६ असार २०४९ मा राष्ट्रिय सभागृहमा नेपाल जनजाति महासंघको कार्यक्रम थियो । विषय थियो- बहुभाषिक देशमा संस्कृत भाषा अनिवार्य बनाउने विषयमा सांसदहरूले किन हस्ताक्षर गरे ?
प्रा माधव भट्टराई, प्रा माधवशरण लम्साललगायत केही संस्कृतज्ञहरूले पाठ्यक्रममा संस्कृत अनिवार्य गर्नुपर्छ भनेर त्यतिखेर सांसदहरूको हस्ताक्षर जुटाउने अभियान चलाइरहेका थिए । पहिलोपल्ट उनीहरूले तयार गरेर ल्याएको कागतमा बीएसम्म अनिवार्य गर्नुपर्छ भनेर लेखिएको थियो । मैले उनीहरूलाई 'त्यसो गर्न सकिन्न' भनेको थिएँ ।
पछि त्यसलाई संशोधन गरेर माध्यमिक शिक्षामा (हाई स्कुलसम्म) संस्कृत अनिवार्य बनाउने प्रस्ताव ल्याए । एमाले, जनमोर्चाका कतिपय सांसदले समेत हस्ताक्षर गरेका रहेछन् । काङ्ग्रेसकै पनि थुप्रै जनजाति सदस्यहरूको हस्ताक्षर थियो । एमाले महासचिव मदन भण्डारीले पनि सही गरेका थिए । ४७ जनाले हस्ताक्षर गरिसकेको कागजमा मैले अठचालीसौँ नम्बरमा हस्ताक्षर गरेँ । राष्ट्रिय शिक्षा आयोगका अध्यक्षलाई दिएको ज्ञापनपत्रमा कुल ७६ सांसदको हस्ताक्षर थियो ।
कार्यक्रमको दिन मदन भण्डारी र मलाई पनि वक्ताका रूपमा उनीहरूले निमन्त्रणा गरेका थिए । पार्टीको महासचिव भएकाले सम्भवत: बढी व्यस्त पनि थिए होलान्, मदन भण्डारी पहिले नै बोल्न थाले । मदन भण्डारी बोल्दै गर्दा भाषणको बीचमा 'बाहुनवाद-मुर्दावाद' र 'दुईजिब्रे बाहुन' भन्ने नारा लाग्यो । भाषण बीचैमा रोकेर मदन भण्डारीले भने, 'जनजाति महासंघले जे भन्छ, मैले त्यही दोहोर्याउनुपर्ने बाध्यता भए म आफ्नो छलफल गर्न पाउने अधिकारलाई बन्धक राखेर यता आउने थिइनँ ।' मदन भण्डारी बोलेपछि उठेर हिँड्न लाग्दा पनि विरोध भयो । तर, उनी हिँडिहाले ।

जनजातिका कतिपय वक्ताले हस्ताक्षरकर्ताहरूको कडा आलोचना गरे । बाहुनहरूको पनि प्रशस्त आलोचना भयो । त्यसैले पनि मैले बोल्ने मात्र होइन, प्रश्नोत्तरमा समेत सहभागी हुने निर्णय गरेँ ।
म बोलिरहँदा दर्शकदीर्घामा बसेका कतिपयले 'आउट-आउट' भनेर हुटिङ गर्न थाले । आयोजकलाई अलि अप्ठ्यारो पनि पर्यो । म पनि कड्केँ, 'यहाँ म आफैँ आएको होइन, तपाईंहरूले नै निम्ता गरेर बोल्न आएको हुँ । नबोल् भन्नहुन्छ भने बोल्दिनँ… तर तपाईंहरू सबैको कुरा मैले यत्रो समय दिएर सुनिसकेपछि मेरो कुरा पनि तपाईंहरूले सुन्नैपर्छ । सब जना चुप लाग्नुस् र मेरो कुरा सुन्नुस् ।'
त्यसपछि सबै शान्त भए । उभिएकाहरू पनि बसे । मैले आफ्ना कुरा सबै भनेँ । संस्कृत भाषाको महत्त्व बताएँ । भनेँ, 'ज्ञान जुन भाषामा भए पनि त्यसलाई ग्रहण गर्ने मान्छे नै बुद्धिमान् मान्छे हो ।'
मैले यो पनि भनेँ, 'नेपालमा प्रजातन्त्र आएपछि यो नै त्यस्तो दस्तावेज हो, जसमा पाँचवटै पार्टीका सांसदहरूले हस्ताक्षर गरेका छन् । मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, गुरुङलगायत भाषीहरूको पनि यसमा समर्थन छ । संस्कृत भाषालाई मृतभाषा, बाहुनको भाषा, विदेशी भाषा, प्रतिगामी भाषा भनेर विरोध गरिँदै छ, यो भनाइ परस्पर विरोधयुक्त छ । कुनै समय राणा प्रधानमन्त्री पद्मशमशेरले पनि संस्कृतलाई मृतभाषा भनेका थिए, पछि बाध्य भएर उनले त्यसमा संशोधन गर्नुपर्यो । अहिले त्यही कुरा दोहोर्याइँदै छ ।'
