राष्ट्र बन्ने, भत्किने प्रक्रियासँगै राष्ट्रिय झण्डाको प्रयोग संसारैभरि सुरु भयो । राष्ट्र मानवनिर्मित हो । एक किसिमले कृत्रिम, तर वास्तविक । राष्ट्र चिनाउने सबैभन्दा शक्तिशाली संकेतचिह्न भनेको राष्ट्रिय झण्डा हो । राष्ट्रिय गीतहरू पनि हुन् ।
मनु ब्राजाकीको एउटा गजल यहाँ प्रासंगिक छ :
लुटिँदैछ देश मेरो राष्ट्रगीत गाउनेबाट
दौरासुरुवाल ढाकाटोपी मिलाएर लाउनेबाट
ब्राजाकीले यो गजल दशक ५० को सुरुतिर लेखेका हुन् । माओवादीको सशस्त्र विद्रोह सुरु हुँदै मात्र थियो । संघीयता, गणतन्त्रका एजेन्डा मुखर रूपमा सार्वजनिक थिएनन् । राष्ट्रियताको एजेन्डाले उत्रो मानभाउ नपाएको बेला थियो । अहिलेका राष्ट्रवादी भनिने नेताहरू ‘महाकाली साझा हो, पानी आधाआधा हो’ भन्दै थिए । ‘श्रीमान् गम्भीर नेपाली’ राष्ट्रगान गाईगाई देश कमजोर बनाउने अभिप्रायमा संलग्नहरू ब्राजाकीको गजलका तारो थिए । गजलै हो, त्यसलाई कसले गम्भीर ठान्यो र ?
चुनावमा राष्ट्रिय झण्डा प्रयोग गरेका काठमाडौं महानगर मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अकस्मात् आगमनले धेरैलाई विस्मित पारेको छ । हरेक चुनावले मतदाता विस्मित पार्ने पात्र अघि सार्दैन, कोसिससम्म गर्छ । बालेनलाई विपक्षी उम्मेदवारले एउटा र्यापर मात्रै ठानेर टिप्पणी गरिरहेको छ भने त्यो अवमूल्यन हो । उनका विचारहरू सुन्दा समकालीन राजनीतिकर्मीभन्दा उनी कुनै पनि हालतमा कमजोर देखिँदैनन् । बरु महानगरका लागि चाहिने बुद्धि, इच्छाशक्ति उनमा देखिन्छ ।
विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बाँस्कोटासँग पनि मतदाता अपिल गर्न सक्ने पर्याप्त विचारहरू छन् । यसबीचका पाँच वर्षमा उनीसम्बद्ध दल जुन स्तरमा विवादित हुन पुग्यो, त्यसको मूल्य भने उनीजत्तिको असल उम्मेदवारले चुकाउनुपर्ने देखिँदैछ । यसबारे छुट्टै प्रसंगहरूमा चर्चा गरौँला ।
माओवादी पार्टी अहिले रक्षात्मक भइसक्यो । पहिलो संविधानसभाताका अपूर्व उल्लास थियो माओवादीहरूको । उनीहरू झण्डा त के, परिआए देशकै नाम बदल्नसमेत सकिने भन्थे । उसो त संसारका कतिपय देशमा क्रान्तिपछि यस्तो भएको छ पनि । नेपालमा भने सम्पूर्ण क्रान्ति भएको थिएन । अनि नेपाली जनमतको बहुसंख्या माओवादीको यस्तो उत्ताउलो प्रस्ताव मान्न किञ्चित तयार थिएन ।
