०७४ को स्थानीय तहको चुनावमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच जितपुर-सिमरा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा थियो ।
त्रिपक्षीय प्रतिस्पर्धा हुँदा जितपुर-सिमरा उपमहानगरपालिकामा एमाले डा. कृष्ण पौडेल मेयर र सरस्वती चौधरी उपमेयरमा निर्वाचित भएका थिए । तर, यसपटक ३० वैशाखमा हुने चुनाव एमाले र गठबन्धनबीच दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ । जितपुर-सिमरामा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँग कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमालेसँग भिड्दै छन् ।
गठबन्धनमा भागबण्डा नमिलेपछि जसपाले विज्ञप्ति नै जारी गरेर गठबन्धनका मेयर र उपमेयरलाई बोकोर हिँड्न नसक्ने जनाइसकेको छ । जसपाले मेयर र उपमेयरमा उम्मेदवारी नदिए पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको भागबण्डामा जितपुर-सिमराको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसको भागमा परेको थियो । माओवादीबाट मेयरमा राजन पौडेल र कांग्रेसबाट उपमेयरमा मेघा शाही छन् । पौडेल गत निर्वाचनमा माओवादीबाट मेयरका उम्मेदवार थिए ।
निवर्तमान उपमेयर चौधरीलाई एमालेले मेयर पदमा उठाएको छ । मेयरमा एमालेबाट १० जना आकांक्षी भए पनि पार्टीले थारु समुदायकी चौधरीलाई नै मेयरको टिकट दिएको हो । शिक्षण पेसा छोडेर गत निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी चौधरी गठबन्धनका लागि टाउको दुखाइ बनिरहेको छ । उपमेयर भएर नगरवासीबीच परिचित बनिसकेकी उनलाई हराउन गठबन्धनलाई सहज नहुने आकलन छ ।
तर, गत निर्वाचनमा प्राप्त मत परिणामलाई आधार मान्दा जितपुर-सिमराको पहिलो शक्तिका रूपमा रहेको कांग्रेस र दोस्रो शक्तिको माओवादीलाई हराउन चौधरीलाई पनि सहज भने छैन । गत निर्वाचनमा जितपुर-सिमराको कुल मतदाता ५६ हजार ६ सय ६० थिए । पहिला पाएको मतका आधारमा हाल गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत जोड्दा २३ हजार ३ सय ४ मत हुन आउँछ । पुरानो आकलन अनुसार एमालेको भन्दा गठबन्धनको मत ८ हजार ४ सय ३९ ले बढी छ । यस पटक बढेर ७० हजार ६४ मतदाता पुगेका छन् ।
गत निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारलाई प्राप्त मत जोड्दा १४ हजार १३ हुन आउँछ । गठबन्धनमा रहेका दलको वडाध्यक्षका उम्मेदवारहरूसँग २२ हजार ४ सय ७३ मत रहेको थियो । वडामा जोड्दा पनि एमालेको भन्दा गठबन्धनको मत ८ हजार ४ सय ६० ले बढी हुन आएको छ । जितपुर-सिमराको ३४ सदस्यीय कार्यपालिकामा पनि माओवादीको बाक्लो उपस्थिति छ । कार्यपालिकामा १४ सिटसहित माओवादी पहिलो, १३ सिटसहित एमाले दोस्रो, ५ सिटसहित कांग्रेस तेस्रो र २ सिटसहित तत्कालीन राजपा र हालको लोसपा चौथो शक्तिका रूपमा छन् । कार्यपालिकामा जसपा शून्य छ ।
एमालेबाट मेयर उम्मेदवार चौधरीले आफ्नो जित सुनिश्चित भएको बताइन् । उनले पहिला पनि एमालेले जितेको र आफूले उपमेयर भई पाँच वर्षसम्म गरेको कामकै आधारमा जित निश्चित भएको दाबी गरिन् । एमालेले जितपुर-सिमराको समग्र विकासको खाका जनतामाझ लगेको र नगरवासीलाई विश्वास पनि गरेको उनको भनाइ छ ।
माओवादी केन्द्रका मेयर उम्मेदवार पौडेलले गठबन्धनले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । गत निर्वाचनमा पराजित भएपछि मसिनो ढंगले समुदायको विकासमा प्रत्यक्ष लागेकाले पनि नगरवासीले आफूलाई जिताउनेमा उनी विश्वस्त छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जितपुर-सिमरामा एमालेका उम्मेदवार डा. कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णवर्त सिंहले १२ हजार ४३ मत पाएका थिए । माओवादीका पौडेलले ११ हजार २ सय ५१ मत ल्याएका थिए । प्रमुखमा पराजित भए पनि १० वटा वडा माओवादी र एमालेले ६ वटा वडा जितेको थियो ।
आगामी निर्वाचनमा भने जितपुर-सिमराको २४ वटै वडामा गठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका कांग्रेस, माओवादी, लोसपाले वडामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । जसपाले पनि उम्मेदवारी दिएको छ । वडामा भागबण्डा नमिल्दा तालमेल गर्न नसकेपछि गठबन्धनका दलहरू छुट्टाछुटै उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा होमिएका हुन् ।
वडामा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रले उपमहानगरपालिकाको १७ वटा वडामा, कांग्रेसले २२ वटा वडामा, एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले १० र राष्ट्रिय जनमोर्चाले तीन वडामा उम्मेदवार खडा गरेको छ ।
मधेसको नगरमा एक मात्र महिला मेयर उम्मेदवार चौधरी को हुन् ?
पार्टीभित्र चौधरीको सांगठनिक कुशलताबारे चर्चा हुने गरेको छ । थारु समुदायबाट उदाएकी चौधरीले गत स्थानीय चुनावमा शिक्षण पेसा छोडेर एकाएक राजनीतिमा होमिएकी थिइन् ।
मिजासिलो स्वभावकै कारण जनता माझ रुचाइएकी उनीलाई पार्टीले दर्जनौँ आकांक्षीबाट छानेर मेयरमा विश्वास गर्यो । एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरी स्पष्ट अडान लिन सक्ने क्षमता भएकी नेतृका रूपमा परिचित छिन् । उनले सुरुवातमा सानो कोठाबाट चलाएको न्यायिक समितिलाई व्यवस्थित बनाएपछि चर्चामा आएकी थिइन् ।
न्यायिक समितिले आफूलाई नगरवासीसँग प्रत्यक्ष सम्पर्क हुने अवसर दिएको चौधरी बताउँछिन् । न्यायिक समितिमा रहेर पाँच वर्षको कार्यसम्पादनमा कुनै विवाद खेप्नु नपरेको उनको भनाइ छ ।
को हुन् पौडेल ?
उनी २०५७ सालमा अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएका थिए । पौडेललाई जितपुर-सिमरामा स्वच्छ छवि भएका युवा नेताका रूपमा लिइन्छ । अखिल क्रान्तिकारीबाट काठमाडौं क्याम्पसको स्ववियु सदस्य जितेका पौडेल जनयुद्धमा पनि सहभागी भए । पौडेल २०५८ मा १३ महिना जेल परेका थिए । उनी फेरि २०६० साल माघमा गिरफ्तारीमा परे । पौडेल १० जेठ २०६३ मा रिहा भएका थिए । माओवादी र सरकार पक्षबीच विस्तृत शान्ति सम्झौतापछि पौडेलले बारामै राजनीतिलाई सक्रिय बनाएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १६:५४