पुसको कठ्याङ्ग्रिँदो चिसो । आँगनमा सल्काइएको मुडा । वरिपरि बसेर उनीहरू आगोको रापबाट चिसो छल्दै थिए । तर, कान सेक्न आइपुग्थ्यो बर्दिया राष्ट्रिय निकुञ्जको घना जंगलाबाट चिसो सिरेटो ।
‘नमस्कार सर/म्याम,’ एकै ध्वनिमा उनीहरूले पाहुनालाई स्वागत गरे । आफू बसेका कुर्सी पाहुनाका लागि अगाडि सारे । बारबर्दिया नगरपालिका-११ बेलभारस्थित बाल संरक्षण केन्द्रमा थिए, २१ जना कलिला बालबालिका । उनीहरू सबैको कथा व्यथा लगभग उस्तै छ । त्यसैले त एउटै आँगनमा ल्याइपुर्यायो उनीहरूलाई ।

त्यहीमध्येका एक हुन् कक्षा ६ मा अध्ययनरत सुदिप चौधरी । तीन महिनाअघि उनी संरक्षण केन्द्रमा आइपुगेका हुन् । सानैमा उनले आमाको काख गुमाए । ‘आमा बित्दा १३ महिनाको थिएँ रे । आमाको केही पनि याद छैन तर याद आउँछ,’ उनले आमालाई सम्झिए । आमा बितेपछि उनको रेखदेख बुबाले गर्दै आएका थिए । उनको सबै थोक बुबा थिए । तर, बुबाले पनि गत बर्खामा सधैँका लागि उनलाई छोडेर अस्ताए ।
‘खेतमा काम गर्न जानुभएको थियो । लडेर गत बर्खामा बित्नुभयो,’ उनले भने । आमाबुबा गुमाएपछि उनी एक्लिए । अनि उनको सहारा बनेर आयो बाल संरक्षण केन्द्र । केन्द्रमै बसेर पढिरहेका उनको सपना छ, आर्मी बन्ने ।
कक्षा ९ मा अध्ययनरत आकाश चौधरीले पनि ९ वर्षको उमेरमै आमाबुबा गुमाए । आमाबुबाको न्यानो काख र मायाबाट उनी वञ्जित भए । ‘घरमा कोही छैनन् । अनि संरक्षण केन्द्रमा आएको हुँ,’ उनले बाध्यता सुनाए ।

२०६७ सालको कुरा हो । कक्षा ७ मा अध्ययनरत चाँदनी शाहीका बुबाको मिर्गौला फेल भयो । पैसा अभावमा उपचार गर्न परिवारले सकेन । र, उनको बुबाले उपचार नपाएर ज्यान गुमाउनुपर्यो ।
‘डायलाइसिस गर्न पैसा नभएर बुबालाई गुमाउनुपर्यो,’ उनले भनिन्, ‘आमाले पाल्न सक्ने स्थिति छैन ।’ उपचार नपाएर बुबाको मृत्यु भएपछि डाक्टर बन्ने सपना बुनेकी छिन् उनले । ‘डाक्टर बनेर दु:खी गरिबको उपचार गर्छु,’ उनले भनिन् ।
८ कक्षामा पढ्ने किरण चौधरीका बुबाले आत्महत्या गरे । कति सालमा बुबाले आत्महत्या गरे भन्ने उनको स्मृतिमा छैन । ‘बुबाले आत्महत्या गर्नुभयो आमाले पाल्न सक्नुभएन । संरक्षण केन्द्रमा बसेर पढिरहेको छु,’ उनी टोलाइन् ।

हाल यी बालबालिका एकै घरको परिवार भएका छन् । कोहीले दाजु, कोहीले भाइ, कोहीले बहिनी त कोहीले दिदी बनाएका छन् । हरेक चाडपर्व उनीहरूका लागि रमाइलो बनेर आउँछ । आफ्नो दु:ख भुलेर उनीहरू एकापसमा रमाउँछन् ।
उस्तै भोगाइबाट हुर्किएका उनीहरू अनुशासित रहेको बताउँछन् शिक्षक कृष्णराम चौधरी । ‘८ वर्षदेखि १७ वर्षसम्मका बालबालिका छन् । पारिवारिक वातावरण छ,’ उनले भने, ‘सबै अनुशासित छन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।’

यसरी जन्मिएको थियो बाल संरक्षण केन्द्र
बाल संरक्षण केन्द्र कुनै संघसंस्था वा व्यक्तिले खोलेको होइन । ‘जनतासँग मेयर’ कार्यक्रमअन्तर्गत बारबर्दिया नगरपालिकाले केन्द्र स्थापना गरेको हो । केन्द्र स्थापनामा जोडिएका छन्, नगरप्रमुख दुर्गाबहादुर थारू । उनी नगरप्रमुखमा निर्वाचित हुनुअगाडिको कुरा हो । नगरभित्रकै एक मिठाई पसलमा चिया पिउन गएका थिए उनी । पसलमा आठ वर्षका एक बालकले चिया ल्याएर दिए । तर, बालकको अवस्था टिठलाग्दो थियो ।
‘पसलको भाँडा माज्दा हातका औँला घाउले पाकेका थिए । घर कहाँ हो भनेर सोधेको उनी बोलेनन् । आमाबुबाबारे सोधखोज गर्दा आँसु आयो,’ त्यो दिन सम्झिँदै प्रमुख थारूले भने ।
उनी नगरप्रमुखमा निर्वाचित भएपछि पहिलो निर्णय गरे, असहाय बलबालिकाका लागि संरक्षण केन्द्र बनाउने । ‘शपथ खाएपछि संरक्षण केन्द्र बनाउने फाइल सदर गरेर पदभार ग्रहण गरेको हुँ,’ उनले भने, ‘चिया पसलमा भेटेको बालक पनि संरक्षण केन्द्रमै बसेर पढिरहेका छन् ।’

नगरभित्रका कोही पनि असहाय बालबालिका पढाइबाट वञ्चित नहोऊन् भनेर नगरपालिकाले अभिभावकत्व भूमिका निर्वाह गरेको बताउँछन् उनी । केन्द्रमा रहेका बालबालिकालाई १२ कक्षासम्म नगरपालिकाले नै पढाउने प्रतिबद्धता जनाएको छ ।
केन्द्रमै रहेका एक बालकलाई नगरपालिकाले नै एमबीबीएस पढाउने योजना रहेको प्रमुख थारूले सुनाए । ‘अहिले ११ मा विज्ञान विषय लिएर पढिरहेका छन् । पढाइ राम्रो छ । जनतासँग मेयर कार्यक्रमअन्तर्गत नै एमबीबीएस पढाउने इच्छा छ,’ उनले भने ।
नगरपालिकाले संरक्षण केन्द्रका लागि वार्षिक २५ लाख बजेटको व्यवस्था गर्दै आएको छ । ‘सम्पूर्ण खर्च नगरपालिकाले नै गर्छ । बाहिरका बालबालिका केन्द्रमा राखिएको छैन । यही नगरभित्रका बालकालिकालाई मात्र राखेर पढाएका छौँ,’ प्रमुख थारूले भने ।












प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १९:१८