तीन वर्षअघि रोज कालेम्बाले एक ब्लग लेखिन्, जहाँ उनले आफू १४ वर्षकै उमेरमा बलात्कृत भएकाे उल्लेख गरेकी थिइन् । यति मात्र हाेइन, उनी बलात्कृत भएकाे भिडियाे पाेर्न वेबसाइटमा राखिएकाे र त्यसपछि भाेगेका पीडाका फेहरिस्त उनले ब्लगमा सबिस्तार लेखेकी थिइन् ।
ब्लग पढेपछि दर्जनौं पीडितहरू उनको सम्पर्कमा आए, आ-आफ्नो भोगाइ बोकेर ।
खासमा राेजमाथि भएकाे के थियाे ? त्यसले उनकाे जीवनमा कस्ताे असर पार्याे ? हिजोआज उनी कसरी बाँचिरहेकी छन्, उनको अवस्था के छ ? यसबारे बीबीसीकी मेघा माेहनले तयार पारेकाे रिपाेर्टकाे अनुवाद यहाँ प्रस्तुत गरिएकाे छ :
चेतावनी : यो सामाग्रीमा हिंस्रक यौन आक्रमणको कथा छ ।
रोज भर्ना भएकाे अस्पतालको कोठामा एक नर्स आइन् र उनकाे अनुहारमा हेरेर एकोहोरिइन् ।
उनले अकमकाएकाे स्वरमा भनिन्, ‘तिमीमाथि जे भयाे, याे देखेर म धेरै दुःखी छु । मेरी छोरीको पनि बलात्कार भएको थियो ।’
रोजले नर्सतिर हेरिन्, जो शायद ४० वर्षभन्दा बढीकी थिइनन् ।
बिहान भएपछि उनलाई घटनाक्रम याद आउन थाल्यो । ती प्रहरी जो विल्कुल अवाक् थिए, अनि ती क्लिनिकल डाक्टर पनि निशब्द थिए ।
रोजले आफूमाथि रातभर भएको हिंस्रक घटनाक्रमबारे बाेल्दा सबैले ‘कथित’ शब्द प्रयोग गरे ।
यति मात्रै होइन, उनका पिता र हजुरआमाबाहेक अधिकांश नातेदारले समेत उनको कुरामा विश्वास गरेनन् ।
नर्सकाे व्यवहार अलग थियो ।
रोज भन्छिन्, ‘उनले ममाथि भरोसा गरिन् ।’
रोजका लागि यो एउटा मन बुझाउने बाटो थियो, आखिर कसैले त आफूलाई बुझिरहेको छ । उनले राहतको सास लिइन् र सबै कुरा ठीक हुने महसुस गरिन् ।
तर, चाँडै हजारौँ मानिससम्म उनी बलात्कृत भएको भिडियो फैलिइसकेको थियो । भिडियो हेर्नेहरूमा रोजप्रति कुनै दया वा माया थिएन ।
एक दशकपछि रोज कालेम्बा बाथरुमको सिसामा आफ्नो अनुहार नियाल्दै कपाल चलाउँछिन् । आफ्ना औंलाहरूले कपाललाई थोरै बटार्ने प्रयास गर्छिन् ।
तर, जब त्यो आक्रमण भएको थियो, ती महिनाहरूमा उनी यस्ती थिइनन् । उनको घरमा लगाइएका सबै सिसा ढाकिएको थियो, ताकि उनले आफूलाई सिसामा हेर्न नसकुन् ।
अब उनी २५ वर्षकी भइन् । आफ्नो दैनिक जिन्दगीमा केही समय आफ्नो हेरचाहका लागि निकाल्छिन् ।
आफ्नो कपाल स्याहार्नु पनि उनका कामहरूमध्येमा एक हो । कपाललाई कर्ली बनाउन समय र मेहनत लाग्छ, यो एक खालको मेडिटेसन हो । उनलाई थाहा छ, उनको कपाल सुन्दर छ र मानिसहरू उनको प्रशंसा गरिरहन्छन् ।
हरेक बिहान उनी आफ्ना लागि काकाओ (चकलेटको कच्चा खनेकुरा) बनाउँछिन् । उनलाई लाग्छ, यसबाट तमाम खुबीहरू आउँछन् र उनी डायरीमा आफ्नो काम र लक्ष्यसमेत लेख्छिन् ।
उनी हरेक वाक्य प्रेजेन्ट टेन्स (वर्तमान काल)मा लेख्छिन् ।
उनको केही लक्ष्य यसखालका छन्– ‘म राम्रो ड्राइभर हुँ’, ‘म रोबर्टसँग विवाह गरेर खुसी रहुँ, ‘म एक असल आमा हुँ।’
कुरा गर्दागर्दै रोज आफ्नो कपाल खोल्छिन् र काँधमा छर्छिन् । यसले उनको शरीरको बढी हिस्सा ढाकिन्छ ।

सानी छँदा राेज । साथमा खेलाैना र किताब ।
के भएको थियो राेजलाई ?
