श्रम जीवन हो । जीवन नै श्रम हो । श्रमबिना गतिशीलता सम्भव छैन । जीवन भएका हरेक जगत्ले आफ्नो अस्तित्व कायम राख्न कुनै न कुनै रूपमा श्रम गर्नैपर्छ र गर्छन् पनि । होइन भने तिनीहरूको अस्तित्व सम्भव छैन ।
वनस्पति जगत्ले स्थिर रहेर पनि सूक्ष्म रूपमा श्रम गर्छ । सूक्ष्म जीवदेखि अजङ्गका प्राणीहरूले समेत थरीथरीका श्रम गरेको देखिएकै छ ।
मानव जीवनको हरेक पाइलामा, समाजमा र सिङ्गो विश्वमा नै श्रमको ठूलो महत्त्व छ । मानवीय श्रमसँग सभ्यता–संस्कृति, उन्नति–प्रगति गाँसिएको छ । श्रमसँग उत्पादन, निर्माण र विकास अभिन्न रूपले जोडिएको छ । त्यसैले श्रम आफैँमा एउटा उच्च कोटीको आदरणीय र सम्माननीय कुरा हो । तर, श्रम र श्रमद्वारा उत्पादन, निर्माण र सिर्जना भएका वस्तुहरू जति सुन्दर, भव्य र आश्चर्यलाग्दा छन्, तिनको निर्माण गर्ने–गराउने प्रक्रियामा श्रमलाई शोषण गर्ने प्रवृत्ति, पद्धति र पथहरू त्यत्तिकै अमानवीय, क्रूर र खराब छन् । यदि होइन भने मानवले निर्माण गरेका आश्चर्यजनक संरचनाहरूको गर्भगृह खोतल्दा सत्य–तथ्य थाहा पाइन्छ ।
मानव समाजको विकास प्रक्रियाको इतिहासलाई पल्टाएर हेर्दा हामी के पाँउछौँ भने संसारमा जबदेखि श्रमको किनबेच सुरु भयो, यथार्थमा त्यही समयदेखि नै अन्यायपूर्ण र शोषणमूलक श्रम सम्बन्धहरूको पनि थालनी भयो ।
अन्यायपूर्ण तथा शोषणमूलक श्रम–सम्बन्धका विभिन्न स्वरूपहरूमध्ये बालश्रमशोषण एउटा प्रतिकात्मक स्वरूप हो । कलम र कापी समाएर विद्यालय जानुपर्ने, परिवारको माया र ममतामा हुर्कनुपर्ने बालबालिकाहरू आज बाध्यतावश शोषणमूलक परिस्थितिका श्रमबजारहरूमा बेचिन बाध्य भएका छन् ।
केटाकेटीहरूले रोजगारीको अवसर पाउनुका मूल कारणहरू सस्तो आपूर्ति, सजिलो, कम ज्याला दिए पुग्ने, नियन्त्रणमा राख्न सकिने भएकाले नै हो । त्यसैले बालश्रम जोखिमयुक्त श्रमस्रोत हो ।
विश्वका कुनै पनि देश बालश्रम शोषणबाट मुक्त छैनन् । विकसित देशहरूमा पनि कुनै न कुनै स्वरूपमा यो विद्यमान छ । त्यसैले बालश्रम शोषण निर्मूलनको सवाल आज हाम्रो विश्वमा एउटा अन्तर्राष्ट्रिय मुद्दा बनेको छ । यस सन्दर्भमा आईएलओले अन्तर्राष्ट्रिय बालश्रम उन्मूलनसम्बन्धी कार्यक्रमलाई सन् १९९२ देखि अगाडि ल्याएको छ ।
युनिसेफ, आईएलओ, आइपेकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू संसारमा अति जोखिम परिस्थितिमा काम गरिरहेका बालश्रमिकहरूलाई शोषणबाट मुक्त गरी उनीहरूको बालअधिकार सुनिश्चित गर्नेतर्फ कार्यरत छन् । यसै सन्दर्भमा बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालश्रम उन्मूलनसम्बन्धी महासन्धि १९९८ मा विश्वका अधिकांश राष्ट्रहरूले सहमति गरेका छन् ।
अब जिज्ञासा उठ्छ, यो जटिल मानवीय समस्याको संस्थागत सुरुवात कहिले र कहाँबाट भयो ? आउनुहोस्, यो चर्चामा यो समस्याको प्रारम्भिक चरणतिर फर्किने जमर्को गरौँ, तहसम्म पुगौँ र हेरौँ, त्यहाँ के–के घटना भएका रहेछन् ? के भयो जब ...!