कसैले प्रतिवाद गरेन ।
म बोलिसकेपछि प्रश्नोत्तर सुरु भयो । एक घन्टासम्म मैले सबैका प्रश्नको उत्तर दिइरहेँ । आक्रामक प्रश्नहरू थिए, उत्तर पनि मैले त्यसैगरी दिइरहेथेँ । अझै केही प्रश्न बाँकी थिए । म बोलिरहेकै थिएँ । त्यस्तैमा स्रोताहरूका तर्फबाट आवाज आउन थाल्यो, 'अब पुग्यो...पुग्यो.. ।' सायद सबै थाकिसकेका थिए ।
कार्यक्रम सकेपछि पासाङ गोपर्मा नजिकै आएर भने, 'तपाईं हुनुहुँदो रहेछ साँच्चिकै बाहुन त....मैले मानेँ ।'
पञ्चायतका नीति निर्मातामध्ये एक पासाङ गोपर्माले मलाई पहिलोपल्ट त्यहीँ चिनेका हुन् । मैले त उनको नाम सुनिरहेकै थिएँ पहिल्यैदेखि ।
वास्तवमा किसुनजीहरूले गिरिजाप्रसादको त्यो वक्तव्य आए पनि त्यसलाई वास्तै नगरी आफ्नो प्रचार अभियानमा लागिरहेको भए चुनाव जितिन्थ्योजस्तो मलाई लाग्छ । हुन त चुनावमा उनले जितेकै भए पनि त्यसपछि काङ्ग्रेसभित्र अर्को द्वन्द्व सुरु भैहाल्ने सम्भावनालाई भने कसैले रोक्न सक्ने स्थिति थिएन ।
गोष्ठी भएको चार दिनपछि असार १० गते गोरखापत्र (दैनिक) मा मदन भण्डारीले ज्ञापनपत्रबाट हस्ताक्षर फिर्ता लिएको कुरा छापियो । पछि एमालेका अरू केही सांसदहरूले पनि हस्ताक्षर फिर्ता लिएछन् ।
राष्ट्रिय भाषाहरूमा समाचार
राष्ट्रिय सञ्चार नीति बनेपछि त्यसैअनुरूप २०५० साल वैशाखमा अर्को समिति बन्यो- रेडियो नेपालबाट विभिन्न राष्ट्रिय भाषाहरूमा समाचार प्रसारण गर्नेसम्बन्धी सुझाव समिति ।
म त्यसको अध्यक्ष थिएँ ।
सदस्यहरूमा बैरागी काइँला, डा तुलसी भट्टराई, डा नोबेलकिशोर राई, परशुराम तामाङ, परशुराम भगत, गोबर्धन राना र अशेष मल्ल थिए ।
विस्तृत अध्ययनपछि बनेको प्रतिवेदनले नेपालका विभिन्न भौगोलिक क्षेत्रका प्रसारण केन्द्रमार्फत तत्तत् क्षेत्रमा मुख्य रूपमा बोलिने भाषामा समाचार प्रसारण गर्न रेडियो नेपाललाई सुझाव दिएको थियो ।
जसअनुरूप, धनकुटा प्रसारण केन्द्र (पूर्वाञ्चल) बाट थारू, राई-वान्तवा र लिम्बू भाषामा, काठमाडौँ- बर्दिवास प्रसारण केन्द्र (मध्यमाञ्चल) बाट मैथिली, भोजपुरी, नेवारी र तामाङ भाषामा, पोखरा प्रसारण केन्द्र (पश्चिमाञ्चल) बाट मगर र गुरुङ भाषामा तथा सुर्खेत प्रसारण केन्द्र (मध्य पश्चिमाञ्चल) बाट थारू, अवधी भाषामा समाचार प्रसारण गर्न र त्यसनिम्ति तत्काल तीन जना समाचार सम्पादक र वाचकको व्यवस्था मिलाउने कुरा थियो ।
पछि एमालेको सरकारमा प्रदीप नेपाल सञ्चारमन्त्री हुँदा उनले संस्कृत भाषामा समाचारवाचन प्रारम्भ गराए । १ घन्टाको धार्मिक कार्यक्रम आधा घन्टा बनाइयो । यो निर्णय मलाई स्वागतयोग्य लागेको थियो ।
पाकिस्तानको चुनाव
म पहिलोपटक पाकिस्तान गएको थिएँ । २०५० साल असोजको तेस्रो हप्ता थियो ।
