यो वर्ष सुरुको महिनादेखि अन्त्यसम्म गायक प्रकाश सपुत चर्चामै रहे । युट्युबबाट सार्वजनिक गीत ‘मेरो पनि होइन र यो देश’ गीत चर्चाको कारण थियाे । राज्यको आँखामा नपरेका ‘अ’नागरिकहरूको कथामा आधारित रहेर उनले यो गीत बनाएका थिए ।
तीजको समयमा नारी सार्वजनिक गीत ‘कुरा बुझ्नुपर्छ’ गीतले वर्षभरि बजार पिट्याे । यो गीतले महिला सशक्तीकरणको मुद्दा उठाएको थियो ।
वर्षभरि रिलिज भएका गीति भिडियोमध्ये सबैभन्दा बढी चर्चा कमाउने गीत भने प्रकाश सपुतकै ‘पिर’ रह्यो । फागुनमा उनकै युट्युब च्यानलबाट रिलिज भएको गीतले ‘माओवादी जनयुद्ध’माथि प्रश्न छेडेको थियो ।
गीतको भिडियोमा पूर्वमाओवादी लडाकु देहव्यापारमा लाग्न बाध्य भएको एउटा दृश्य थियो ।
त्याे दृश्यमाथि आपत्ति जनाएर माओवादी नेता तथा कार्यकर्ता उनीमाथि खनिए । त्यसपछि यो गीतबारे विवाद चुलियाे । सपुतले पछि देहव्यापार गरेकाे सिन हटाएर म्युजिक भिडियाे अपलाेड गरेका थिए । वर्षभरि सिर्जनात्मक गतिविधि र विवादका कारण प्रकाश सपुत समाचारको ‘कन्टेन्ट’ बनिरहे ।
०००
सपुत छोटो अवधिमै साङ्गीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति निभाउने सर्जक हुन् । उनले यसबाट नाम मात्र हाेइन, दाम पनि राम्रै कमाए ।
चार वर्षअघि दोहोरी ब्याटलबाट चिनिएका सपुतले 'बोलमाया', 'गलबन्दी'बाट लोकसंगीतमा हस्तक्षेप जनाए । 'बदला बरी लै' पनि लोकप्रिय गीतमध्येमा पर्छ उनको ।
सङ्गीत क्षेत्रमा अहिले लोकप्रियताको शिखरमा रहेका सपुतको जीवनसंघर्ष भने कम दु:खदायी छैन । कुनै बेला अभावमा जीवन बिताएका सपुतले अहिले काठमाडौंमा घर जोडिसकेका छन् ।
प्रकाश सपुतको जन्म बाग्लुङ जिल्लाको धम्जामा २०४७ सालमा भएको हो । कामको सिलसिलामा बुबाआमा भारतमा भएकाले उनको बाल्यकालको केही समय भारतमै बित्यो । त्यसपछि उनी बुटवलस्थित मामाघरमा बसे । उनले कक्षा २ सम्म मामाघरमै बसेर पढे ।
उनको बाल्यकाल सामान्य थियाे । बुबाको जागिर थिएन । पुर्ख्यौली सम्पत्ति पनि थिएन । त्यसैले कमाउनका लागि बुबा भारत गइरहन्थे ।
उनको बाल्यकाल अभाव र कठिनाइमै बित्यो । कमजोर आर्थिक अवस्था थियो परिवारको । सीमान्त गरिबीको रेखामुनि रहेर निम्नमध्यम वर्गीय परिवारको जीवन बाँचे उनले बाल्यकालमा । भारतमा गएर बुबाले कमाउने भएकाले खान-लगाउनको उतिसारो समस्या नभए पनि बाल्यकालका रहरहरू पूरा गर्न सकिने अवस्था भने थिएन ।
उनी बसेको समाज दलित र गैरदलित समुदायको मिश्रित समाज थियो । समाजमा सहयोग र सद्भावको अवस्था राम्रै थियो तर जातीय विभेद भने सधैँ खट्किइरहन्थ्यो ।
