मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास छ । यी दुई स्थानीय तहमा चेपाङ धेरै छन् भने तामाङको पनि बाक्लो बस्ती छ । जसमध्ये लोपन्मुख सिमान्तकृत चेपाङ समुदाय भने कोरोनाविरुद्धको खोपबाट भाग्दै आएको पाइएको छ । गाउँमा खोप लगाएपछि ‘प्यारालाइसिस हुने, मान्छेको ज्यान नै जान सक्ने र बालबच्चा पनि नहुने‘ भ्रम फैलिँदा उनीहरू खोप कार्यक्रमबाट टाढा भएको देखिएको छ ।
दुवै गाउँपालिकाले चेपाङ समुदायलाई खोप लगाउन मुस्किल परेपछि तीन वटा उपाय अपनाएका छन् । पहिलो फकाएर खोप लागाउने, दोस्रो गाउँपालिकाबाट सेवा नपाइने र तेस्रो पालिकामा आउँदा अनिवार्य खोप कार्ड हुनुपर्ने नियम बनाइएको छ । यी तीन उपायसहित खोप अभियान सञ्चालन गरिएको राक्सिराङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कपारीले जानकारी दिए । ‘यहाँ चेपाङ समुदायको बसोबास छ । उनीहरुलाई भ्रम सिर्जना गरिएकोले विगतदेखि नै खोप लगाएका थिएनन् । अहिले भने तीन वटा उपायसहित अभियान लगेका छौं,’ कपारीले भने ।
गाउँ वा टोलमै पुगेर सामूहिक रूपमा खोपको प्रभावकारिता र यसका फाइदा बारे बुझाउने कपारीले बताए । ‘चेपाङहरूलाई पहिला चेतना नै अतिआवश्यक छ । कोरोनाविरुद्धको खोप किन लगाउने भन्ने नै उनीहरूले राम्रोसँग बुझ्न पाएका छैनन्,’ कपारीले सुनाए । राक्सिराङमा यसअघिको प्रयासमा पनि ४० प्रतिशतले मात्रै खोप लगाएको उनको भनाइ छ ।
१५ माघसम्म खोप नलगाएका स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय दुवै गाउँपालिकाले गरेका छन् । राक्सिराङ र कैलाश गाउँपालिकाका निकै कम स्थानीयले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । राक्सिराङले शुक्रबारदेखि खोप अभियान सञ्चालन गरेको छ । गाउँ, टोलमै पुगेर खोप लगाउन राक्सिराङमा बिहीबार स्वास्थ्यकर्मी, जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविकालगायत सर्वपक्षीय भेला गरिएको थियो ।
गाउँमा राजनीतिक, सामाजिक र धार्मिक अगुवाहरुलाई अगाडि बढाएर हरेक घरबाट टोलमा स्थानीयलाई जम्मा पारेर खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कपारीले जानकारी दिए । शुक्रबार तीनवटा खोप केन्द्रबाट २ सयभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भिमसागर गुरागाईंले जानकारी दिए । खोप लगाउन १० वटा टोली गठन गरिएको गुरागाईंले शिलापत्रलाई बताए ।
राक्सिराङमा १३ माघभित्र ८० प्रतिशत स्थानीयलाई खोप लगाउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले एक डोज लगाए मात्रै हुने जोनसन एण्ड् जोनसन खोपलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख कपारीले बताए ।
कैलाश गाउँपालिकामा पनि खोप लगाउन १० वटा टोली गठन गरिएको छ । कैलाशमा एक हप्तादेखि खोप अभियान सञ्चालन गरेर गाउँ, बस्ती, टोलमा पुगेर खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले जानकारी दिए । कैलाशमा हप्ता दिनअघिसम्म १३ प्रतिशतले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकले देखाउँछ । अभियानबाट खोप लगाएपछि भने ६१ प्रतिशत खोपको पहुँचमा रहेको तथ्यांकले देखाएको छ ।
‘सुरुसुरुमा संस्कृति मासिन्छ । खोप लगाएपछि बच्चा जन्मिँदैन भन्ने भ्रमले पनि खोप नलगाएका हुन् । अहिले एउटा अभियान नै बनाएर जनचेतनासँगै खोप कार्यक्रम सञ्चालन गरिरहेका छौं’, महतोले शिलापत्रसँग भने, ‘भ्रम चिर्दै खोप लगाउँदै गरिरहेका छौँ । कैलाशका स्थायी बासिन्दा भए पनि कतिपयले बाहिर तिरै खोप लगाएका छन् । अबको हप्ता दिनभित्र ८० प्रतिशतलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ ।'
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ २१:४३