पाकिस्तानको निर्वाचन अवलोकन गर्ने उद्देश्य थियो । नेपालबाट पूर्वमन्त्री डा भेषबहादुर थापा, वरिष्ठ अधिवक्ता सुशीला सिंह 'शिलु', पत्रकार भारती सिलवाल गिरीलगायत थियौँ । भारत, बङ्गलादेश, श्रीलङ्का आदि सार्कका देशबाट पूर्वमन्त्री, सांसद, पूर्वन्यायाधीश, अधिवक्ता, पत्रकारलगायत विभिन्न व्यक्ति आएका थिए ।
सुरुमा कराँची शहरमा जम्मा भएर दुई दिन छलफल र विचार-विमर्श गरेपछि विभिन्न ठाउँमा जाने सानासाना समूहमा बाँडियौँ । म पञ्जाबको फैसलावाद जाने टोलीमा थिएँ । मेरा साथमा भारतका वरिष्ठ पत्रकार, राज्यसभाका पूर्वसदस्य कुलदीप नैय्यर, बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ता थिए । अरु साथीहरू दिउँसोतिर गए, मेराे प्लेन छुटेकाले म बेलुकीकाे फ्लाइटमा गएँ । अबेला पुगेकाले आफैँले खोजेर एउटा होटलमा बसेँ । भोलिपल्ट बिहान साथीहरू बसेको होटेलमा गएँ ।
त्यहाँका स्थानीय मान्छे मैले हिन्दी बोलेको देखेर 'तपाईं त उर्दू पनि राम्रो बोल्नुहुँदो रहेछ' भन्थे । मैले 'लेख्न सक्तिनँ, बोल्नचाहिँ अलिअलि बोल्छु' भनेँ ।
फैसलावाद आएको भोलिपल्टदेखि चुनाव पर्यवेक्षण सुरु भयो । हामी राजनीतिक दलका अफिसमा पनि गयौँ । पूर्वप्रधानमन्त्रीहरू पाकिस्तान पिपुल्स पार्टीका सह-अध्यक्ष बेनजिर भुट्टो र पाकिस्तान मुस्लिम लिग (न) का अध्यक्ष नवाज सरिफ त्यतिखेरको चुनावमा चर्चित व्यक्तित्व थिए । दुवैको कडा प्रतिस्पर्धा थियो । चुनाव गराउने सरकारमा चाहिँ काम चलाउ प्रधानमन्त्री मोइन कुरेसी थिए ।
हाम्रो टोलीसँग दिउँसो हिँडिरहेका युवकको घरमा डिनर खान गएका थियौँ एक साँझ, हामी सबै । ती युवकका बाबु पत्रकार रहेछन्, आफ्नै प्रेस पनि रहेछ । विदेशमा पढेर फर्केपछि ती युवक यही पेसा अँगाल्ने सुरमा रहेछन् । म सांसद भनेर ती युवकले सोधे, 'तपाईंहरूलाई सरकारले के-के विषयको कोटा दिन्छ ?' उनको प्रश्न सुनेर म अलमलिएँ । पछि बुझियो- पाकिस्तानका सांसद्लाई त्यस्तो सुविधा हुने रहेछ । मैले भनेँ, 'हामीकहाँ त्यस्तो चलन छैन ।' उनी अचम्म मान्दै थिए ।
हामीहरूमध्ये हिन्दु पनि भएकाले उनीहरूले त्यसै अनुरूप खाना तयार गरेका रहेछन् । मैले केहीको मासु पनि नखाने कुरा उनीहरूलाई थाहा भएन, पहिले नै मैले भन्ने कुरा पनि भएन । भात (बिरयानी) र दालमा पनि मासु हालेको रहेछ । मैले नखाने भन्ने थाहा पाएपछि उनीहरूले नरमाइलो माने । मैले भने रमाइलै मानेर त्यो दिन मिठाई, रोटी र दही खाएँ ।
एक दिन अपराह्न हामी बजार गएका थियौँ । वरिष्ठ पत्रकार कुलदीप नय्यर पनि थिए । नय्यर पनि पञ्जाबकै थिए कि पञ्जाबी पनि बोल्थे । लेखक भएकाले बजारमा धेरैजसोले उनलाई चिन्दथे । हामी गीत-गजलका क्यासेटको पसलमा छिरेका थियौँ । नय्यरलाई धेरैले क्यासेट उपहार दिए, केहीले मलाई पनि दिए ।
मतदानको दिन बिहानै हामी बुथमा पुगिसकेका थियौँ । अल्पसङ्ख्यक सिटको मतदान भएको हेर्न पनि गयौँ । सम्पूर्ण राष्ट्रिय सभामा अल्पसङ्ख्यकका लागि १० सिटको मतदान भयो । जसमा हिन्दु र दलित जाति चार, क्रिश्चियन चार, शिख-पारसी र गैरमुस्लिम एक र अहमदी एक सिट हुने रहेछ ।
