नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरका लागि खेलराज पाण्डेको एकल नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको नगर समितिको बैठकले बुटवल उपमहानगरको मेयरका लागि कांग्रेस नगर समिति सभापतिसमेत रहेका पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको नगर सचिव छाया पोखरेलले जानकारी दिए । पाण्डे अघिल्लो स्थानीय तहको चुनावमा पनि कांग्रेसबाट मेयरमा लडेका थिए । तर, उनी एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।
कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गर्दा मेयरमा विजयी एमालेका सुवेदीले २३ हजार २ सय ४९ मत पाएका थिए । अघिल्लो पटक बुटवल उपमहानगरमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
बुटवल उपमहानगरको मेयरका लागि रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्साल पनि आकांक्षी थिए । बैठकले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस गरेको छ । बुटवल उपमहानगरमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ ।
कांग्रेसले मेयर पाए उपमेयर माओवादी केन्द्रले पाउने लगभग निश्चित छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १३:२८