केपी ओलीभन्दा भिन्न देखिने चाहनावश हो या बनिबनाउँ मञ्चबारेको बेवास्ता– पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माओवादी केन्द्रका अरु नेताजस्तै हाउभाउमा देखाउन चाहे । शनिबार अपराह्न होटल हिमालयमा केही सम्पादकसँग अन्तर्क्रिया गर्न यी माओवादी केन्द्रका अध्यक्ष अरुकै जस्तो कुर्सीमा बसे । पत्रकार भेट होस् या जुनसुकै भेट– एमाले अध्यक्ष ओली बस्ने गरेका कुर्सीहरू विशेष खालका, अनि निश्चित दूरीमा हुने गर्छन् ।
तर यो नै प्रचण्डको सम्पूर्ण चिनारी भने होइन । गणतन्त्रसँगै ‘नयाँ नेपाल’ को बहस सृष्टि गर्ने श्रेय जति उनलाई जान्छ, नेपाली राजनीतिमा फूलमालादेखि अबिरजात्रासम्मको चर्को तडकभडक ल्याउने जिम्मा पनि उनैलाई जान्छ । उनी अबचाहिँ सच्चिएका होलान् भनी आश गर्ने ठाउँ कम छ, किनकी भोलिदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनका लागि निर्माण गरिएका प्रचार सामग्रीमा प्रचण्ड प्रभाव छ । पोलपोलदेखि पानीका बोत्तलसम्म प्रचण्ड नदेखिए पनि अरु प्रचारसामग्रीमा उनैको फोटो छ ।
राष्ट्रिय सम्मेलनका लागि माओवादीले बनाएको लोगोजति सजधज र हल्ला गरे पनि वर्तमान भने अब बदलिएको छ । कुनै बेला सडक प्रदर्शन गर्नसमेत देशैभरिबाट मान्छे उराल्न सक्ने प्रचण्डको ओज, तेज, सौर्य अहिले घट्दो छ । राष्ट्रिय सम्मेलन गर्नसमेत प्रज्ञा प्रतिष्ठानको सभाहलमा खुम्चिनुपर्ने अवस्था उनैको समेत कारणले आइलागेको छ ।
तर आज अपराह्न भने अचम्मै भयो । धेरैपछि प्रचण्डले ‘विचार’ को कुरा गरे ।
नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, देव गुरुङ र हरिबोल गजुरेललाई छेउमा राखेर उनले नेपालमा भूमन्डलीकृत एकाधिकारी वित्तीय पुँजीवादले वितन्डा मच्चाइरहेको तर्क गरे । उनले सोभियतसंघ विघटनसँगै अमेरिकी धुरीमा गएको विश्व हाल आएर एकध्रुवीय नरहेको विश्लेषण गरे । उनले जलवाय परिवर्तनले नांगा हुँदै गएका हिमालको चिन्तामा आफूलाई चिन्तित देखाए । जंकफुडहरूमा मिसिएको अखाद्य वस्तुले हाम्रो जीवनमा पारिरहेको असर, अनि मिर्गौलादेखि मुटु रोगीसम्मको बारे मसिनो चिन्ता जाहेर गरे । एमाले, कांग्रेस र राप्रपाका महाधिवेशनमा यस्ता गम्भीर सवालउपर विमर्श नभएको भन्दै आफू तिनीहरूभन्दा भिन्न भएको जिकिर गरे । अन्तिममा सिंह र भेडाको कथा सुनाउँदै उनले आफू केही समय भेडाको बथानमा मिसिए पनि खासमा सिंह नै रहेको दाबी गर्न पुगे ।
प्रचण्डले फेरि जंगलमा जान सकिने किसिमको विप्लवी तर्क झिकेनन् । आफूलाई रिझाउन हिजोआज प्रचण्डपथ चाहिन्छ भन्न थालेका भावी पदाधिकारी आकांक्षीलाई लक्ष्य गर्दै उनले अब ‘त्यो पर्दैन’ भने । माधव नेपाल र बाबुराम भट्टराईसँग दल मिलाउने सपना सुनाए । अनी एमसिसीका बारेमा संसदमा बहुमतबाट फैसला गर्नुपर्ने बाबुराम भट्टराईको तर्कको आलोचना पनि गरिहेरे ।

शेयर कारोबारीहरूबारे आफूले एक साताअघि गरेको टिप्पणीमा प्रचण्डले हल्का टिपेक्स लगाए । उनले यो कुरा ‘विश्व सन्दर्भमा सही भएको, नेपालका साना मझौला कारोबारीहरूबारे त्यस्तो नभनेको’ भनी भ्याए । पुँजीवादबारे उनले दोहोर्याएरै आलोचना गरे । तर सँगसँगै यो पनि भन्न भ्याए, ‘अहिले समाजवादमा जान सकिने कुनै सम्भावना छैन, अहिले समाजवादउन्मुख अर्थतन्त्रका लागि राष्ट्रिय पुँजीको निर्माण नै हाम्रो बाटो हो ।’
