वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ देखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ ।
संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनिहरूका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।
कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिदैं आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक १ हजार भन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै सेवा लिँदै आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा सेवाप्रवाह गर्न यस्तो व्यवस्था मिलाइएको बताए ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशन अनुसार पुनः श्रम स्वीकृति सँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ ।
कागजातहरू जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले तीन दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८ २१:०७