छाेराकाे ठूलै आस गरेका रहेछन् उनका बाबुले । छाेरी भएर जन्मिनु सरिता साहका लागि कुनै बेला अपयशकाे कुरा थियाे । परिवार र गाउँ/समाजभित्रै उनले पाएकाे हेला, उपेक्षाकाे कथा सुन्दा मन रून्छ । तिनै सरिता आज महाेत्तरीकाे देहातका लागि गर्वकाे नाम भएकी छन् ।
काठमाडाैंकाे शिल्पी थिएटरमा यति बेला चलिरहेकाे 'ढकियामे नागरिकता' नाटकले धेरैकाे मन खिचेकाे छ । सरिता यसकी लेखक, निर्देशक तथा एउटी कलाकार हुन् । र, याे नाटक उनले निर्देशन गरेकाे तेस्राे नाटक हाे । सरिता तिनै सफल निर्देशक हुन्, जसले लेखक नयनराज पाण्डेकाे बहुचर्चित उपन्यास 'लू' लाई नाट्य रूपान्तरण तथा निर्देशन गरेकी थिइन् । मण्डला थिएटरमा त्याे नाटक १०० दिनभन्दा बेसी चल्न सक्याे ।
सरिताले पाएकाे त्याे पहिलाे ठूलाे सफलता थियाे ।
त्यसपछि उनले प्रजातान्त्रिक याेद्धा तथा शहीद दुर्गानन्द झाकी पत्नी काशीदेवीकाे जीवनमा आधारित अर्काे नाटक निर्माण गरिन् । त्याे नाटक हेरेर भावुक नहुने कमै थिए । नेपाली कांग्रेसका अधिकांश नेताहरूले 'काशीदेवी' शीर्षककाे त्याे नाटक हेरिसकेका छन् ।
प्रायः नेपाली रंगमञ्चमा विदेशी नाटककारका रचना अनुवाद भएर देखाइन्छन् । सरिता यसकी अपवाद छिन् । उनले लगालग बनाइरहेका नाटकमा नेपालकाे मैदानी भूभागका कथाव्यथा चित्रित हुन्छन् । काठमाडाैंका दर्शकलाई उनी मधेसकाे वास्तविक पीडा कलामार्फत पस्किरहेकी छन् ।
'ढकियामे नागरिकता' यस्तै नयाँ नाटक हाे, जसमा नयाँ संविधान निर्माण भइसके पनि थाँती नै रहेकाे नागरिकता समस्यालाई मर्मस्पर्शी ढंगले देखाइएकाे छ । याे सरिताले निर्माण, लेखन, निर्देशन गरेकाे तेस्राे नाटक हाे । हामी समाचारमा पढिरहेकै हुन्छाैँ, मधेसी र कतिपय महिलाहरू तथा तिनका सन्तानले वंशज नागरिकता नहुँदा कस्ताे समस्या भाेग्नुपर्छ भनेर । तर, याे तीन दशकयता गिजाेलिएकाे मुद्दा पनि हुँदै हाे । समाचारमा पढ्नु र कलामा हेर्नुमा जति फरक छ, त्यति नै फरक छ कलाकार भएर अभिनय गर्नु र वास्तविक पीडित हुनुमा ।
याे नाटकका केही पात्र यस्ता छन्, जसले वास्तविक जीवनमा नागरिकता नहुनुकाे पीडा बेहाेरेका छन् । उनीहरूले केही कुरा भन्छन्, केही प्रश्न दर्शकतिरै फर्केर साेध्छन् ।
के हामी ती प्रश्नहरूकाे जवाफ दिन समर्थ छाैँ ?
के हामी सरिता साहलाई चिन्न तयार छाैँ ?
मैले उनीसँग शिल्पी थिएटरकाे बत्तीसपुतलीस्थित 'ढकियामे नागरिकता' सेटभित्रै गएर याे भिडियाे संवाद गरेँ । उनकाे मीठाे मुस्कानभित्र मधेसी देहातमा उनले भाेगेकाे कष्टसाध्य संघर्ष, अनि मूलधारकाे नेपाली रंगमञ्चमा उनले थप्न चाहेकाे नयाँ रङकाे गहिराे आत्मविश्वास भेट्न सकिन्छ ।
बाँकी कुरा उनकै आवाजमा । च्या खानु भाे ? काे याे शृंखलामा ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १८:४१