१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा जिल्ला समन्वय समिति गठनको तयारीमा दलहरू जुट्न थालेका छन् । लुम्बिनीका ८ जिल्लाको नेतृत्व कसले लिने भन्ने टुंगो लागेको छ भने बाँकी चार जिल्लामा के हुने भन्ने निर्णय गर्न बाँकी छ । गठबन्धनमा सहमति भएअनुसार प्युठानमा राष्ट्रिय जनमोर्चाले जिसस पाउने जनाइएको छ ।
निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा तीन जिल्लामा जिसस गठन गर्नेछ । माओवादी केन्द्र र नेकपा एमालेले २/२ जिल्लामा जिसस गठन गर्नेछन् ।
यो समाचार तयार पार्दासम्म प्रदेशका १०९ पालिकामध्ये अझै ३ पालिकाको स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छैन । मतगणना जारी रहेका पालिकामा रूपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका तथा दाङको तुलसीपुर उपमहानगरपालिका रहेका छन् ।
नेपाली कांग्रेसको बर्दिया, दाङ र बाँकेमा एकल बहुमत पुगेको छ । यता माओवादी केन्द्रले रोल्पा र पूर्वी रुकुम तथा नेकपा एमालेले पाल्पा र अर्घाखाँचीमा एकल बहुमत पुर्याएका छन् ।
नेपाली कांग्रेसले एकल बहुमत ल्याएको बर्दियाको कुल मतभार १६ छ । यहाँ कांग्रेसले ५ प्रमुख र ४ उपप्रमुख जित्दै ९ मतभार आफ्नो पक्षमा राखेकोले एकल रूपमा जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ ।
एमालेको १ प्रमुख र ३ उपप्रमुख गरी ४, माओवादी केन्द्रको २ प्रमुख र १ उपप्रमुख गरी ३ मतभार छ ।
यता २० मतभार रहेको दाङमा पनि कांग्रेसले एकल बहुमत पुर्याएकाे छ । ५ पालिका प्रमुख र सात पालिका उपप्रमुख गरी १२ मतभार कांग्रेसको छ । एमालेको १ प्रमुख र २ उपप्रमुख गरी ३ र माओवादी केन्द्र ३ प्रमुख सहित ३ मतभार छ ।
तुलसीपुर उपमहानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । उक्त उपमहानगरको मतपरिणाम नआउँदै कांग्रेसले एकल रूपमा जिसस गठन गर्न सक्ने अवस्था छ । यहाँ नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।
१६ मतभार रहेको बाँके जिल्लामा पनि नेपाली कांग्रेसको जिल्ला समन्वय समिति गठन गर्न एकल बहुमत छ ।
नेकपा माओवादी केन्द्रले रोल्पा र पूर्वी रुकुममा एकलको बहुमत पुर्याएको छ । नेकपा एमालेले पाल्पा र अर्घाखाँचीमा एकल बहुमत प्राप्त गरेको छ ।
यी जिल्लामा आवश्यक छ तालमेल
लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै मतभार रहेको रुपन्देही जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि तालमेल हुन आवश्यक देखिएको छ । ३२ मतभार रहेको रुपन्देहीमा नेपाली कांग्रेसको सबैभन्दा धेरै ९ प्रमुख र ४ उपप्रमुखसहित १३ मतभार छ । नेकपा एमालेको अहिलेसम्म ३ प्रमुख र ७ उपप्रमुखसहित १० मतभार छ । लोसपाको १ प्रमुख र २ उपप्रमुख सहित ३, जनता प्रगतिशील पार्टीको १ प्रमुख र १ उपप्रमुखसहित २, जसपाको १ प्रमुखसहित १ र राप्रपाको १ उपप्रमुखसहित १ मतभार छ ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शून्य रहेका कारण कांग्रेसलाई गठबन्धन गरेर जित्न जसपा, राप्रपा, लोसपा, जप्रपाको समर्थन चाहिनेछ ।
१४ कुल मतभार रहेको नवलपरासी (पश्चिम)मा स्पस्ट बहुमत कसैसँग छैन । यहाँ ३/३ प्रमुख र उपप्रमुखसहित ६ मतभार कांग्रेसकाे छ । नेकपा एमालेको ३ प्रमुख र २ उपप्रमुखसहित ५, माओवादी केन्द्रको १/१ प्रमुख उपप्रमुखसहित २ र राप्रपाको १ उपप्रमुखसहित १ मतभार छ ।
यस जिल्लामा जिसस गठनका लागि ८ मत आवश्यक पर्दछ । जुन एकल रूपमा कसैसँग छैन । २४ मतभार रहेको गुल्मीमा पनि तालमेल आवश्यक देखिएको छ । बहुमतका लागि १३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेको समान १० मत भार रहेकोले बहुमतका लागि तालमेल चाहिने भएकाे हाे ।
२० मतभार रहेको कपिलवस्तुमा पनि जिल्ला समन्वय समिति गठनका लागि गठबन्धन गर्न आवश्यक छ । यहाँ कुनै पनि दलको ११ मतभार छैन । प्यूठानमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन । कुल १८ मतभारमा बहुमत पुऱ्याउन १० मत चाहिने अवस्था छ । तर, एकल बहुमत कुनै पनि दलले निकाल्न नसकेका कारण तालमेल गर्नुपर्ने बाध्यता रहेको छ । यहाँ कांग्रेसकाे ७, एमालेको ४, माओवादीको ४ र जनमोर्चाको ३ मतभार छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १३:३४