औद्योगिक क्रान्ति (सन् १७८०–१८४८)
विश्वको इतिहासले यो कालखण्डलाई औद्योगिक क्रान्तिकाल भनेर टिपेको छ, जसको अगुआइ ब्रिटेनले गरेको थियो । विख्यात इतिहासकार एरिक हाँब्सबाम आफ्नो असाधारण इतिहास–पुस्तक ‘THE AGE OF REVOLUTION’ मा लेख्छन्:
कृषि र नगरको अविष्कारपछि निश्चय नै हरेक दृष्टिकोणले औद्योगिक क्रान्ति इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना थियो । यसको प्रारम्भ ब्रिटेनले गरेको थियो । यो सबै स्पष्टतः आकस्मिक थिएन । यदि १८औँ शताब्दीमा अगुआइ गर्ने दौड प्रतिस्पर्धा गराएको भए अगुवा त ऊ हुने नै थियो ।
इतिहासकारहरूको बीचमा रहेको यो क्रान्तिको समयावधिका सम्बन्धमा रहेको मतभिन्नतालाई निरूपण गर्दै उनी लेख्छन्:
परिवर्तन त अहिले पनि जारी नै छ । तर क्रान्तिकारी परिवर्तन कुन समयावधिमा एउटा सामान्य प्रक्रिया बन्यो, त्यो महत्त्वपूर्ण तत्त्व हो । ब्रिटेन र संसारमा औद्योगिकीकरण सन् १७८० को वरिपरिबाट प्रारम्भ भयो । अनि सन् १८४८ सम्ममा रेलवे र ठूला–ठूला उद्योगहरूको निर्माणसँगै एउटा चरण पूरा गरेर समाप्त भयो । यो अवधिमा आर्थिक रूपान्तरण त्यो सीमासम्म भइसकेको थियो कि अर्थ व्यवस्था धेरै हदसम्म परिपक्व औद्योगिक अर्थ–व्यवस्था भयो र उपलब्ध प्रविधि र स्रोतका आधारमा जसले चाहे पनि वस्तुको उत्पादन गर्न ऊ समर्थ भयो ।
जहाजले टेक अफ गरिसकेपछि हावामा स्थिर भएर उडान गरेको अवस्थालाई प्राविधिक भाषामा ‘एयरबोर्न’ भनिन्छ । १७८० को दशकदेखि नै आर्थिक तथ्याङ्क तीव्र गतिमा उर्ध्वगामी हुन थाल्यो र आर्थिक व्यवस्था एयरबोर्न भयो । मानव–इतिहासमा पहिलोपटक मानव–समाजको उत्पादक शक्तिको साङ्लो टुट्यो । त्यसपछि समाजमा आजसम्म व्यक्ति, वस्तु र सेवाहरूको तीव्र र निस्सिम वृद्धि निरन्तर जारी छ ।
साहित्य समाजको दर्पण हो । कुनै पनि राष्ट्रको तत्कालीन समाजको जुन कुरा इतिहासले टिपेको हुँदैन, त्यो साहित्यले केलाएको हुन्छ । इतिहासले त तिथि, मिति र घटना टिप्ने हो । केही हदसम्म कारण कोट्याउने हो, परिणाम औँल्याउने हो ।
त्यसैले त प्रख्यात अंग्रेजी उपन्यासकार, पत्रकार, समाजवादी चिन्तक र इतिहासकार एचजी वेल्स A SHORT HISTORY OF THE WORLD मा लेख्छन्, ‘यो त सामाजिक र वित्तीय विकास हो, जसलाई औद्योगिक क्रान्ति भनिन्छ ।’
फ्रान्सेली क्रान्तिको केही समयअघि सुरु भएको यो सामाजिक र वित्तीय विकासको उत्कर्षको पहिलो चरणको प्रक्रिया युरोपमा नेपोलियन युगको समाप्तिपछि पनि साढे तीन दशकसम्म चलिरहेको थियो ।