बेलुका मतगणना हेर्न बुथबुथमा गयौँ । प्रत्येक बुथमा मतदान सकिएपछि त्यहीँ गन्दा रहेछन् । परिणाम मात्र क्षेत्रको केन्द्रमा पठाउने चलन रहेछ । त्यसो हुँदा परिणाम छिटो निस्कने भनेरै होला । प्रत्येक मतगणना केन्द्रमा तीन जना सैनिक, दुई जना प्रहरी, मुख्य पार्टीका दुई जना प्रतिनिधि र दुई जना चुनाव आयोगका अधिकारी थिए । हामी बुथमा घुमेर होटल फर्किंदा परिणाम आउन सुरु भइसकेको थियो, रातभरिमा सम्पूर्ण परिणाम निस्केछ । परिणामअनुसार बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टीले बहुमत ल्यायो ।
चुनाव सकिएपछि हामी कराँची फर्क्यौं । अन्यत्र गएका पनि फर्के । थप दुई दिन कराँचीमा गोष्ठी भयो ।
एक दिन केही साथीहरूका साथ बजार गएको थिएँ । ट्याक्सीमा जाँदैथियौँ, अमेरिकी दूतावासको कुनै अफिस आयो । सडकबाटै अमेरिकी झन्डा देखिन्थ्यो । ड्राइभरले भन्यो- 'ऊ त्यही हो– हाम्रा नेताहरूको मक्का-मदिना ।'
ऊ राजनीति र नेताहरूप्रति आक्रोशित देखिन्थ्यो ।
हामी सुती कपडाको पसलमा छिरेका थियौँ एकपल्ट । कुराकानीका क्रममा हामी चुनावको पर्यवेक्षण गर्न आएको थाहा पाएर पसलेले बडो उपेक्षात्मक शैलीमा भने, ‘पाकिस्तानमा चुनावको कुनै महत्त्व छैन । यहाँका नेताहरू लोटा हुन् ।'
बाटोमा हिँड्दा केही केटाहरूले डोरीमा बाँधेर मोटरसाइकलमा 'लोटा' घिसारेको पनि देखियो । सम्भवत: उनीहरू राजनीतिज्ञलाई व्यङ्ग्य गर्दै थिए । अत्याधुनिक सुविधा भएको शौचालयमा पनि एउटा लोटा राखेकै हुने रहेछ, हामी बसेको होटलमा पनि थियो । त्यहाँको लोटामा टुटी हुने, पिँधको बैठकचाहिँ नहुने रहेछ ।
स्वतन्त्र राष्ट्रका रूपमा पाकिस्तानको जन्म सन् १९४७ मा भएको हो । करिब आधा शताब्दी लामो यस अवधिमा धेरैपटक चुनाव भइसकेको छ । तर, पाकिस्तानमा हुने गरेका प्रत्येक चुनावले पुरानो समस्याको समाधानभन्दा थप नयाँ समस्याको सिर्जना गर्ने परम्परा बस्दै आएको भनाइ आममान्छेको रहेछ । त्यसमा पनि निष्पक्ष निर्वाचन पाकिस्तानका निम्ति कहिल्यै शुभ हुन सकेन भन्नेसम्मका निराशाजनक टिप्पणीहरू पनि प्रशस्त सुनिए ।
प्रधानमन्त्री संसद्मै ढले
गिरिजाप्रसाद कोइराला पहिलोपल्ट प्रधानमन्त्री हुँदा ६९ वर्षका थिए । त्यतिखेर प्रधानमन्त्री निवासको व्यवस्थापन चुस्त थिएन । बिहान हल्का नास्ता खाएर कार्यालय हिँड्थे । बेलुका मात्रै भात खान्थे । त्यो उमेरको मान्छे, दिनभरिको धपेडी । ध्यान दिएर उनको खानपान, हेरविचार हुन सकेको जस्तो लाग्दैनथ्यो ।
त्यतिखेरै २०४९ सालमा मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा मृत्यु भयो । एमालेले व्यापक आन्दोलन गरेको थियो त्यसबेला । रत्नपार्कलगायत विभिन्न ठाउँहरूमा रेलिङ, टेलिफोन क्याबिनेटहरू भत्काएर ध्वस्त पारेको थियो । उनीहरू 'हत्यारा गिरिजाप्रसाद, राजीनामा दे' भन्ने जस्ता नारा लगाइरहेथे ।
कसैलाई पखाला चले पनि गिरिजाप्रसादमाथि दोष लगाउने बेला थियो । एमालेले नारा नै बनाएको थियो-
'यसपालिको हैजा, गिरिजालाई लैजा….!'
