केही समयअघिसम्म सुर्खेतको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल दैनिकजस्तो सिंहदरबार धाइरहेका भेटिन्थे ।
नमुना विद्यालय कसरी बनाउने भनेर छलफल गर्न शिक्षा मन्त्रालयले उनलाई सुर्खेतबाट काठमाडौं झिकायो । उनको विद्यालयमा कार्यान्वयन भइसकेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट प्रभावित भएर सरकारले छलफलका लागि उनलाई काठमाडौं बोलाएको थियो ।
सिग्देलले सुरु गरेको उक्त कार्यक्रम अब देशभरका १ सय ४० वटा विद्यालयमा पुग्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रहेको उक्त कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरू छनोट गरेको हो ।
केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार ‘पढ्दै कमाउँदै’मा ७० जिल्लाका ५ सय १६ विद्यालयले आवेदन दिएका थिए । ‘त्यसमध्येबाट ८ चैत २०७८ मा बसेको केन्द्रीय निर्देशक समितिको बैठकले विद्यालयहरू छनोट गर्यो । अब ती विद्यालयहरूमा यो कार्यक्रम कार्यान्वयनको चरणमा जान्छ,’ उनले शिलापत्रसँग भने ।
यसरी सुरु भएको थियो ‘पढ्दै कमाउँदै’ कार्यक्रम
देशमा विद्यमान बेरोजगारी । रोजगारकै खोजीमा विदेशिएका युवा । घोकन्ते शिक्षा । यस्तो कुराले आजित थिए, शिक्षक नारायण सिग्देल । यसको समग्र सुधारका लागि शिक्षा प्रणाली नै सुधार्नुपर्छ भन्ने उनलाई लाग्यो । आफ्ना विद्यार्थी बजारमा नबिक्नुको कारण खोज्न थाले ।
परिवर्तनका लागि आफ्नै विद्यालयबाट सुरुवात गर्नुपर्छ भन्ने उनलाई लाग्यो । जनज्योति माविबाटै शिक्षण सिकाइको तरिका बदल्नुपर्छ भनेर खाका कोरे । र, करिब आठ वर्षअघि जनज्योति माविबाट सुरु भयो, पढ्दै कमाउँदै कार्यक्रम । आफू प्रधानाध्यापक भएपछि यसलाई उनले प्राथमिकतामा राखेर काम गरे ।
नारायण सिग्देलसुरुवाती चरणमा विद्यालयले जनज्योति व्यावसायिक क्लब गठन गर्यो । सोही क्लबमा आबद्ध गराउँदै विद्यार्थीलाई चकटी बुन्ने, नाम्लो बुन्ने, कुचो बुन्नेजस्ता काम सिकाउन थाल्यो । अघिल्लो पुस्ताबाट जानेको कुरा विद्यार्थीलाई सिकाइयो । गाउँमा त्यस्तो जनशक्ति नभएको स्थितिमा बाहिरबाटै प्रशिक्षक ल्याएर विद्यार्थीलाई सिकाउन थालियो ।
विद्यार्थीले पनि कक्षामा पढ्दै प्रयोगात्मक कक्षाबाट प्राविधिक कुरा सिक्दै गर्न थाले । पढ्दै पनि कमाउन सकिन्छ भनेर विद्यार्थीमा पनि छाप बस्यो । ‘सानोमा तपाईं पढ्दै कमाउँदै गर्नुस्, जसले ठूलो भएपछि कमाउँदै पढ्दै गर्न सहज हुन्छ भनेर हामीले विद्यार्थीलाई बुझाउन थाल्यौँ,’ सिग्देलले भने ।
यही कार्यक्रममार्फत जनज्योतिले करिब ३२ लाख रुपैयाँको कोष बनाउन सफल भएको छ । प्राविधिकतर्फका विद्यार्थीको नाममा मात्र करिब १६ लाख जति जम्मा भइसकेको छ । यसरी आर्थिक रूपमा पनि विद्यालयले उन्नति गरिरहेको छ । जबकि यो कार्यक्रम लागू गर्दैगर्दा शिक्षकहरूले १५ महिना तलब नखाएको सिग्देल सम्झन्छन् ।
सरकारको नजर
सुर्खेतको बराहतालमा जनज्योति माविले पढ्दै कमाउँदै कार्यक्रमको सफल प्रयोग गरिसकेपछि सबैले चासोका साथ हेर्न थाले । संसद्देखि सरकारी प्रतिनिधि जो गए पनि उनले व्यावहारिक शिक्षा ल्याउनुपर्नेमा जोड दिन्थे । नेपालको शिक्षण सिकाइको प्रणालीमै सुधार ल्याउनुपर्ने भन्दै ध्यानाकर्षण गराउँथे ।
