो त उही संरचनाले थोपरेको दृष्टिकोण मात्रै हो । रङ, जाति, क्षेत्र, लिङ्ग आदिका आधारमा दृष्टिकोण बनाउनु ज्ञानको हिंसा हो । बालेनमाथि सोधिएका तत्तत् प्रश्नहरू हिंसा हुन् । बालेनले उत्तेजित भएर दिएका जवाफहरू एकातर्फ त्यो हिंसाका सिकार हुन्, अर्कोतर्फ प्रतिहिंसाको नरम तयारी ।
अब अन्तिममा कोसी किरात कि सगरमाथा ? हाम्रो प्रदेशको विवेचना गरौँ ।
बहसकर्ताको एउटा पक्षले अक्सर सोधिरहन्छ– तिमीहरूलाई देशचाहिँ धर्मनिरपेक्ष चाहिने । प्रदेशहरूचाहिँ जातिसापेक्ष चाहिने ?
यसको जवाफ कठिन छैन । पहिलो, देशलाई धर्मनिरपेक्ष बनाउने होइन, राज्यलाई धर्मनिरपेक्ष बनाउने हो । देश भनेको जनता हो । यो पुरानै परिभाषा हो । जनतालाई इच्छाएको धर्म मान्ने, त्याग्ने या धर्मको बहसमा प्रवेशै नगर्ने सबै सहुलियत प्राप्त हुन्छ । केवल राज्यको धर्म हुँदैन । राज्यको काम रामको नागरिकता खोज्ने, गौतम बुद्धलाई नागरिकताको प्रमाणपत्र प्रतिलिपि दिलाउने होइन । इतिहास र भूगोलका तथ्यहरू कसैले तोडमोड गर्न खोजे ‘सच्चाई’ सम्झाइदिने काम भने पक्कै सबैको हो । राज्यको पनि हो । यस अर्थमा राज्यले नागरिकको धर्म मान्ने, नमान्ने सबै खाले संविधानप्रदत्त व्यक्तिगत अधिकारको संरक्षण गर्छ । राज्यको काम संविधानको परिपालना गर्दै नागरिकका आकांक्षा पूर्ति गर्दै अघि जाने हो ।
अब संघीय प्रदेशहरूको कुरो । उसो त तर्क गर्न पनि सकिन्छ । गाउँपालिका र नगर–उप–महानगरलाई यतिका शक्तिशाली बनाइसकेपछि प्रदेशको तह नै किन चाहियो ? यथार्थ के हो भने प्रदेश र बलिया स्थानीय पालिकाको निर्माण नै संघीयता हो । विकेन्द्रीकरणको भरमा बलिया पालिका निर्माण गर्न सम्भव थिएन । बलियो पालिका संघीयताको मूल्यमा प्राप्त भएको हो ।
दोस्रो, प्रदेशहरूलाई एक किसिमले औचित्यविहीन बनाइसकेपछि अब नामैमा पो किन धेरै लडिबस्नु ? कामबेगरको नाम भनेको व्यर्थको आराम मात्रै हो । तै पनि नामै राखिसकेपछि देशभित्रका स्थानीय सभ्यताहरूको किन पहिचान नगर्ने ? किन त्यसलाई मान्यता नदिने ?
अरु बेला सिन्को नभाँच्ने, चुनावमा मात्रै ‘कोर एरिया’ खोज्दै हिँड्नुपर्ने दुःखबाट मुक्ति नै आजको ज्ञानको नवीन मार्ग हो भन्ने कोही नयाँ बुद्ध चाहिँदैन ।
किरात भन्नु भनेको जातिगत शब्द मान्नु होइन, देशभित्र रहेको एउटा महत्त्वपूर्ण सभ्यताको सांस्कृतिक सम्पत्तिलाई स्वीकार गर्नु हो । त्यसलाई सम्मान गर्नु हो । यो राष्ट्रभित्र उपराष्ट्रवादको अभ्यास होइन, बरु राष्ट्रिय भावनाको अझ विस्तार हो । भारतको तेलंगनामा तेलुगुभन्दा अरु भाषा बोल्नेको हक त्यति नै सुरक्षित छ, जति तेलुगु बोल्नेको हक सुरक्षित छ । तमिलनाडू, झारखण्ड या जसको दृष्टान्त दिए पनि फरक पर्दैन । लोकतन्त्रले प्रथम जाति, प्रथम राष्ट्रजस्ता गलत अवधारणा सकार्दैन । यसले विगतको ऐतिहासिक संरचनात्मक अन्यायलाई बराबरीको अनुभूति दिलाउने गरी अल्पकालीन सकारात्मक विभेदजस्ता नीति अपनाउन सक्छ । त्यसको समय र सीमा निश्चित गरिएको हुन्छ ।
किरात नभनेर कोसी, सगरमाथा भन्दा जाति होइन, भूगोलको, अझ नदी, हिमालको कुरो गरेको अनुभूति हुन्छ भन्ठान्नेहरूका लागि पनि प्रतिटिप्पणी छ । सगरमाथा कोसी शब्द संस्कृतका शब्द हुन् । उसो त संस्कृतको शब्द ग्रहण गर्नुमा कुनै खराबी छैन । त्यसैले बागमती, गण्डकी, लुम्बिनी, कर्णालीजस्ता शब्द यसअघि नै प्रदेशका रूपमा स्वीकार गरिसकिएको छ । यसमा पनि विविधता भने दिन सकिन्थ्यो । तर, किरातलाई ग्रहण गर्दा यसै भूगोलभित्र सीमान्त हुँदै गरेको भाषा, संस्कृति, सभ्यताको अपनत्व ग्रहण हुन्छ । कोसी भन्दा त्यो नदी मात्र होइन, अर्को बृहत् भाषासमूहको शब्द मात्रै प्राप्त हुन्छ । सगरमाथाको हकमा पनि त्यही हो । कसैले के भन्छन् भने विश्वकै सर्वोच्च शिखरको नाममा प्रदेशको नाम राख्न के आपत्ति ? त्यो नाम यति प्रसिद्ध भइसक्यो कि अब एउटा प्रदेशको नाम राखेको भरमा त्यो थप चर्चित होला र ?
के भन्नुहुन्छ ‘कोर एरिया’ तिरका जानिफकारहरू ? हामीले एउटा–एउटा विचार चिन्तन प्रणालीको ‘कोर एरिया’ तोकेर आएका छौँ । ज्ञान–विज्ञान–संज्ञानको कोर एरिया आजको दिनमा ‘क्रस डिसिप्लिन्ड’ भइसक्यो । एउटै खाना खाएर, एउटै लुगा लगाएर, एउटै भाषा बोलेर, एउटै संगीत सुनेर कसलाई पो पुगेको छ र ? मान्छे भनेको निरन्तर नयाँ आविष्कार हो । त्यसैले लु है, अब यस्सो सीमा भन्जन गर्ने बेला पो आयो कि ? पुराना र कामलाग्दा विचार ग्रहण गरिराखौँ । थोत्रा, मक्किएका, सडेगलेका पुराना ज्ञानहरूबाट थप शासित हुन इन्कार गरौँ ।
त्यसैले ‘कोर एरिया’, ‘कोर एरिया’ भन्दै कति संकीर्णता पालिराख्ने ? आउनुस्, हल्का अटेर गरौँ ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ २०:०२