रोमन लोकतन्त्रको आर्थिक क्रान्ति र औद्योगिक क्रान्तिले ल्याएको वित्तीय विकासको बीचमा भएको तात्त्विक फरक छुट्याउँदै एचजी वेल्स निचोडमा लेख्छन्, ‘उन्नाइसौँ शताब्दीको अन्त्यमा औद्योगिक क्रान्तिलाई यसबाट प्रभावित भइरहेका जनसाधारणहरूले अधिकाधिक स्पष्ट रूपले एक सम्पूर्ण प्रक्रियाको रूपमा देखे । किनकि, अब उनीहरू पढ्न सक्थे, विचार–विमर्श गर्न सक्थे र ती कुराहरू अन्यलाई बताउन सक्थे । उनीहरू चारैतिरको दुनियाँमा घुम्दै–फिर्दै अरु चीजहरूलाई देख्थे, जस्तो कि जनसाधारणहरूले यसभन्दा पहिले कहिल्यै गरेका थिएनन् ।’
यो क्रान्तिले तत्कालीन समाजमा कस्तो उथलपुथल ल्यायो ? कसरी भोगे जनसाधारणले यसलाई ? के देखे ? कसरी विचार–विमर्श गरे र कसरी बताए आफ्नो अनुभव अन्यलाई ? आउनुहोस्, तत्कालीन ब्रिटानी समाजको एउटा परिवारमै गएर अवलोकन गरौँ ।
उर्बर–भूमिमा रचना गर्भ
यो क्रान्तिको दीर्घकालीन नकारात्मक प्रभाव इङ्ल्यान्डमा देखिन थाल्यो । यद्यपि इङ्ल्यान्डभन्दा बाहिर अहिले यो प्रभाव सुस्पष्ट भइसकेको थिएन तर इङ्ल्यान्डमा त १९औँ शताब्दीको तेस्रो दशकको सुरुवातदेखि नै यो सतहमा छताछुल्ल भएर देखियो । कार्लाइलको पदावलीमा भन्ने हो भने त्यो समाजमा ‘सुन र कागजको नगदी गठबन्धन’ बाहेक अन्य सबै सम्बन्धहरू टुट्न–भत्किन र भताभुङ्ग हुन थाले । पुँजीवादी समाजको प्रादुर्भावले उत्पन्न गरेको चिन्ता र सरोकार साहित्य, कला, नाट्य आदिमा अभिव्यक्त हुन थाल्यो ।
यो क्रान्तिको फलस्वरूप नै इङ्ल्यान्डको आर्थिक स्थिति युरोपका अन्य देशहरूको तुलनामा अत्यन्तै बलियो भयो तर नयाँनौला नसोचेका समस्याहरू पनि सतहमा देखिए ।
औद्योगिक क्रान्तिसँगै एकातिर मानव समाज आर्थिक उन्नतिको बाटोमा नयाँ विश्व अर्थ–व्यवस्था बनाउनेतर्फ फड्को मार्दै थियो भने अर्कोतर्फ धनी र गरिबबीचको अन्तराल गहिरो र फराकिलो हुँदै थियो ।
लन्डन र मान्चेस्टरजस्ता औद्योगिक शहरमा जनसंख्या निरन्तर बढ्न लाग्यो । आसपास र दूरदराजका गाउँहरूबाट गरिब किसान र श्रमिकहरू रोजगारीको खोजीमा शहरतिर ओइरिन थाले । तिनीहरू नगर–उपनगरका साँघुरा, फोहोर बस्तीहरूमा बस्न बाध्य भए । अधिकतम मुनाफा आर्जन गर्ने लालसामा अद्योगपतिहरूले मजदुरहरूलाई शोषण गर्न लागे । आर्थिक विवशताले गर्दा मजदुरहरू स–साना कलकारखानाहरूमा काम गर्न बाध्य भए । न्यूनतम मजदुरीका कारण परिवार पाल्न गाह्रो भएपछि अभिभावकहरूले आफ्ना नाबालक सन्तानहरूलाई पनि कलकारखानाहरूमा काम गर्न पठाउन विवश हुनुपर्यो । यसरी शहर–बजारमा बालश्रमिक र बालश्रमशोषणको नयाँ परम्परा सुरु भयो । यसरी तत्कालीन समाजमा केही अभूतपूर्व परिवर्तन परिलक्षित भए, जसको गहिरो प्रभाव जनमानसमा पर्यो । भावी विश्वका हरेक समाजले त बालश्रम शोषणको यो जटिल समस्या भोग्न अरु केही समय कुर्न धैर्य गर्नैपर्ने थियो ।