अहिले बालेनले राष्ट्रिय झण्डा प्रयोग गरेर चुनावी अभियान चलाएकोमा फेसबुक, ट्वीटर विभाजित छ । कतिपयले राष्ट्रिय झण्डाजस्तो ‘पवित्र’ वस्तुलाई चुनावी स्वार्थ सेक्ने माध्यम बनाएको भनी आपत्ति जनाएका छन् । उनका समर्थक, अनि अर्को पक्षले यो एकदमै स्वाभाविक भएको तर्क गरेको छ । अनलाइन खबरमा यसैबारे आलोचनात्मक कोणबाट छापिएको ब्लगलाई बालेन समर्थकले विवादमा तान्न खोजेका छन्, जुन कोरा भावुकतामा आधारित छ । चुनाव भनेको दिनभरिको मतदान प्रक्रिया मात्रै होइन, बृहत्तर बहसको मञ्च पनि हो । यसमा सबैले आफ्ना धारणा निर्धक्क राख्न पाउनुपर्छ । बालेनका समर्थकले पनि पाउनुपर्छ, आलोचकले पनि ।
राष्ट्रिय झण्डा विगतमा, वर्तमानमा धेरैले प्रयोग गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको बालकोट निवास जाने जोकोहीलाई उनले राष्ट्रिय झण्डाको लाेगाे लगाएर पठाइदिने गरेका छन् । उनले पार्टीको झण्डा या चुनाव चिह्नको लाेगाे बाँड्दैनन् । उनीसम्बद्ध हरेक र्यालीहरू राष्ट्रिय झण्डामय हुन्छन् । त्यहाँ सूर्य चिह्न या हँसिया हथौडा मात्रै देखिँदैनन् । आजै पनि ओलीको पोखरा सभामा राष्ट्रिय झण्डा पर्याप्त प्रयुक्त छ ।
भीमकाय दलहरूको बीचमा एउटा स्वतन्त्र उम्मेदवारले जुन तरंग पैदा गर्न सकेको छ, त्यसले आमसर्वसाधारणको बेचैनी, विरक्ति र विकल्पको अनन्त खोजी प्रतिबिम्बित गर्छ । सम्भवतः अहिलेकै निर्वाचन संरचनामा उनले नजित्न सक्छन्, तर उनको उम्मेदवारीको अर्थ गहिरो छ ।
२०७२ सालको संविधान निर्माणताका माइतीघर मण्डलामा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेको धेरैलाई जानकारी छ । त्यो बेला ओली प्रधानमन्त्री थिएनन् । संविधान निर्माणताका मधेसी समुदायका निश्चित असन्तुष्टिहरू थिए, जसलाई मधेसकेन्द्रित दलहरूले प्रतिनिधित्व गर्न खोजे । समयक्रममा उनीहरू स्थायी सत्ताकै शक्तिसामु सहवरण गर्न पुगे । एजेन्डाहरू कति सम्बोधन भए, कति अझै छिटफुट रूपमा उठ्छन् । सीके राउतदेखि स्वयम् ओलीलाई मधेसमा आफ्नो करिस्मा देखाउन तिनै एजेन्डाहरू अझै कामलाग्दा छन् । ७ भदौ ०७२ मा टिकापुर संहारपछि नेताहरूले बोलेका टिप्पणी अझै इन्टरनेटमा उपलब्ध छन् । इतिहासमा ती लेखिएका छन्, लेखिनेछन् । ओलीले अस्ति केही दिनअघि बोले, ‘रेशम चौधरी निर्दोष छन् । उनलाई फसाइयो ।’
यी दुवैखाले तर्क गर्दा एउटै कुराको समानता थियो– राष्ट्रिय झण्डाको प्रयोग । यसलाई समर्थकहरूले ‘सदुपयोग’ भन्दिन सक्छन् । काठमाडौं महानगरमा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहको चुनाव प्रचार जुलुसमा चारतारे झण्डा, गोलाकारभित्रको हँसिया हथौडा, कलमसँगै अर्को झण्डा पनि देखिन्छ, राष्ट्रिय झण्डा । कांग्रेसका महामन्त्री गगन थापासमेत सहभागी जुलुसमा चन्द्रसूर्यको त्रिकोणीय ध्वजापताका फरफराएकै छ । यसबारे बहस देखिन्न । बहस बालेनप्रति मात्रै लक्षित नगर्दा पनि हुन्छ ।
