राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् बागमती प्रदेशको तयारी पूरा भएको छ । बागमती प्रदेशबाट २ सदस्यका लागि १२ माघमा मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी अन्तिम चरणमा रहेको जनाएको छ । मतदान हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।
निर्वाचन अधिकृतको कार्यालयले कोरोना संक्रमणको जोखिममै निर्वाचनको तयारी अघि बढाएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचन गरिने प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमतीबाट रिक्त १ महिला र १ अन्य गरी २ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यले उम्मेदवारी दिएका हुन् ।
एमालेले गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चासँग प्रतिस्पर्धा गर्नेछ । निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट महिलामा गिता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले दुईवटा मतदान स्थल हुने जानकारी दिए । बागमती प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३७ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने र र १ सय ९ जना प्रदेशसभा सदस्यहरूका लागि फरक–फरक दुई मतदान केन्द्र हुने उनले बताए । दुई मतदान केन्द्रका लागि दुई मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत पोखरेलले जनाए ।
कोभिड–१९ महामारीमै हुने निर्वाचनमा स्वास्थ्य सुरक्षाको चुनौती देखिएकाले निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत मकवानपुरका प्रमुख न्यायाधीश डिल्लीरत्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चारवटा निर्णय भएको हो । जसअनुसार मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने निर्णय भएको छ ।
मतदाताहरू कोही कोरोना संक्रमित भए वा लक्षण देखिए उनीहरूलाई मतदानको लागि छुट्टै व्यवस्थापन मिलाइने भएको छ । मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको हेल्पडेस्क रहनेछ । मतदानस्थलमा कसैलाई स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिने भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
बागमतीमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय ४६ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । प्रदेशसभा सदस्यको पाँच हजार २ सय ३२ र स्थानीय तहका प्रमुख र उपप्रमुखको चार हजार २ सय ६६ मतभार रहनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ ०६:४९