सन् १८१२ सम्ममा इङ्ल्यान्ड औद्योगिक क्रान्तिको शिखरमा पुग्न लागेको थियो । त्यहाँको समाज र पारिवारिक सम्बन्धहरूले उलटपुलट, उथलपुथल, हेरफेर (यो तीन शब्द गोपालप्रसाद रिमालको हो) को प्रक्रियाबाट काँचुली फेर्दै थिए । यसै समयमा इङ्ल्यान्डको एउटा परिवारमा आठवटा सन्तानमध्ये दोस्रो सन्तानको रूपमा एउटा बालकको जन्म भयो । उनको बाबु एउटा कार्यालयमा क्लर्कको नोकरी गर्थे ।
सन् १८२२ मा बालक दश वर्षको भएका थिए । आठवटा सन्तानसहित क्लर्कको परिवार ठूलो भइसकेको थियो । यति ठूलो परिवारको पालनपोषण एउटा क्लर्कको सीमित आयबाट सम्भव थिएन । बालककोे जीवन चरम गरिबीमा बितिरहेको थियो । उनले घरको झिटीमिटी लगेर कबाडीलाई बेच्थे । छाक टार्न उनले आफ्ना किताबहरूसमेत बेचे ।
घर व्यवहार चलाउन क्लर्कले धेरै ठाउँबाट ऋण, सापटी लिएका थिए तर रकम फर्काउने सामर्थ्य उनीसँग थिएन । उधारो फर्काउन माग गर्ने ऋण दाताहरूको दबाब र संख्या बढ्न थालेपछि क्लर्क आफ्नो परिवारसहित लन्डन शहरबाट बाहिर बस्न जाँदा दोस्रो सन्तानको रूपमा रहेका यी दशवर्षे मरनच्याँसे छोरालाई एउटा कारखानामा बोतलमा लेबल टाँस्ने काममा मजदुरी गर्न लगाएर लन्डनमै छोडेर गए । कारखाना फोहोर थियो, डुङडुङ्ती गन्हाउने, मुसाहरूको साम्राज्य त्यहाँ थियो । अब यी बालक बालश्रमिक वर्गको हृदयविदारक जीवन भोगिरहेका थिए भने अन्य श्रमिकको जीवनलाई नजिकबाट नियालिरहेका थिए । आफ्नो दुःख–पीडासँगै उनीहरूको दुःख–पीडा पनि अनुभूति गरिरहेका थिए । उता ऋण फर्काउन नसकेपछि उनका बाबुलाई जेलसजाय भयो । आमा पनि सात सन्तानसँगै लोग्नेसँग जेलमै बस्न गइन् ।
आफन्तले मिलेर ऋण चुक्ता गरिदिएपछि क्लर्क जेलमुक्त भए । उनले एक पटक छोराको फ्याक्ट्रीबाट नोकरी छुटाए तर आमाले दुत्कारेपछि बाबुले पुनः उनलाई कारखानामा मजदुरी गर्न पठाए । बालक १२ वर्षका हुँदै थिए ।
यसपटक उनले एउटा बुटपोलिस बनाउने कारखानामा १ वर्षसम्म बाल श्रमिकको रूपमा काम गरे । उनले हप्तामा ६ सिलिङ मजदुरी पाउँथे । कारखानामा उनले दिनभरि कारखानाका मालिकको फोहोर र घिनलाग्दो गाली सुनिरहनुपर्थ्यो । कारखानामा काम गर्दा उनको हात र अनुहारमा पोलिसको कालो पोतिएको हुन्थ्यो ।
बालकसँग विलक्षण अन्तर्दृष्टि थियो । यिनले आफूले कारखानामा काम गर्दा वरिपरि काम गर्ने र आफ्नो सम्पर्कमा आउने व्यक्तिहरूको बोलीचाली, रहनसहन, आचारविचार, बानीव्यहोरा आदि मानवीय गुण–अवगुणलाई नजिकबाट नियाले, सूक्ष्म तरिकाले केलाए, अनि आफ्नो किशोर हुँदै गएको मस्तिष्कमा सुरक्षित गरे ।