ओहायोजस्तो सानो शहरमा पढे-बढेकी रोजका लागि हरेक दिन उठेर वाकमा जानु सामान्य कुरा थियो । प्राकृतिक हावा उनी मन पराउँथिन् । यसबाट उनलाई शान्ति मिल्थ्यो । सन् २००९ मा गर्मीको त्यो साँझ १४ वर्षकी रोजका लागि बिर्सन नसक्ने क्षण बन्यो । वाककै क्रममा अचानक एक व्यक्ति झाडीबाट निस्कियो । चक्कु देखाएर कारमा उसले रोजमाथि जबर्जस्ती गर्यो । प्यासेन्जर सिटमा अर्को पनि एक व्यक्ति थियो । त्यो व्यक्तिको उमेर करिब १९ वर्ष थियो ।
रोजले त्यो केटालाई शहरमा पहिले पनि देखेकी थिइन् । कारमा हालेर रोजलाई उनीहरूले शहरको एउटा घरमा लिएर गए र करिब १२ घन्टासम्म बलात्कार गरे । यसरी बलात्कार गरेको भिडियो तेस्रो व्यक्तिले खिचिरहेको थियो ।
रोजलाई सास लिन पनि अप्ठ्यारो भइरहेको थियो । उनलाई नराम्रोसँग पिटिएको थियो । बायाँ खुट्टामा त चक्कु हानिएको थियो । उनका कपडा खुनले लतपतिएका थिए । उनी बारम्बार बेहोस भइरहेकी थिइन् ।
अलि पछि... एक व्यक्तिले रोजलाई ल्यापटपमा एउटा भिडियो देखायाे, जुन भिडियोमा रोजजस्तै अर्की महिलामाथि बलात्कार गरिएको दृष्य थियो ।
उनी भन्छिन्, ‘आक्रमणकारी गोरो वर्णका थिए । केही पीडित गोरी केटीहरू थिए तर धेरै जसो दोस्रा रंगका थिए ।’
पछि ती व्यक्तिहरूले रोजलाई मार्ने धम्की दिए । साहस जुटाएर रोजले उनीहरूसँग कुरा गर्न सुरु गरिन्, ‘तिमीहरूको कब्जामा रहेका केटीहरूलाई छोडिदियौ भने म यसबारे कसैलाई केही भन्दिनँ, तिमीहरूको पहिचानबारे केही बोल्दिनँ, तिमीहरूलाई केही हुँदैन ।’
उनलाई गाडीमा लगेर ती व्यक्तिले रोजको घरभन्दा करिब आधा घण्टाको दूरीमा सडकमा छाडिदिए ।
आत्महत्याको काेसिस गरिन्
घरमा पस्नासाथ एक सिसामा उनले आफूलाई देखिन् । उनको टाउकोबाट रगत बगिरहेको थियो । उनका बुबा रान र परिवारका केही अन्य सदस्य खाना खाने तयारीमा थिए । रोजका खुट्टाबाट अझै रगत रसाइरहेको थियो । उनीमाथि जे भयो,ती सबै आफ्नो परिवारलाई बताइन् ।
रोज भन्छिन्, ‘मेरा बुबाले प्रहरीलाई फोन गर्नुभयो, उहाँले मलाई तत्कालै राहत महसुस गराउनुभयो । तर, अरूले राति अबेला बाहिर घुमेको भन्दै मलाई नै यसको मुख्य कारण माने ।
इमेरजेन्सी रुममा रोजलाई एक डाक्टर र एक प्रहरीले भेटे ।
उनी भन्छिन्, ‘ती दुवैजनाले मसँग निकै कठोरतापूर्वक कुरा गरे । उनीहरूमा विल्कुल दया वा सहानुभूतिको भाव थिएन ।
प्रहरीले रोजसँग प्रश्न गरे- के सबै तिम्रो मन्जुरीमै भयो ? के रातमा तिमी मजा गरेर आएकी थियौ ?
