धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु नहुँदा आईपीओ निष्कासनको काम तीन महिनादेखि अवरुद्ध हुँदै आएको छ । अर्थ मन्त्रालयबाट गठित समितिले अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि नबढाई पुन: आवेदन माग गरेपछि आईपीओ निष्कासन अझै केही दिन लम्बिने भएको हो ।
अध्यक्ष नहुँदा झण्डै २७ कम्पनीको ६ अर्ब ८० करोड रुपैयाँबराबरको ६ करोड ८० लाख कित्ता शेयर बोर्डमै अलपत्र परेको हो ।
१९ असोजमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा जोडिएसँगै बर्खास्त भएका थिए । त्यसयता बोर्ड नेतृत्वविहीन अवस्थामा भएकाले आईपीओ निष्कासनमा ढिलाइ भएको स्वयम् बोर्डले नै जनाएको छ ।
बोर्डका सहायक प्रवक्ता रूपेश केसी प्रशासनिक कामको सम्पूर्ण अधिकार अध्यक्षमा रहेको बताउँछन् । जसका कारण कर्मचारीले निष्कासन अनुमति दिने जोखिम नलिँदा आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘सम्पूर्ण अधिकार अध्यक्षमा निहित छ । यसले पनि निष्कासन समयमा हुन नसकेको हो । यद्यपि केही फाट्टफुट्ट रूपमा राइट शेयरको निष्कासनको काम भने भइरहेको छ,’ उनले भने ।
बोर्डले ९ भदौमा एफपीओ निष्कासनका लागि अनुमति दिएयता गत असोजमा एक ऋणपत्र निष्कासनको स्वीकृति दिएको थियो । ऋणपत्रलाई स्वीकृति दिनैपर्ने दबाब थेग्न नसकेपछि बाध्य भएर बोर्डले उक्त ऋणपत्र स्वीकृत गरेको हो । उक्त ऋणपत्रको निष्कासन अनुमति पनि बोर्ड सञ्चालक समिति बैठकबाट निर्णय गराई दिइएको हो । सो ऋणपत्रबाहेक कुनै पनि सार्वजनिक निष्कासनलाई अनुमति नदिइएको बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थ मन्त्रालयले २५ कात्तिकसम्म आवेदन माग गरेको थियो भने १२ जना आकांक्षीले आवेदन दिएका थिए । आवेदन सकिएसँगै मंशिरसम्ममा बोर्डले नयाँ अध्यक्ष पाएसँगै आईपीओ खुल्ने अनुमान थियो । यद्यपि अर्थ मन्त्रालय र सिफारिस समितिबीच भएको खटपटले पनि पुन: आवेदन माग गरिँदा आईपीओ खुल्ने काम अझै अनिश्चित बन्दै गएको हो ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८ १४:३३