मानव आचरणको विचित्रता देख्न सक्ने उनको असाधारण क्षमताले यिनको सम्पर्कमा आउने धेरै व्यक्ति पछि गएर यिनले सिर्जना गरेका विश्वचर्चित कृतिहरूको अमरपात्र भए ।
कारखानामा एक वर्ष थप मजदुरी गरेपछि यिनी स्कुल पढ्न थाले । तर, स्कुलमा दुई वर्ष मात्र पढे । स्कुल छोडेपछि यिनले १५ वर्षको उमेरमा एउटा वकिलको कार्यालयमा नोकरी गर्न थाले । त्यहाँ उनले धेरै समय काम गरेनन् । यो नोकरी छोडेर उनले स्टेनोग्राफरको तालिम लिए अनि उनी पत्रकार बने । अब उनको जीवनले एउटा गन्तव्य पाएको थियो तर लक्ष्यमा पुग्न अहिले धेरै काम गर्न बाँकी थियो ।
यिनी को थिए ? हो, यिनी उन्नाइसौँ शताब्दीका सबैभन्दा लोकप्रिय उपन्यासकार चार्ल्स डिकेन्स थिए र यिनको क्लर्क बाबुको नाम जोन डिकेन्स थियो ।
साहित्य नक्षेत्र
विश्वसाहित्यको आख्यान–जगत्मा साहित्य समीक्षक र जागरुक पाठकहरूले चार्ल्स डिकेन्सलाई त्यही विशिष्ट आसनमा राखेका छन्, जुन आसनमा नाटक–जगत्मा विलियम शेक्सपियरलाई विराजमान गराएका छन् । विश्वभरि फैलिएका पाठकहरूको जति प्रेम यी दुई साहित्यकारहरूले आद्योपान्त प्राप्त गरिरहेका छन्, त्यो आफैँमा अतुलनीय छ । यो निष्कर्ष लहडी भावनाको बहावमा बगेर निकालिएको होइन । यो भनाइलाई पुष्टि गर्ने भरपर्दा सूचकहरू (Indicator) छन् ।
अंग्रेजी भाषा र विश्वसाहित्य अध्ययन–अध्यापन गराउने विश्वका हरेक विद्यालय–विश्वविद्यालयहरूका पाठ्यक्रमहरूमा यी दुवैको कुनै न कुनै रचना समावेश गरिएकै हुन्छ/गरिएकै छ ।
आजको एक्काइसौँ शताब्दीको तेस्रो दशकको प्ररम्भमा हिँडिरहेको मानव समाज ‘डिजिटल अर डाई’ अर्थात् डिजिटल हुनुस्, होइन भने मर्नुस् भन्ने चरणमा छ । सन् २०१० को लन्डन बुक फेयरमा एउटा ई–बुक लेखिकाले उच्चारण गरेको यो क्रूरझैँ लाग्ने अंग्रेजी पदावली आजको विश्वको सत्य हो । साहित्य संसारमा पनि ई–बुक लेखक–लेखिका र पाठकको संख्यामा द्रुत गतिले वृद्धि भइरहेको छ । यद्यपि विश्वसाहित्यको अन्तर्राष्ट्रिय पुस्तक बजारमा यी दुवै साहित्यकारहरूका कृतिहरूको माग र नयाँ संस्करणहरूको प्रकाशन, बिक्रीवितरण उल्लेख्य मात्रामा भइरहेको छ । ई–बुक पाठकहरूले पनि आईप्याड, किन्डल, इन्टरनेटमा पनि यिनीहरूका रचनाको सर्च गर्छन् । यो यस्तो सूचक हो, जसले यी दुवै साहित्य नक्षेत्रलाई कालजयी बनाएको छ ।
त्यो रचना
