उपन्यासहरूलाई रंगमञ्चले बोलाइरहेछ । थिएटर मल कीर्तिपुर र पोखरामा केदार श्रेष्ठले पारिजातको उपन्यास शिरीषको फूल देखाइनसक्दै कौसी थिएटर टेकुमा नयनराज पाण्डेको उपन्यास उलार सुरु भयो । यसलाई चे शंकरले निर्देशन गरेका हुन् ।
यसै मेहरोमा आइपुगेको छ पल्पसा क्याफे ।
१७ वर्षअघि छापिएको पल्पसा क्याफे उपन्यास सम्झिँदा अग्ला कफीगफी नारायण वाग्लेको विम्ब आउँछ । मण्डला थिएटरमा थिएटर भिलेजले प्रदर्शन थालेको पल्पसा क्याफे नाटक सम्झिँदा दर्शकले दुई सुवेदीलाई सम्झनुपर्नेछ । एक सुवेदी मञ्चमा देखिन्छन्, अर्का नेपथ्यमा ।

उम्दा नाट्यकर्मी विमल सुवेदी निर्देशित, अनि मूलपात्र दृश्यका रुपमा अभिनित पल्पसा क्याफे नाटकलाई उपन्यासबाट नाट्य रुपान्तरण गरेका हुन् सुरज सुवेदीले । नाटकभरि उपन्यासको झल्को आइरहन्छ । तर, नयाँ पटकथामा उनिएका दृश्य र संवादहरूले नयाँ स्वाद दिन्छन् ।
श्रवण मुकारुङको 'ल्याम्पपोस्टमुनि आगो तापिरहेछन् नानीहरू' गीत, कविताबाट सुरु नाटकमा यस्ता धेरै चीज छन्, जो उपन्यासमा थिएनन् । केटाकेटीहरू रुमाल लुकाई खेलेझैँ बमबारुद खेलाइरहेका छन् । दर्शकको मन भरंग पार्नेगरी थाल फालिरहेका छन् छापामारहरू, जसले युद्धको विभीषिकालाई सांकेतिक रूपमा सशक्त ढंगले पस्केको छ । बन्दुक हानेको दृश्य नदेखाई युद्धको कथा भन्न सक्नु निकै प्रभावशाली पक्ष हो, नाटकको ।

मूलपात्र दृश्य कलापारखी भिडियोग्राफर, वृत्तचित्र निर्माणकर्ता पल्पसालाई क्यानभासमा लियोनार्दो दा भिन्चीको मोनालिसाझैं मुस्काइरहेकी बनाउन चाहन्छ । पल्पसा भने लियोनार्दो डि क्याप्रियो अभिनित टाइटानिककी केट विन्सलेटचैं न्युड पोज दिन उत्सुक छे । खासमा एउटा कलाकार र पारखी आपसमा जिस्किँदै गर्दा अकस्मात् सिर्जना भएको नग्नताको परिवेश थियो त्यो, जसमा दर्शकले स्वभाविकताको अनुभूत गर्न पाउँछ । नाटकमा नायिका नांगिएको हेर्ने बानी नपरेको नेपाली रंग–दर्शकलाई पच्ने रचनात्मक उपाय खोज्न कुनै कसर बाँकी राखिएको छैन । यो नग्नता उसको परिचय हो, स्वखोजको उत्कन्ठा पनि ।


तर, जुन रातो कपडामा उसलाई पोज दिलाउन दृश्यले योजना बनाउँछ, त्यहाँ कला होइन, क्रान्ति पो बिछिएको छ । अनि त्यो ‘रातो’ अन्तैबाट अपहरित छ । पल्पसाले लगाएका लुगाहरू कतै लगिन्छन् । जुन रातो कपडामा उसका लुगाहरू राखिन्छन्, त्यो रातो नै गायब पारिन्छ । सुरुमा रातो धागो कातिरहेकी हजुरआमालाई अन्तिममा सेतो धागो कात्नुपर्ने छ । स्कुल गइरहेका नानीहरू युद्धको पाठ्यक्रममा अभ्यस्त हुनुपर्ने छ । अनि कडा–कडा तर्क गरेर दृश्यलाई हैरान खेलाउने योद्धा सिद्धार्थले शालिकमा चढ्नुपर्ने छ । नीति, नियत र नियतिकाे त्रिवेणी हाे पल्पसा क्याफे । रंग, कुची बोकेको दृश्य चित्रकारिता गरिरहेको कलाकार होइन, कम्ब्याट पाेशाक थमाइएको कुनै लडाकुजस्तो देखिन्छ । गाउँमा माओवादीले घरैमा आएर स्कुले बालिकालाई युद्धमा बालसैनिकका रूपमा सामेल गराउँछ । मगर भाषामा उसको बुवा (बच्चु हिमांशु) ले बिलौना गरेको दृश्यले भावुक बनाउँछ ।

यी यावत् दृश्य हेर्न उपन्यास पढेर अब पुग्दैन । हलमा नाटक लागिसकेको छ । मगराँत गण्डकीतिरको कथानकलाई पूर्वेली सुरज सुवेदीले नाटकमा व्यक्त गर्न कुनै कैफियत छाडेका छैनन् । कृष्णभुषण बलले लेखेको ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन’, सुरज आफैंले लेखेको ‘एउटा सिंगो मान्छे त्यसै कहाँ हराउँछ’ जस्ता शक्तिशाली कविताहरू नाटकमा प्रयुक्त छन् । त्यसैले अब पल्पसा क्याफेमा उपन्यास खोजेर कहाँ पाइन्छ !