रोज यी सबै सुनेर अवाक् भइन् ।
उनले भनिन्, ‘मलाई धेरै पिटे । ममाथि चक्कु प्रहार गरियो । रगत पनि आइरहेको छ ।’
रोजले आफूमाथि जबर्जस्ती भएको कुरा ती प्रहरीलाई बताइन् । उनी अझै त्यही घटनाले प्रताडित थिइन्, जुन उनीमाथि रातभर भयो । उनले आफूमाथि कसले यस्तो गर्यो भन्ने कुरा थाहा नभएको बताइन् । प्रहरीसँग कुनै सुराग थिएन ।
अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्ट उनले आत्महत्याको प्रयास गरिन् । अब आफ्नै उमेरका अरूजस्तै सामान्य जीवनमा फर्किन सक्ने आसा उनले मारिसकेकी थिइन् । समय छँदै उनका भाइले देखे र उनलाई बचाए ।
केही महिनापछि रोज माईस्पेस चलाइरहेकी थिइन् । उनले त्यतिबेला थाहा पाइन्, स्कुलका कैयौं साथीहरू एक लिंक सेयर गरिरहेका छन् । एउटा ट्याग थियो, जसमा क्लिक गरेपछि पोर्न वेबसाइट पोर्नहब खुल्थ्यो । त्यहाँ आफूमाथि भएको आक्रमण र बलात्कारको भिडियो देखेर उनलाई उल्टी हुन थाल्यो ।
भिडियोको टाइटल थियो, ‘टीन क्राइङ एन्ड गेटिङ स्ल्याप्ड अरान्ड’, ‘टीन गेटिङ डेस्ट्रोयड’, ‘पास्ड आउट टीन’ ।
रोज सम्झिन्छिन्, एउटा भिडियो चार लाख पटक हेरिएको थियो ।
‘सबैभन्दा खराब भिडियो त्यही थियो जसमा मैले ...... आफूलाई बेहोसीको हालतमा यस प्रकारले प्रताडित भइरहेको देखेँ’, उनले भनिन् ।
उनले भिडियोबारे आफ्ना परिवारलाई केही नबताउने निचोड निकालिन् । हुन पनि धेरैजसोले उनको कुरा सुन्नै छाडेका थिए । उनीहरूलाई बताएर पनि कुनै अर्थ थिएन ।
घटनाको केही दिनमै उनको स्कुलका सबैजसोले भिडियो हेरिसकेका थिए ।
उनी भन्छिन्, ‘मलाई सताइएको थियो । मान्छेहरू भन्थे- मैले आफ्नो मर्जीले यो सब गरेँ । मैले पुरुषलाई उक्साएँ । म वेश्या हुँ ।’
केही केटाहरूले उनलाई भन्थे, ‘यसलाई आमा बाउले टाढै बस्न भनेका छन् रे, कतै हामीलाई पनि उक्साएर बलात्कारी बनाउने पो हो कि !’