गिरिजाप्रसादविरुद्ध एमालेको विरोध प्रदर्शन उग्रै प्रकृतिको थियो । गिरिजाप्रसाद तनावमा पनि थिए ।
२० फागुन २०५०, शुक्रबारको दिन संसद्को विशेष अधिवेशन चलिरहेको थियो । प्रतिपक्षले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएको थियो । त्यसैमाथि भएको छलफलको अन्त्यमा रोस्ट्रममा उभिएर प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला १ घन्टाभन्दा बढी बोलिसकेका थिए । म माथिल्लो सदनमा थिएँ । उनले उत्तर दिने बेला तल्लो सदनमा आएको थिएँ ।
बोल्दाबोल्दै उनले गिलास उचालेर पानी खाएको देखेँ । 'सभामुख महोदय' भनेर पुन: बोल्न थाल्दै थिए, स्वर प्रस्ट सुनिएन । के भयो भनेर सबैको ध्यान त्यतै गयो । प्रधानमन्त्रीले हातले टाउको समातेका थिए, त्यसपछि ह्वात्तै ढले । भुइँमै लड्न त पाएनन्, नजिकैका मर्यादापालकले समात्न भ्याए ।
बोल्दाबोल्दै उनले गिलास उचालेर पानी खाएको देखेँ । 'सभामुख महोदय' भनेर पुन: बोल्न थाल्दै थिए, स्वर प्रस्ट सुनिएन । के भयो भनेर सबैको ध्यान त्यतै गयो । प्रधानमन्त्रीले हातले टाउको समातेका थिए, त्यसपछि ह्वात्तै ढले । भुइँमै लड्न त पाएनन्, नजिकैका मर्यादापालकले समात्न भ्याए । दमननाथ ढुङ्गाना सभामुख थिए । उनले तुरुन्त बैठक रोके । डा रामशरण महत, तारानाथ रानाभाट, महेश आचार्यलगायतले प्रधानमन्त्रीलाई बोकेरै बाहिर ल्याए र मोटरमा हाले । टिचिङ अस्पतालतिर मोटर कुद्यो । मोटरको पछिपछि म आफ्नो मोटरसाइकलमा आएको थिएँ ।
त्यतिबेलासम्म संसद् भवनमा एम्बुलेन्स राख्ने चलन थिएन । त्यो दुर्घटनापछि एम्बुलेन्स राख्ने चलन सुरु भयो ।
धपेडीले यस्तो भएको रहेछ । अरू खासै समस्या केही देखिएन । दुई-चार दिन आराम गर्नुपर्ने भयो । चिकित्सकको सल्लाहमा गिरिजाप्रसाद कोइरालाले त्यसपछि चुरोट खान बन्द गरे । आठ-नौ महिना नै खाएनन् । पछि पार्टीभित्र द्वन्द्व बढ्दै गएपछि उनले पुन: चुरोट खान सुरु गरेका थिए ।
१७ मिनेटको वक्तव्य
२०४९ मा मदन भण्डारीको मोटर दुर्घटनामा निधन भएपछि २०५० सालमा भएको उपचुनावमा कृष्णप्रसाद भट्टराईलाई उठाउने सुरसार भइरहेथ्यो । एमालेले मदन भण्डारीकी पत्नी विद्यालाई उठाउने तयारी गर्दै थियो । त्यो बेला काङ्ग्रेसभित्र द्वन्द्व सुरु भइसकेको थियो ।
गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरी दुई ठाउँबाट जितेका थिए । उपनिर्वाचनमा उनले सुनसरीको सिटबाट किसुनजीलाई उठाउने प्रस्ताव राखे । सबै काङ्ग्रेसीले गिरिजाप्रसादको त्यो प्रस्तावलाई सुल्टो नै ठाने । गिरिजाप्रसाद अलि कडा स्वभावको हुँदा केही गरी काङ्ग्रेसभित्रै नेतृत्व परिवर्तन गर्नुपर्ने भयो भने नयाँ नेतृत्व खोज्नुभन्दा किसुनजी संसद्मै भएको स्थितिमा उनलाई प्रधानमन्त्री बनाउन सजिलो पनि पर्ने थियो ।
किन हो, त्यो बेला गिरिजाप्रसादको प्रस्तावमा किसुनजी उठ्न चाहेनन् । चुनावका बारेमा केही निर्णय नगरीकनै उनी अमेरिका भ्रमणमा गए । फर्केपछि भने उनले तत्काल काठमाडौँबाट उपचुनावमा उठ्ने निर्णय गरे । यो कुरा सायद गिरिजाप्रसादलाई आन्तरिक रूपमा मन परेको थिएन ।
उनकी प्रतिद्वन्दी मदन भण्डारीकी पत्नी विद्या भण्डारी थिइन् । त्यतिबेलासम्म उनलाई विद्या पाण्डे भनिन्थ्यो ।
उपचुनावको अन्तिमतिर गिरिजाप्रसादको तर्फबाट १७ मिनेट लामो एउटा वक्तव्य निस्क्यो । त्यो वक्तव्य एक प्रकारले राजनीतिक आवरणमा किसुनजीसँग गिरिजाप्रसादका गुनासोहरूकै सङ्कलन थियो । रेडियो नेपालबाट बिहान ७ बजेको समाचारको सम्पूर्ण समय त्यही एउटा वक्तव्य पढियो । त्यो प्रसारण भएपछि चुनावको अन्तिम चरणमा पुगेको काङ्ग्रेसको प्रचार अभियान एकाएक रोकियो ।
त्यस दिनभरि बालुवाटारमा कृष्णप्रसाद, गणेशमान र गिरिजाप्रसादबीच वार्ता र कुराकानी भए । गणेशमान र कृष्णप्रसादका पनि छुट्टाछुट्टै वक्तव्य निस्के । तीनै जनाको कुरा मिल्यो । तर, चुनावको माहौल भत्किसकेको थियो । परिणामत: कृष्णप्रसाद भट्टराई विद्या पाण्डेद्वारा पराजित भए ।
त्यो १७ मिनेटको वक्तव्य कसले लेखेको हो भन्ने खुलदुली थियो काङ्ग्रेसीहरूमा । महेश आचार्यले लेखेको अनुमान पनि गरे मान्छेले । प्रेस सल्लाहकार जयप्रकाश आनन्द भएकाले उनले पढ्न पाए होलान्, केही राय दिए पनि होलान् । वक्तव्य प्रसारणमा जाने अन्तिम समयमा मैले पनि हेरेको थिएँ । पछि पुरञ्जन आचार्यसँग कुरा हुँदा 'त्यो वक्तव्य मदनमणि दीक्षितको घरमा तयार भएको हो' भन्दै थिए मलाई ।
वास्तवमा किसुनजीहरूले गिरिजाप्रसादको त्यो वक्तव्य आए पनि त्यसलाई वास्तै नगरी आफ्नो प्रचार अभियानमा लागिरहेको भए चुनाव जितिन्थ्योजस्तो मलाई लाग्छ । हुन त चुनावमा उनले जितेकै भए पनि त्यसपछि काङ्ग्रेसभित्र अर्को द्वन्द्व सुरु भैहाल्ने सम्भावनालाई भने कसैले रोक्न सक्ने स्थिति थिएन ।
आचार्यको बिहीबार सार्वजनिक भएको पुस्तक 'जीवनको पाठशाला : सम्झना र सम्बन्ध'बाट साभार अंश । कांग्रेस केन्द्रीय सदस्य आचार्यको यो आत्मसंस्मरणात्मक पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८ १५:३९