सोही विद्यालयबाट प्रभावित भएर शिक्षा मन्त्रालयले पनि नमुना विद्यालय बनाउने योजना बनायो । सिग्देल आफैँले पहल गरेपछि मन्त्रालयले यो कार्यक्रममा चासो देखायो । नयाँ योजनाबारेको छलफलमा शिक्षक सिग्देल सिंहदरबार निम्त्याइए । अन्तत : मन्त्रालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमको कार्यविधि नै तयार गर्यो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यविधि जारी गरेको थियो । शिक्षा मन्त्रालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन कार्यविधि–२०७८’ तयार पारेपछि विद्यालय छनोटको प्रक्रिया अघि बढायो ।
सुर्खेतको जनज्योति माध्यमिक विद्यालयविद्यालय छनोटका लागि विद्यालयले आवश्यक उपकरण र पूर्वाधार निर्माण गरेको हुनुपर्ने प्रावधान बनायो । ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने विद्यालय छनोटका लागि सरकारले आवेदन खुलायो । ७० जिल्लाका ५ सय १६ विद्यालयले आवेदन दिए । जसमध्ये १ सय ४० विद्यालय छानिएको हो ।
यस्तो बन्नेछ नमुना विद्यालय
पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने विद्यालयले सरकारको कार्यविधिअन्तर्गत रहेका काम गर्नुपर्नेछ । विद्यार्थीद्वारा उत्पादन भएका खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तुलाई विद्यालयमा दिवा खाजामा उपयोग गर्न तथा स्थानीय बजारमा बिक्री वितरणको उपयुक्त वातावरण विद्यालयले तयार गरिदिनुपर्ने व्यवस्था गर्नुपर्नेछ ।
विद्यालयले पाठ्यक्रममा आधारित हुनेगरी शिक्षण सिकाइसँगै वस्तु तथा सेवाको उत्पादनमा विद्यार्थीहरूलाई संलग्न गराउनुपर्नेछ । श्रमप्रति सचेतना बढाएर विद्यार्थीलाई स्वरोजगार र उद्यमशील हुन प्रोत्साहित गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
विद्यार्थीले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पदार्थ र अन्य वस्तु तथा सेवालाई दिवा खाजाको रूपमा विद्यालयमा उपयोग गर्ने वा स्थानीय बजारमा बिक्रीवितरण गर्न स्थानीय व्यवसायीहरूसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।
विद्यार्थीले गरेको आम्दानीको निश्चित अंशबाट कोषवृद्धि योजना बनाई लागू गर्नुपर्नेछ । व्यवसाय सुरुवात गर्न विद्यार्थीलाई तालिम सञ्चालन गर्नुपर्नेछ । खरिदबिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेलगायतका कुरा कार्यविधिमा छन् ।
‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्र तोकिएका छन् । विद्यालयले आवश्यकताअनुकूल विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । जसका लागि निम्न क्षेत्र तोकिएका छन् :
कृषि (बाली विज्ञान, पशु विज्ञान, बागवानी)
इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर)
पर्यटन तथा हस्पिटालिटी
वन तथा वातावरण
निर्माण
अटोमोबाइल
व्यावसायिक कीट (मौरीपालन, च्याउ र रेसमखेती)
अन्य ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८ ०७:५४