डिकेन्सले आफ्ना उपन्यासहरूमा इङ्ल्यान्डको मध्यमवर्गीय र गरिब समाजको चित्रण बहुतै यथार्थपरक ढंगले गरेका छन् । यिनले आफ्ना रचनाहरूमा झण्डै तीन हजार पात्रहरूको सृष्टि गरेका छन् । उनले सृष्टि गरेका धेरै पात्रहरू जनमानसमा अविस्मरणीय भएर बसेका छन् ।
बाल्यकालको भयानक गरिबी र दश वर्षको उमेरमा बालश्रमिक बनाएर बाबुले एक्लै शहरमा छोडेर गएको दंश उनले जीवनभरि बिर्सन सकेनन् । उनका धेरै उपन्यासहरूमा जेलको बिम्ब र उत्पीडित बालकको चित्र घरिघरि आउँछन् ।
हर्ष–रोदन, उल्लास–विस्मात्, गठन–विघटन, प्रेम–घृणा र इर्ष्या यी मानवीय गुण–अवगुण र अनुभूतिहरू त साहित्यले नै जनसमक्ष अगाडि ल्याउँछ । त्यसैको एउटा उदाहरण हो– विश्वचर्चित रचना डेभिड कपर्फिल्ड ।
डिकेन्सका अधिकांश उपन्यासहरू धारावाहिक रूपमा समाचारपत्र र पत्रिकाहरूमा छापिन्थे । पाठकहरू उत्सुकताले उपन्यासको आगामी अंशलाई पढ्नका लागि अधैर्यतापूर्वक प्रतीक्षा गर्दथे । उनको पहिलो उपन्यास ‘पिकविक पेपर्स’ (Pick-Wick Papers,1835) धारावाहिक रूपमा पत्रिकामा प्रकाशित भएको थियो, जसले उनलाई चर्चा र लोकप्रियताको शिखरमा पुर्यायो । यो उपन्यास धारावाहिक रूपमा पढ्नका लागि इङ्ल्यान्डका प्रायः हरेक व्यक्तिले आफ्नो निजी समाचारपत्र किनेर पढ्न सुरु गरे । अनि यो बानी इङ्ल्यान्डको जनजीवनको एउटा अभिन्न अङ्ग बन्न पुग्यो । उसको आधुनिक र शिक्षित सभ्यतासँग गाँसियो । हप्ताको ६ सिलिङ मजदुरी पाउने बालश्रमिकले अब पत्रिकाहरूबाट आफ्नो एक–एक शब्दका लागि तीन–तीन पाउण्ड पाउने महँगो लेखक भए । उनी धनी भए ।
हुन त डिकेन्सले आफ्ना धेरै उपन्यासहरूमा गरिब, उपेक्षित र उत्पीडित बालकको चित्रण कुनै न कुनै आयामबाट गरेका छन् तर ‘डेभिड कपर्फिल्ड’ ((DAVID COPPERFIELD) चाहिँ सबै अनाथ, बेघर, बेसहारा बालबालिकाहरूले भोगेको जीवनकोे प्रतिकात्मक चित्रणको अभूतपूर्व, अविस्मरणीय स्मारक–कृतिको रूपमा रहेको छ ।
आत्मकथात्मक शैलीमा लेखिएको डेभिड कपर्फिल्ड उपन्यास डिकेन्सको जीवन दर्पण हो । लेखक स्वयम्को आत्मभोगी परिस्थिति र घटनाहरूको प्रामाणिक फोटोग्राफिक चित्रण यसमा छ । यस उपन्यासका सबै पात्रले जीवनको कटु यथार्थको सामना गर्दछन् । उनीहरू सबै आफ्नो आन्तरिक शक्तिको बलमा आइपर्ने सबै कठिनाइ र चुनौतीहरूलाई अडिग भई सामना गर्दछन् । अनि संसारमा आफ्नो विशिष्ट स्थान बनाउन सक्षमसिद्ध हुन्छन् ।
डिकेन्सले आफ्ना बाबु जोन डिकेन्सलाई यस उपन्यासमा मिकावबर नामक पात्रको रूपमा उतारेका छन् भने आफू स्वयम् डेभिड कपर्फिल्ड भएका छन् । यो उपन्यासले डिकेन्सको जीवनलाई प्रतिविम्बित गरेको हुँदा साहित्य समीक्षकहरू भन्छन्, यो उपन्यासको आधा भाग डिकेन्सको आत्मकथा हो ।