सपुत भन्छन्, ‘गैरदलितहरूले सहानूभूति राख्थे । परेका बेला सहयोग पनि गर्थे तर खाना दिँदा बाहिर राख्ने चलन थियो । सँगै खेलेर आएका साथीहरू भित्र बसेर खाना खान्थे भने आफूले बाहिर बसेर खानुपर्थ्यो’, उनी थप्छन्, ‘माया पनि गर्थे र विभेद पनि ।’
सङ्गीतकै माध्यमबाट अहिले चर्चाको शिखरमा रहे पनि सपुतले सङ्गीतको औपचारिक ज्ञान भने कतैबाट लिएनन् । सायद उनलाई उनी हुर्केको माटोले सङ्गीत सिकायो । उनी हिँडेको बाटोले सङ्गीत सिकायो ।
उनका हजुरबुबा भजन गाउँथे । बुबा मारुनीमा नाच्ने र गाउने गर्थिन् । उनमा सङ्गीतको नशा त्यहीँबाट जाग्यो सायद । भन्छन्, ‘घरपरिवारबाटै सङ्गीतको प्रभाव ग्रहण गरेँ र त्यही बेलादेखि नै नजानिँदो किसिमले यसको सङ्गत भयो ।’
कक्षा ८ मा पढ्दा उनले ठूलो कार्यक्रममा आमासम्बन्धी गीत गाए । त्यसमा विजेता पनि बने । त्यसपछि उनमा हौसला र आत्मविश्वास थप प्रगाढ भएर गयो ।
काठमाडौं आएपछि लोकदोहोरी प्रतियोगितामा सहभागी हुन थाले । यो समयमा उनलाई नामभन्दा पनि दामको खाँचो थियो । घरमा अलिअलि पैसा पठाउन थाले, जसबाट परिवारको आवश्यकता टार्न सकिन्थ्यो ।
करिब चार वर्ष ठमेलको गामबेँसी दोहोरी साँझमा गीत गाएर बिताए । दोहोरी साँझमा काम गर्न थालेपछि उनको आर्थिक समस्या पनि समाधान हुँदै गयो । सङ्गीतक्षेत्रका व्यक्तिहरूसित चिनजान पनि बढ्दै गयो ।
जीवन निर्वाहका लागि प्रकाश सपुतले होटल र फर्निचरमा काम गरे । त्यस्तै, धौलागिरि एफएमलगायत अन्य क्षेत्रमा समेत काम गरे । अभाव नटरेपछि विदेश जान खोजे । तर, सपना पूरा गर्ने हुटहुटीले विदेशका लागि उठिसकेका पाइलालाई एकाएक रोक्यो ।
त्यसपछि उनले आफ्नै देशमा रहेर सङ्घर्ष गर्ने निधो गरे ।
‘मुसुमुसु नहाँस’ उनको पहिलो एल्बम थियो । तर, प्रारम्भिक चरणका कामहरूमा खासै सफलता हात लागेन उनलाई ।
‘माकुरामा कुर घुर’ बोलको गीतबाट सबैको नजरमा पर्नुअघि उनले विभिन्न भूमिकामा करिब दुई सयवटा भिडियोमा काम गरिसकेका थिए ।
‘बोल माया’ले त उनलाई चर्चाको शिखरमै पुर्यायो । त्यसपछिका हरेक प्रोजेक्ट सफल हुँदै गए । यो मोडपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
यति मात्र होइन, त्यसपछिका उनका हरेक सिर्जनाहरूले युट्युबका ट्रेन्डिङमा आधिपत्य कायम गर्न सफल भए ।
सपुतको चर्चित गीत ‘गलबन्दी’को भाका शम्भु राईको गीतसँग मिलेको आरोप लाग्यो । विवाद चर्किएपछि अन्त्यमा सर्जकमा राईको नाम राखेर सम्झौतासमेत गर्नुपरेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८ १२:५७