यो पङ्क्तिकारले एक साताअघि बहसका लागि तर्कहरू अघि सारेको छ : स्थानीय सरकारका लागि बाटो, धारा, बिजुली, बच्चा–वृद्ध र सबैका लागि सहज पार्क, शिक्षा स्वास्थ्यको सुलभता अनि गुणस्तरजस्ता विषय छलफल गर्न कम्तीमा गाउँ र नगर तहमा गैरदलीय प्रतिस्पर्धा सुनिश्चित गराउने हो भने अहिले नेताहरूले काठमाडौंबाट उछालेको बहस यतिसारो गिजोलिने थिएन ।
आज सोमबार बिहान सूर्यविनायक नगरमा एउटा दलको जुलुसले (राष्ट्रिय झण्डासहितको) नगरपालिका चुनावको प्रचारमा लिपुलेकको कुरो उठाउन भ्यायो । नेपाल सिक्किम हुन सक्ने चिन्ता त्यहाँ जाहेर थियो । स्थानीय चुनावलाई ओली मात्रै होइन, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सबैले आ–आफ्नो शक्ति परीक्षण गर्ने थलो बनाएका छन् । चुनाव स्थानीयको, कुरा देश–देशावरको ।
बालेनका समर्थकहरूको भावुकतालाई आफ्नो ठाउँमा छाडौँ । किनकि, तिनीहरूले निश्चित मिडियाविशेषप्रति लक्षित आक्रमण अभियान नै चलाए, त्यसको खास अर्थ छैन । त्यसले राम्रो सन्देश दिँदा पनि दिँदैन । तर, राष्ट्रिय झण्डाको प्रयोग एउटा संकेत हो, अहिलेको समग्र चुनावी अभियान कतै जाँदैछ भन्नेबारे । सबैजसो उम्मेदवारले झण्डालाई नै एकताको प्रतीक ‘युनिफाइङ फोर्स’ का रूपमा मान्यता दिन खोजेका छन् । योबाहेक अरु साझा संकेतचिह्न पनि प्रयोग हुन सक्थ्यो भन्नेतर्फ कमैको ध्यान गएको होला ।
भीमकाय दलहरूको बीचमा एउटा स्वतन्त्र उम्मेदवारले जुन तरंग पैदा गर्न सकेको छ, त्यसले आमसर्वसाधारणको बेचैनी, विरक्ति र विकल्पको अनन्त खोजी प्रतिबिम्बित गर्छ । सम्भवतः अहिलेकै निर्वाचन संरचनामा उनले नजित्न सक्छन्, तर उनको उम्मेदवारीको अर्थ गहिरो छ । (अरुको उम्मेदवारीको पनि) । जहाँसम्म उनले काँधमा ओढेको झण्डाको प्रसंग छः लौरो चिह्न पाउने बेलासम्म उनी निश्चित दलविशेषमा सम्बद्ध छैनन् । सम्भवतः उनीसँग राष्ट्रिय झण्डा आवश्यकता र रहर दुवै थियो ।
झण्डा, गीत, पोशाकहरू केवल प्रतीक हुन् । राष्ट्र समुदाय चाहिने नागरिकलाई हो । कुन प्रतिनिधिले नागरिकलाई अधिकतम् चित्त बुझाएर काम गर्न सक्छ, त्यो नै सही राष्ट्रिय चेतनायुक्त नागरिक हो । अनि जनप्रतिनिधि होस् या सार्वजनिक संस्थाहरू– जोकोहीलाई चनाखो प्रश्न गर्न सक्ने नागरिक राष्ट्रको आवश्यकता हो । बाँकी राष्ट्रिय झण्डा, राष्ट्रिय पोशाक, राष्ट्रिय गीत, राष्ट्रिय चरा, राष्ट्रिय जनावर– सबैप्रति सम्मान छ, तर सँगसँगै यो बुझ्न पनि पछि पर्नु हुँदैन । यी सबै तपसिल हुन् । जनताको खुसहालीको मुद्दा, अनि त्यसको कार्यान्वयन गर्ने इच्छाशक्ति मुख्य सरोकार हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १६:०४