बागमती प्रदेश सरकारले जिल्ला अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका नेकपा (एमाले) निकटहरूलाई हटाउने तयारी गरेको छ । प्रदेश सरकारले तत्कालीन नेकपा नेतृत्वको सरकारले माओवादी कोटाबाट नियुक्त भएकालाई कायमै राखी एमाले कोटामा नियुक्त भएकालाई हटाउने तयारी गरेको हो ।
नेकपा नेतृत्वको सरकारले माओवादी र एमालेको कोटाबाट पार्टीनिकटलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति दिएको थियो । प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा गठबन्धन सरकार बनेपछि अस्पताल विकास समितिको अध्यक्षबाट एमालेनिकटलाई हटाउने तयारी भएको हो ।
प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले अस्पताल अध्यक्षहरूलाई हटाउने प्रक्रिया अगाडि बढाइसकेको छ । उनीहरूलाई एक हप्ताभित्र पदमुक्त गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतको दाबी छ । पुसमा मन्त्रालयले अध्यक्षहरूलाई कार्यसम्पादनको विवरण पठाउन पत्र काटेको थियो । एक हप्ताभित्र विवरण पठाउने समयावधि दिइएकामा सो समय समाप्त भइसकेको छ ।
अधिकांश अस्पतालका अध्यक्षहरूले कार्य प्रगतिको विवरण पठाइसकेका छन् । ‘धेरै अध्यक्षहरूले प्रगति विवरण पठाइसके । केही जिल्लाबाट कार्यप्रगति विवरण आएन । प्राप्त विवरण अध्ययन गरेपछि थप प्रक्रिया अगाडि बढ्छ,’ मन्त्रालय स्रोतले भन्यो ।
कार्य सम्पादन चित्त नबुझेको भन्दै विवरण पठाउन पत्र काटेपछि रामेछापस्थित अस्पताल विकास समितिका अध्यक्ष रोशन पाख्रिनले राजीनामा दिएको मन्त्रालयले जानकारी दिएको छ । पाख्रिनलाई २८ कात्तिक २०७५ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पालामा अध्यक्षमा नियुक्त गरिएको थियो ।
स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालका अध्यक्षहरूलाई कार्यसम्पादनको विषयमा प्रगति विवरण उपलब्ध गराउन पत्र काटिएको जानकारी दिए ।
बागमतीका १२ जिल्लामा अस्पताल विकास समितिले अस्पताल चलाउँदै आइरहेका छन् भने मकवानपुरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल सञ्चालन गरिरहेको छ । प्रतिष्ठानमा उपकुलपति, रजिष्ट्रार र रेक्टरको राजनीतिक नियुक्त हुने व्यवस्था छ । प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार र रेक्टरलाई पनि हटाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
बागमतीमा एमालेले करिब ३० वटा निकायमा गरेको राजनीतिक नियुक्ति खारेज गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्रोतले जानकारी दिएको छ ।
बागमतीको १३ वटै जिल्लास्थित आयुर्वेदिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका एमाले निकट अध्यक्षहरूलाई पनि हटाउने प्रदेश सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले यसको प्रक्रिया अगाडि बढाएको हो । हरेक जिल्लामा आयुर्वेदिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षमा राजनीतिक नियुक्त हुने व्यवस्था छ । बाँकी समितिका सदस्य पदेन रहने कार्यविधिमा उल्लेख छ ।
यसैगरी बागमतीमा प्रदेश सहकारी बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड, प्रदेश खेलकुद विकास परिषद्, प्रदेश युवा परिषद्, व्यवसाय प्रवर्द्धन बोर्डलगायतका करिब १५ देखि २० वटा निकायमा नियुक्त भएका एमालेनिकटलाई हटाउने तयारी छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयले प्रदेश सहकारी बोर्ड र प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हटाउने प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्रालय स्रोतका अनुसार कार्यकारी उपाध्यक्षहरूको कार्यसम्पादनको विवरण उपलब्ध गराउन पत्र काट्ने तयारी भइरहेको छ । यसैगरी युवा तथा खेलकुद मन्त्रालयले पनि प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । युवा परिषद्का उपाध्यक्षमा नेकपा एमाले निकट सन्तोष चौलागाईं नियुक्त भएका थिए ।
मन्त्रालय मातहतकै प्रदेश खेलकुद विकास परिषद्का कार्यकारी उपाध्यक्षलाई भने प्रदेश सरकारले नहटाउने देखिएको छ । तत्कालीन नेकपा सरकार हुँदा खेलकुद परिषद्का उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निकट सूर्यलाल भण्डारी नियुक्त भएका थिए । हाल गठबन्धन सरकारमा माओवादी केन्द्र रहेकाले भण्डारी पदमुक्त नहुने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ २०:२४