पुख्खली छन् प्रचण्ड । बोलेर अघिल्तिरको मानिसलाई मख्ख पारिदिन सक्छन् । तर यसबीचमा हामीलाई उनको नयाँ चेहरासँग कत्रो बानी परिसकेछ । उपस्थित सम्पादकहरूमध्ये हामी कसैले पनि विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यान्वयन, युद्धका पीडितहरू, बेपत्ता घाइते अंगभंगहरूबारे सरोकार राखेनौँ । या भनौँ, राख्न चाहेनौँ । यो पँक्तिकार आफैँले पनि त्यसो गरेन । उपस्थित कसैले पनि सोधेनन् । हुन त महाधिवेशनको सन्दर्भ भएर पनि होला, तर रुस चीनदेखि एमसिसीसमेतका विषय आउँदा, अनि शेरबहादुर देउवादेखि राजेन्द्र लिङ्देनसम्मका प्रश्न उठ्दा हामी कसैले पनि प्रचण्ड जोडिएको मूल सरोकारबारे कुरै उठाएनौँ ।
अन्तर्क्रिया सकेर फर्किंदा अनलाइन खबरका सम्पादक शिव गाउँलेले यस्तै सरोकार उठाउँदा मैले ‘ठीक हो’ भन्नेबाहेक अरु प्रतिक्रिया दिने अवस्था बनेन ।
प्रचण्ड ती नेता हुन्, जसले नेतृत्व गरेको युद्धले नेपालमा ठूला संरचनागत प्रभावहरू पारेको छ । टुप्पोमा नियाल्ने हो भने हालसम्म निर्वाचित दुई राष्ट्रपति सिद्धान्ततः माओवादीविरोधी थिए । माओवादीसमेतको मुख्य योगदानबाट आएको गणतन्त्रको पदीय लाभ भने तिनैलाई गयो । भूइँतहसम्म आएको बृहत् सामाजिक जागरणमा माओवादीको योगदान बिर्सन सकिन्न । यति भन्नलाई माओवादीको समर्थक भइराख्नु पर्दैन ।
तर, माओवादी युद्धका कारण जुन हदसम्मको मानवीय मूल्य नेपाली समाजले चुकाउनुपर्यो, त्यसलाई कुनै तथ्यांकले बताउन सक्दैन । मारिएका, अंगभंग र बेपत्ताको संख्या जरुर केही कुरा हो, तर त्यत्तिकै संवेदनशील कुरा युद्धले हाम्रो भावनाभित्र छाडेका छर्राहरू पनि हुन् । आज प्रचण्डले सिद्धान्त र विचार सम्झेर केही बोल्दैगर्दा एउटा प्रश्न मनमा आइरह्यो– शान्ति प्रक्रियासँगै मूलधारमा प्रचण्ड आए । नेपाली मूलधारलाई पुनःपरिभाषित गर्न उनले एक हदसम्म योगदान पनि दिए । तर सत्ता या कुनै न कुनै रूपमा राज्यसंस्थापनमा १५ वर्षसम्म रहँदासम्म आज उनले उठाएका प्रश्नहरू ज्वलन्त नै थिए । यतिका वर्षसम्म उनी कहाँ थिए ? उनी के गर्दै थिए ?
त्यस अर्थमा प्रचण्डले आज उठाएका भूमन्डलीकृत विश्वदेखि पुनर्निर्मित अर्थतन्त्रसम्मका प्रश्नहरू निश्चय नै महत्वपूर्ण हुन् । तर यस्तो भन्नुको मतलब यो होइन कि, ती प्रश्नहरूको जवाफ दिइरहन अब उनी नै आवश्यक छन् ।
यसका पछाडि केही सन्दर्भ छन् ।
उनले आजको भेटमा पनि आफूलाई निर्विकल्प नेताको भ्रम दिन एक किसिमले सफल नै रहे । उनले बाबुराम, मोहन वैद्य, विप्लव, बादलहरू एकै ठाउँ रहेको बेला नै पार्टी नेतृत्व बाबुरामलाई दिन आफूले खोजेको, तर पार्टी सांस्कृतिक, सैद्धान्तिक रूपले तयार नदेखिएको अनौठो तर्क झिके ।
प्रचण्ड व्यक्तित्व र नेतृत्वमा हुनुपर्ने कुशलता, चातुर्य सबै किसिमले अरुभन्दा अब्बल होलान्, तर आफूलाई तीन दशक लामो समय नेतृत्वमा एकछत्र राख्न उनले थुप्रै जालझेल, तिकडम पनि गरेका छन् । प्रचण्डलाई छाडेको प्रत्येक नेताले यसो भन्नुका पछाडि त्यो नेताको मात्रै दृष्टिदोष छ भन्ने निष्कर्ष निकाल्दा एकांकी विश्लेषण हुनेछ । सम्भावित प्रतिष्पर्धीलाई विगतमा प्रचण्डले छानीछानी निसाना लगाएका छन् ।
