गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले आपसी सहमति र एकताबाट पार्टीलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीले मंगलबार साँझ भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधिबीच शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले उक्त धारणा राखेका हुन् ।
गृहमन्त्री खाँणले भने, 'संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । आपसी एकतालाई टुट्न नदिई राष्ट्र र जनताको समृद्धिमा पार्टीलाई गतिशील बनाउनु नै वर्तमान नेतृत्वको महत्त्वपूर्ण उपलब्धि हो ।'
उनले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरूले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई ऐक्यबद्धता कायम राख्नु नै कांग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे ।
गृहमन्त्री खाँणले भने, '१४औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर नेपाली कांग्रेसले देशैभरि सकारात्मक सन्देश र ऊर्जा प्रवाह गरेको छ । कार्यकर्ता मिल्दा पार्टी बलियो हुन्छ । नेताहरूले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ ।'
उनले लुम्बिनी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि आफूले पहल गरिरहेको र त्यसमा सफल हुने पनि खाँणले जानकारी दिए ।
सार्वजनिक लेखा समिति सभापति तथा कांग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाई नि:शुल्क गर्नतर्फ कांग्रेसले ठोस कदम चाल्नुपर्ने बताए ।
रुपन्देही जिल्लासहित देशैभरि रहेको सुकुम्बासी समस्या समाधानका लागि तत्काल पहल कदम चाल्न गृहमन्त्री खाँणमार्फत उनले सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ १६:३३