उनी भन्छिन्, ‘पीडितमाथि आरोप लगाउन धेरै सजिलो हुन्छ ।’
अधिवक्ता बनेर पोर्नहबलाई मेल
रोजका अनुसार उनले सन् २००९ मा करिब ६ महिनासम्म पोर्न हबलाई कैयौं पटक इमेल गरिन् र भिडियो हटाइदिन आग्रह गरिन् ।
‘मैले पार्नहबलाई इमेल पठाएर हारगुहार गरेँ । मैले उसलाई बिन्ती गरेँ । मैले लेखेँ- प्लीज, म नाबालिग हुँ, यो ममाथि भएको शोषण थियो, प्लीज यसलाई हटाइदिनुहोस् ।’
तर, रोजले कुनै जवाफ पाइनन् र त्यो भिडियो अरूले हेरी नै रहे ।
उनी सम्झिन्छिन्, ‘पूरै वर्ष म आफैंभित्र मरिरहेँ । मैले आफूलाई अलग गरिसकेको थिएँ । मलाई केही महसुस हुन छाडेको थियो । म आफैंमा हराइरहन्थेँ ।’

उनलाई लाग्छ, उनीसँग भेट्ने जोसुकै अनजान व्यक्ति होस्, उसले पक्कै आफ्नो भिडियो हेरेको हुनुपर्छ ।
‘के उसले ममाथि बलात्कार भएको भिडियो हेरेर आफूलाई सन्तुष्ट गरेको होला ?’ उनी आफैंलाई प्रश्न गर्थिन् ।
उनी आफूलाई हेर्न सक्दिन थिइन् । त्यसैले उनले पूरै घरका सिसा ढाकिदिइन् । उनी अँध्यारोमै ब्रस गर्थिन् र बाथरुम जान्थिन् । उनी हरेक क्षण यही सोच्थिन् कि त्यो भिडियो कसले हेरिरहेको होला ?
पछि उनको दिमागमा एक विचार आयो ।
उनले एक नयाँ इमेल ठेगाना बनाइन् र आफूलाई वकिल बनाएर पोर्नहबलाई कानुनी उपचार गर्ने चेतावनी दिँदै मेल पठाइन् ।
त्यसको ४८ घन्टाभित्रै त्यो भिडियो गायब भयाे ।
महिनौँपछि रोजलाई काउन्सिलिङ सुरु गरियो । उनले आफ्ना साइकोलोजिस्टसामु आक्रमणकारीको पहिचान जाहिर गरिन् । प्रहरीलाई यसको सूचना दिनु आफ्नो कर्तव्य सम्झिइन् उनले । तर, भिडियोको बारेमा प्रहरी र परिवारलाई उनले केही बताइनन् ।
प्रहरीले रोज र उनको परिवारको बयान दर्ता गर्यो । अभियुक्तहरूको वकिलले जिकिर गरे, ‘जे भयो रोजको मर्जीमा भएको थियो ।’
यसपछि ती सबैले बलात्कार आरोपबाट सफाइ पाए । तर, उनीहरूले ‘एक नबालिगको गल्तीमा शामेल भएको’ मामिलामा सजाय पाए ।
आरोपितलाई कडा सजाय दिलाउन रोज र उनको परिवारसँग त्यत्रो ‘पावर र पहुँच’ थिएन ।
यो स्पष्ट छ, रोजका बुबा रान कालेम्बा गएका वर्षहरूमा हरेक क्षण यही सोच्थे, जो उनकी छोरीमाथि भयो । उनलाई अझै बढी जानकारी हुन्थ्यो भने उनी के फरक गर्न सक्थे ? उनी सुस्केरा हाल्छन् ।
यो उत्पीडनपछि उनकी छोरी बदलिएकी थिइन् । पहिले उनी एक उत्कृष्ट विद्यार्थी थिइन् तर पछि क्लास छाड्न थालिन्, होमवर्क गर्न छाडिन् ।
हामी त्यो घरनजिकै एक पार्कमा बसिरहेका थियौँ, जहाँ रान अक्सर आउने गर्थे । उनी र रान कहिलेकाहीँ बाइबलको केही भाग पढ्थे । उनीहरू बितेका समयका बारेमा धेरै कुरा गर्दैनन् ।
