हेटौँडा उपमहानगरपालिकाको मेयरमा आज मनोनयन गर्ने अन्तिम दिन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिहान छलफलमै थियो ।
राप्रपा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारी पनि मेयरमा उम्मेदवारी दिने तयारीसहित बसेका थिए । अधिकारीले यसअघि नै मेयरमा उठ्ने आकांक्षा पनि राखेका हुन् । ‘म मेयरमा उम्मेदवारी दिने तयारीमा थिएँ । घरबाट निस्किन लाग्दा अच्चमको खबर आयो,’ अधिकारीले शिलापत्रसँग भने, ‘मैले सोचेकै थिइन यस्तो हुन्छ भनेर । अब के गर्ने भनेर छलफलमा छु ।’
राप्रपा पूर्वकेन्द्रीय सदस्य दीपक सिंहले उनीभन्दा पहिल्यै मेयरमा उम्मेदवारी दिएपछि अधिकारी छाँगाबाट खसे जस्तै बने । ‘दीपक सिंहज्यूले पो मभन्दा अगाडि मनोनय दर्ता गराउनुभएछ । म छाँगाबाट खसे जस्तै भएँ । म त निर्वाचन कार्यालय जानबाट रोकिएँ,’ उनले सुनाए ।
अधिकारी गत ०७४ को स्थानीय तह चुनावमा मेयरमा पराजित भएका थिए । उनी शाही कालमा हेटौँडाको ९ महिने मेयर बनेका थिए ।
रोचक त राप्रपाले अधिकारी र सिंहलाई नै मेयरमा उम्मेदवारी दर्ताका लागि सिफारिस दिएको खुलेको छ, त्यो पनि एउटै पदाधिकारीको हस्ताक्षरमा । राप्रपाका उपाध्यक्ष हेमराज गुरुङको हस्ताक्षरमा अधिकारी र सिंहलाई सिफारिस पत्र दिएको पाइएको छ ।
मधु अधिकारीअधिकारीले उपाध्यक्ष गुरुङको हस्ताक्षर भएको सिफारिसपत्र आफूसँग भएको बताए । ‘पार्टीको सिफारिसपत्र मसँग थियो । तर, उहाँले पहिल्यै कसरी दर्ता गर्नुभयो म अचम्ममा छु,’ उनले भने ।
सिंहले आफूसँग पनि पार्टीको सिफारिसपत्र भएको शिलापत्रलाई जानकारी दिए । ‘मसँग सिफारिसपत्र नभएको भए कसरी पार्टीबाट उम्मेदार बन्थेँ त ? पार्टीभित्र सबै जनाले मलाई रोज्नुभयो । म निर्वाचन कार्यालय आएर उम्मेदवारी दर्ता गराएँ,’ सिंहले भने ।
उनले आफूलाई राप्रपा मात्र नभई सबै पार्टीले मेयरमा सिफारिस गरेको ठट्टा गरे । ‘मलाई राप्रपाले मात्र हैन नी सबै पार्टीले सिफारिस गरेका छन् । तपाईं जहिल्यै उठेर हार्नुभएको यसपाली मेयर जित्नुपर्छ भनेर सिफारिस गरेका छन्,’ सिंहले भने ।
सिंह तत्कालीन हेटौँडा नगरपालिकाको मेयरमा डोरमणि पौडेलसँग पराजित भएका व्यक्ति हुन् । स्थानीय तहमा पराजित भएपछि उनी त्यतिबेला प्रतिनिधिसभा निर्वाचन लडेका थिए । बहुदल स्थापनापछि प्रतिनिधिसभामा विरोध खतिवडासँग निर्वाचन लडेका सिंह पुनः पराजित हुन पुगे । ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि उनी एमालेका अनन्त पौडेलसँग पराजित भएका थिए । उनै पौडेल हाल एमालेबाट हेटौँडाका मेयरका उम्मेदवार छन् ।
‘म डोरमणिज्यूसँग पहिल्यै हारेको, विरोध खतिवडा र अनन्त पौडेलसँग पनि हारेँ । तपाईं अब नहार्ने गरी मेयर लड्नुस् भनेर कार्यकर्ताले समर्थन गरे । पार्टीले सिफारिस दियो, मैले उम्मेदवारी दिएँ । पार्टीभित्र विवाद भएको मलाई थाहा छैन्,’ शिलापत्रसँग सिंहले भने ।
सिंहको सिफारिसपत्रमा पनि उपाध्यक्ष गुरुङको हस्ताक्षर रहेको राप्रपा मकवानपुरकी महिला उपाध्यक्ष तथा हेटौँडाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले जानकारी दिइन् । न्यौपाने गत चुनावमा पनि उपमेयरको उम्मेदवार थिइन् ।
राप्रपाबाट उपमेयरमा उर्मिला लामालाई उठाउने तयारी अधिकारीको थियो । उनले उपमेयरमा लामाले पनि उम्मेदवारी दिन नपाएको जानकारी दिए । तर, लामाले आफूलाई समर्थन गरेपछि उपमेयरमा उम्मेदवारी दिएको न्यौपाने बताउँछिन् । उनले पार्टीका कार्यकर्ताले सिंहलाई मेयरमा रोजेको बताइन् ।
‘वास्तवमा भन्ने हो भने, मधु दाइ र दीपक दाइको नाम मेयरमा थिएन । पहिला मेयरमा नवराज विष्टको नाम थियो । उहाँलाई केही नेताहरूले चलखेल गरेर मेयरमा उठ्न दिएनन् । त्यसपछि सबैले विष्ट नभएपछि दीपक दाइ नै मेयर हुनुपर्छ भनेर आवाज उठाएका हुन्,’ न्यौपानेले भनिन् ।
जनमतका आधारमा उम्मेदवारको हार-जितको परिणाम निस्किए जस्तै पार्टी भित्र पनि सिंहको माग गर्ने मत धेरै भएको र मेयरमा उम्मेदवारी दर्ता भएको न्यौपानेको भनाइ छ । पार्टीकी महिला उपाध्यक्ष न्यौपानेले मेयरमा उम्मेदवारी दिन नपाएका अधिकारीलाई इच्छा जाहेर गरेको खण्डमा आगामी प्रतिनिधिसभा निर्वाचनमा अगाडि बढाउने जानकारी दिइन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ २१:०८