पक्कै लामो छ नाटक । दुई घन्टाभन्दा लामो नाटकले बीचबीचमा दर्शकको ध्यान तरंगित गरिदिएजस्तो अनुभूति पनि हुन्छ । गोवाका समुद्री किनारामा रुमानी गफ गरिराख्ने पात्रहरूलाई भयानक युद्धको दावानलमा एकैछिनमा ल्याइपुर्याउँदा दर्शकहरूलाई मानसिक रुपमा तयार हुन समय लाग्छ । देउता, रहरजस्ता सिनेमामा गाइसकिएका गीतहरूलाई नाटकमा लम्ब्याउँदा भन्न खोजिएको कथा अल्मलिएजस्तो लाग्छ । रंग संयोजनमा सक्दो मेहनत छ, तर ध्वनिमा सन्तुलन मिलाइएको छैन । दुई–चार शो रिहर्सल अझै गरेको भए बेस हुन्थ्यो कि ?

पल्पसा क्याफेको पहिलो शो हेर्न उपन्यासकार वाग्ले अनुपस्थित थिए । के किनारामा बसेर तटस्थताको वकालत गर्ने दृश्य यी चरम अन्याय र बेथिति देखेर स्वयं आन्दोलनमा होमिइसक्यो ? वाग्लेले ०६१ सालमा नलेखेर ०७८ सालमा पल्पसा क्याफे लेख्दा हुन् त यसको पटकथा कस्तो बन्थ्यो होला ? उपन्यासकार वाग्लेको काल्पनिक मानसकी पात्र पल्पसालाई सृष्टि श्रेष्ठले न्याय गर्न सकेकी छन् । अमेरिकामा पढेबढेकी काठमाडौंकी केटीको भूमिकामा उनी परिपक्व लाग्छिन् । संयोग मानौं, भर्खरै चिसो एस्ट्रे सिनेमामा उनको भूमिका चित्रकला मन पराउने क्युरेटर केटीको थियो । पल्पसा पनि चित्रकारिताकी पक्का प्रेमिका, वृत्तचित्र बनाउन लालायित ।

नाटक सुरु हुनुअघि सिनेमा निर्देशक नवीन सुब्बाको टिप्पणी मन्डला थिएटर बाहिर सुनिएको थियो : 'पछिल्लो नेपाली रंगकर्मका तीन समय छन् । सुनिल पोखरेलको समय, अनुप बरालको समय, विमल सुवेदीको समय ।' संयोगवश तीनैजना रंगकर्मी नेशनल स्कुल अफ ड्रामा नयाँदिल्लीका उत्पादन हुन् । नेपाल फर्केपछि विमलले थिएटर भिलेजमार्फत् बनाएका सबैजसो नाटकको खुलेर तारिफ गरियो । आम दर्शकबीच उनको खोजी गराउन पल्पसा क्याफे सफल छ, किनभने यसपल्ट उनी आफैं मुख्य कलाकारका रुपमा प्रस्तुत छन् । संगीता थापा, दिपेश राइकाे अभिनयकाे तारिफ नगरी काेही बस्न सक्दैन ।

नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे नेपालयबाट छापिएको थियो, जसलाई अंग्रेजी, हिन्दी, कोरियन, फ्रेन्च, सिंहलालगायत भाषाहरूमा अनुवाद गरिसकिएको छ । पछिल्लो दुई दशकयता नेपाली लेखकले लेखेका उपन्यासमध्ये सम्भवतः सबैभन्दा बढी पाठक पाउने भाग्यमानी उपन्यास यही हो । यसको रंगयात्रामा विमल सुवेदी भेटिनु सानोतिनो घटनै हो ।
एउटा सिंगो मान्छे त्यसै कहाँ हराउँछ?
उ हराउन अरू धेरै मान्छे चुप बस्नुपर्छ
अरू धेरै चिज चुप बस्नुपर्छ
हराउँदै गरेको उसलाई
कसैले न कसैले त देखेको होला
कसै न कसैले त सुनेको होला
कुनै बेला फुत्त बोली चिप्ल्याएरै भए पनि
यस्तो भएको थियो भनेर बोलिदिए भने त . . .
हराएका सबै चिज भेटिन्छन्
एउटा सिंगो मान्छे हराउन
जति मान्छे चुप बसे पनि
एउटा सिंगो मान्छे भेटिन
कोही एकजना चुप नबसिदिए हुन्छ
त्यस्तो कोही एक जना त होला
जसले जीन्दगीभर मैले सुन्न चाहेको सत्य
जीन्दगीभर आफूले बोल्न चाहेको सत्य बनाएर बसिरहेको होस्
– सुरज सुवेदी
तस्बिरहरूः सिमाेन पाैडेल


प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ २२:१५