चितनवको भरतपुर महानगरको मेयर माओवादीलाई दिने गठबन्धनले निर्णय गरेपछि असन्तुष्ट बनेका कार्यकर्ताले कांग्रेसको तर्फबाट मेयरमा पूर्वसांसद जगन्नाथ पौडेललाई उठाउने घोषणा गरेका छन् ।
आइतबार कांग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समूहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधिसमेत रहेकी नेता मिना खरेलले पूर्वसांसद पौडेललाई उम्मेदवार उठाउने प्रस्ताव गरेकी हुन् । खरेलले गरेको प्रस्तावलाई उपस्थित भेलाले ताली बजाएर सर्वसम्मत गरेको थियो । उक्त भेलामा बोल्दै कांग्रेसका संस्थापक सभापति कृष्ण सापकोटाले यो लडाइँ पार्टीविरुद्ध नभई पार्टी एकताका लागि कांग्रेसले उम्मेदवार उठाएको बताए ।
मेयरमा उम्मेदवारी प्रस्ताव गरिएपछि भेलामा बोल्दै पौडेलले मुलुक भ्रष्टाचारले सकिएको बताए । अहिले कांग्रेस बचाउन आफूहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताए । सम्बोधन गर्दै उनले भने, ‘सतिसाल भएर उभिएको छु । म मासिऊँला तर बिक्तिनँ । म कहिल्यै मैदान छोडौँला तर कुनै भष्टाचारीलाई ठाउँ छोड्दिनँ ।’
भेलामा बोल्दै कांग्रेसकी नेतृ मिना खरेलले गठबन्धनलाई विचलित गराउने नभई पार्टीको आस्था सिद्धान्तअनुसार यो खालको कदम उठाउन बाध्य भएको बताइन् । कांग्रेसले कांग्रेसकै चिह्न मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘कांग्रेसको चुनाव चिह्न रुख लिएर जो मैदानमा उत्रन्छ, उसैलाई यो त्यो नभनी मत हाल्नेछु । यदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारबाही गरे पनि म भोग्न तयार छु ।’
भेलामा बोल्दै तरुण दल जिल्लाका संस्थापक अध्यक्ष शम्भु अर्यालले अहिले भइरहेको निर्णयलाई विद्रोहको रुपमा नलिन आग्रह गरे ।
उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सो समूहले दिनको १ बजे भरतपुरको चौबीस कोठीमा भेला भई निर्वाचन अधिकृतको कार्यालय जाने निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १६:०६