पछिल्लो समय लुम्बिनी प्रदेशमा अवैध याैन र प्रेम सम्बन्धका कारण हत्याका घटनाहरू बढेका छन् । यौन सम्बन्ध राख्न नमानेपछि देवरले भाउजूकाे हत्या गरेका छन् भने अवैध प्रेम सम्बन्धका कारण श्रीमतीले श्रीमानकाे हत्या गरेकी छन् ।
यौन सम्बन्ध राख्न नमानेकाे भन्दै कपिलवस्तुको बाणगंगा नगरपालिका १० सोनपुरकी ६० वर्षीया एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा उनकै देवरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर ४० वर्षीय शम्भु लोनियाले १० माघकाे राति उनकाे हत्या गरेका हुन् । श्रीमती माइत गएका बेला शम्भु यशाेदाकाे घरमा गएकाे र याैन सम्बन्ध राख्न नमानेपछि उनकाे हत्या गरेकाे प्रहरीकाे दाबी छ ।
दाेस्राेपटक याैन सम्बन्ध राख्न नमान्दा आफूले घाँटी थिचेर यशाेदाकाे हत्या गरेको शम्भुले स्वीकार गरेको डीएसपी भण्डारीले बताए ।

उता दाङमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका-३ बसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी हराएको भन्दै प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन् ।
लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका–२ कोठरीस्थित राप्ती नदीमा फेला पारेकाे थियाे । अनुसन्धानका क्रममा उमादेवीले नै प्रेमीसँग मिलेर श्रीमानकाे हत्या गरेकाे खुलेकाे प्रहरीले जनाएकाे छ ।
गढवा गाउँपालिका– ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीसँग उमादेवीको प्रेम सम्बन्ध रहेको र उनै प्रेमीसँग मिलेर उमादेवीले श्रीमान लप्टेनकाे हत्या गरेकाे निष्कर्षमा प्रहरी पुगेकाे हाे ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८ १०:०३