यस अर्थमा माओवादी गणतन्त्रको संवाहक हो, लोकतन्त्रको सारथि भने अझै हुन सकिरहेको छैन । माओवादीलाई थाहा छ कि छैन, यो प्रश्नले स्वयं उसैको आगामी औचित्यबारे गम्भीर प्रश्न उठाइदिएको छ । यो प्रश्न विचारमा मात्रै होइन, संगठन निर्माणमा समेत अभिव्यक्त हुन्छ ।
बुर्जुवा, दक्षिणपन्थी भनिएको राप्रपाले समेत लोकतान्त्रिक पद्दतिबाट नेतृत्व छान्यो । प्रचण्ड अझै हेटौँडा सम्मेलन र विराटनगर सम्मेलनकै दुस्वप्न दोहोर्याउन उद्दत छन् । आफूविरुद्ध नारायणकाजीदेखि बाबुरामसम्म, मोहन वैद्यदेखि विप्लव, बादलसम्मले धोबीघाट गठबन्धन बनाएको इतिहास त उनी शान र खिसी दुबैका साथ कोट्याउँछन्, तर स्वयं आफूभित्रको एकतन्त्रीय सोचका विरुद्ध समकालीन नेताहरू संगठित भएको पक्षलाई उनी उपेक्षा गर्छन् ।
त्यस अर्थमा प्रचण्ड कुनै बेला नेतृत्वमा वैद्यको विकल्पमा निर्विकल्प ढंगले उदाएको साँचो हो । कतिसम्म भने व्यक्तिपूजामा आधारित प्रचण्डपथ भनाउन स्वयं बाबुरामदेखि विप्लवसम्म सबै तयार भएको पनि ठीक साँचो नै हो । उनले अस्तिसम्मका सह–अध्यक्ष ओलीको धुँवाधार विरोध गरिरहेको पनि साँचो नै हो । यथार्थमा भने उनी आफैँ रोबर्ट मुगाबेवस्तो निरंकुश बन्ने बाटोमा छन् । कम्बोडियाका हुन् सेनलगायत कडा नेताहरू प्रचण्ड र ओली दुवैका रोलमोडल हुन् ।
त्यसैले धेरैपछि प्रचण्डले गम्भीर सैद्धान्तिक महत्वका प्रश्नहरू आज सम्पादक जमघटमा उठाए पनि अब त्यसको के अर्थ ? उनी शारदाप्रसाद अधिकारीको घरमा बसेर दुर्गा प्रसाईलगायतलाई उपयोग गर्न खोजिरहेका हुन्छन् । त्योभन्दा बढ्ता उनी ती ‘नवउद्यमी’ हरूबाट उपयोग हुन गएका छन् । प्रसाईंले उनैलाई छाडेर फल लाग्ने रुखको ओतमुनि केन्द्रीय सदस्य भ्याइसके । अनि उनले परिवारवाद गरे पनि, मतपत्र च्याते पनि, जोसुकैसँग सिद्धान्तहीन साँठगाँठ गरे पनि नागरिकहरूले ‘हो, हो’ भनिदिनुपर्ने ?
अन्त्यमा, प्रचण्डले सुनाएको कथामा सिंहले भेडाको बथानमा मिसिएर हुर्केको अर्को सिंहलाई ‘तिमी सिंह नै हौ, कहाँ यिनीहरूसँग घाँस चर्न गएको’ भनी सम्झाउँछ । सानैमा खेल्ने क्रममा भेडा बथानमा मिसिने हुँदा आमा सिंहिनी र अरु सिंहबाट छुटेको त्यो अर्को सिंहले पनि वास्तविक कुरो बुझ्छ । त्यसपछि सिंहले अब भेडाझैँ ‘भ्या, भ्या’ कराउँदैन । प्रचण्डको कथा यहीँनेर सकिन्छ ।
तर प्रचण्डले नभनेको कथाचाहिँ, त्यसपछि त्यो सिंहले के गर्छ भन्नेबारे हो । प्रचण्डसँग सायद त्यसको जवाफ नहोला पनि । माओवादीका राष्ट्रिय सम्मेलनसँग पनि त्यसको जवाफ छ भनी पत्याउने कुनै आधार छैन ।
व्यवहारतः प्रचण्डको कथाको दोस्रो सिंह फर्केर सिंहकै बथानमा पुग्नुपर्ने हो । प्रचण्डको कार्यशैलीका कारण पुराना युद्धकालीन माओवादीहरू आफ्नो मूलबथानमा आइपुग्ने कुनै भरपर्दो आधार छैन । कथं उनीहरू एक ठाउँ आइहाले पनि उनीहरूसँग कुनै मुद्दा बाँकी छैन, जसलाई नेपाली समाजको बहुसंख्याले स्वीकृति देओस् । अरु त अरु, हत्या आरोपी बालकृष्ण ढुंगेलसमेत एमालेको पोलिटब्युरो बन्न गइसके । यो नै प्रचण्डले आज सम्पादकहरूसँग नभनेको कथाको भावार्थ हो ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८ १७:४५