कुवेत सरकारले दुई वर्षपछि विदेशी नागरिकका हकमा ‘फ्यामिली भिजिट भिसा’ यही सातादेखि खुलाउने भएको छ । कोरोना महामारीका कारण आप्रवासीहरूलाई पारिवारिक अर्थात् फ्यामिली भिजिट भिसा दिने कार्यमा कुवेतको अध्यागमनले रोक लगाएको थियो ।
इदभन्दा पहिले बसेको कुवेतको मन्त्रीस्तरीय बैठकले कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू हटाएसँगै भिजिट भिसा जारी गर्ने र पारिवारिक भिसासमेत खुला गरेको कुवेती आवास मामिला विभागको निर्णयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।
फ्यामिली भिजिट भिसाका लागि कुवेत सरकारले तोकेको तलब, सुरक्षा व्यवस्था, राष्ट्रियतालगायत पहिलेकै मापदण्ड यथावत् रहने जनाइएको छ ।
टाइम्सका अनुसार कुवेत सरकारले इराक, पाकिस्तान, सिरिया, यमन इरान, अफगानिस्तान र उत्तर कोरियालाई अझै पनि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
यस्तै, कुवेतका आन्तरिक मन्त्रीको स्वीकृतिबिना केही अन्य राष्ट्रियताहरूले पनि व्यावसायिक, वर्किङ वा डिपेन्डेन्ट भिसा प्राप्त गर्न नसक्ने पनि कुवेत टाइम्समा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १४:१६