यो उपन्यास प्रकाशित भएपछि इङ्ल्यान्डको संसदमा कलकारखानाहरूमा काम गर्ने बालश्रमिकको समस्यामाथि गम्भीरतापूर्वक छलफल भयो र संसदले बालश्रमिकसम्बन्धी नयाँ कानुन बनायो । औद्योगिक क्रान्तिले उत्पन्न गरेको बालश्रमशोषणलाई न्यूनीकरण गर्न बनाइएको यो पहिलो कानुन थियो ।
उसो त डिकेन्स पत्रकार थिए र पत्रिकामा उनले आफ्नो एउटा विशेष स्थान बनाएका थिए । उनको लेख र रिपोर्ताजहरूको प्रभावले गर्दा संसदले आफ्ना केही कानुनहरूमा संशोधन पनि गर्यो र केही अन्य नयाँ कानुन पनि बनायो । उनकै आलोचनाले गर्दा इङ्ल्यान्डमा धेरै राजनीतिक र सामाजिक सुधारहरू भए । उनका लेख यति प्रभावशाली हुन्थे कि अमेरिकाबाट पनि उनलाई भाषण दिन आमन्त्रित गरिन्थ्यो । यस्तो थियो निर्भिक र इमानदार एउटा लेखकको प्रभाव ।
प्रसिद्ध विद्वान्, समालोचक, कूटनीतिज्ञ, यदुनाथ खनाल आफ्नो सारगर्वित पुस्तक समालोचनाको सिद्धान्तमा साहित्य र समाजको सन्दर्भमा लेख्छन्:
साहित्य र समाजमा घनिष्ठ सम्बन्ध छैन भन्नु उहासपात्र बन्नु हो । यदि चार्ल्स डिकेन्सले कलकारखानामा काम गर्ने गरिब बालक–बालिकाको हृदयविदारक चित्रण उनका उपन्यासहरूमा नगरेको भए इङ्ल्यान्डमा केटाकेटीहरूलाई तोकिएको उमेर नपुगीकन कलकारखानामा काम लगाउन पाइँदैन भन्ने कानुन सायद कहिल्यै पास हुने थिएन ।
अनि ‘यदुनाथ खनाल, जीवनी र विचार’मा जयराज आचार्य यसमा आफ्नो थप भनाइ राख्छन्:
आज नेपालका कार्पेट कारखानाहरूमा भएको त्यस्तै बालश्रमको हृदयविदारक चर्चा केवल अखबारहरूमा मात्र पढ्न पाइन्छ, तर खोइ त्यो समस्याले हाम्रो कथा, उपन्यास, कविताहरूमा स्थान पाएको ? आज पनि बालश्रमविरोधी कानुन बनाउन हाम्रो राष्ट्रिय चेतनाले होइन, अन्तर्राष्ट्रिय श्रम संगठन या बालअधिकार विषयक संयुक्त राष्ट्रसङ्घीय महासन्धिको दबाबले बढी काम गरेको छ ।
अन्त्यमा,
साहित्य समाजको दर्पण हो । कुनै पनि राष्ट्रको तत्कालीन समाजको जुन कुरा इतिहासले टिपेको हुँदैन, त्यो साहित्यले केलाएको हुन्छ । इतिहासले त तिथि, मिति र घटना टिप्ने हो । केही हदसम्म कारण कोट्याउने हो, परिणाम औँल्याउने हो ।
कुनै पनि घटनाकोे रूपान्तरणकारी प्रभाव समाज, परिवार र व्यक्तिमा कसरी पर्यो, उसले त्यसलाई कसरी आत्मसात् गर्यो ? हर्ष–रोदन, उल्लास–विस्मात्, गठन–विघटन, प्रेम–घृणा र इर्ष्या यी मानवीय गुण–अवगुण र अनुभूतिहरू त साहित्यले नै जनसमक्ष अगाडि ल्याउँछ । त्यसैको एउटा उदाहरण हो– विश्वचर्चित रचना डेभिड कपर्फिल्ड ।
शिलापत्रमा प्रकाशित उपाध्यायका लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ ०६:१७