रान भन्छन्, ‘यस्तो लाग्छ, सारा संसारले उनलाई निरास बनाएको छ । उनीमाथि जे भयो, यस्तो लाग्थ्यो कि अरूका लागि यो मजाक हो । यसबाट उनको जिन्दगी पूर्णरूपमा बदलियो र हरेक कदममा मानिसहरू उनलाई निराश पार्दै गए ।’
परिवारलाई १० वर्षपछि भिडियोबारे थाहा भयो

रोजका बुबा रान कालेम्बा ।
रानलाई पोर्नहबको भिडियोबारे सन् २०१९ मा थाहा भयो, जब रोजको ब्लग सोसल मिडियामा भाइरल बन्याे । ब्लगमा रोजले आफूमाथि भएको उत्पीडनका बारेमा अन्तरंग कुरा खोलेकी थिइन् ।
रानले कल्पना पनि गरेका थिएनन्, आफ्नी छोरीमाथि बलात्कार भएको भिडियो धेरैभन्दा धेरै मानिसले हेरेका छन् । रानलाई यो पनि थाहा थिएन, रोजलाई उनको स्कुलका साथीहरूले केसम्म भन्न बाँकी राखेका थिए ।
‘म स्कुलमा हुँदा आठौँकी एक केटीलाई चिन्थेँ । अरूले उसलाई प्रताडित गर्थे । उसलाई पिट्थे । तर, हामीमध्ये कोही उसलाई साथ दिँदैन थियौँ । बस् हेरेर बस्थ्यौं’, रान सम्झिन्छन्, ‘म उसको आँखाकै सामुन्नेबाट हिँड्थेँ र म सोच्थेँ- म पनि उसलाई प्रताडित गर्नेमध्येकै एक हुँ । किनकि, म उभिएर सबै हेरिरहेको हुन्थेँ । वास्तवमा केही मान्छे मात्रै थिए, जसले उसलाई हिंसा गर्थे । तर, त्यो केटीलाई लाग्थ्यो, हामी सबै ऊविद्ध छौँ । किनकि, हामी सबै ऊमाथि भएको हिंसा हेर्थ्यौं तर केही बोल्दैन थियौँ ।’
उनी के सोच्छन्, 'रोजमाथि पनि यस्तै भयो ?'
‘हो तर रोजका लागि यो अझै भयानक थियो । उसको आसपास यस्तो भीड थियो, जो डिजिटल मिडियामा पनि उसलाई सताइरहेका थिए । केही चुपचाप त केही अपशब्दका साथ । यो एक अलग संसार हो’, रान भन्छन् ।

सानी छँदा आफ्नो बुबाको साथमा रोज कालेम्बा ।
पोर्नहबले सफाई दिनुपर्यो
केही वर्षसम्म रोज डिजिटल दुनियाँमा हराइन् । उनले आफूलाई लेख्नमै व्यस्त पारिन् । उनी ब्लग र सामाजिक सञ्जालमार्फत् आफूलाई व्यक्त गर्थिन्, कहिले पहिचान लुकाएर त कहिले असली नामबाट ।
सन् २०१९ मा एक दिन उनले सामाजिक सञ्जालमा पोर्नहबसँग जोडिएका केही पोस्ट देखिन् । मानिसहरू मधुमक्खी संरक्षणका लागि त्यो कम्पनीको च्यारिटीको तारिफ गरिरहेका थिए, सुन्न नसक्ने दर्शकका लागि क्याप्सन लेखिएको तारिफ थिए । घरेलू हिंसा पीडितहरूका लागि मद्दत र त्यस्ता महिलाहरूलाई २५ हजार डलर सहयोगबारे तारिफ भइरहेकाे थियो, जसलाई टेक इन्टस्ट्रीका रूपमा लिइन्छ ।
पोर्नहबका अनुसार, सन् २०१९ मा उसको वेबसाइटमा ४२ बिलियन भिजिट भयो, जुन सन् २०१८ भन्दा ८ दशमलव ५ बिलियन बढी थियो । यसमा दिनुहुँ औसत करिब १ सय १५ मिलियन र १२ हजार सर्च प्रति सेकेन्ड थियो ।
रोज भन्छिन्, ‘तपाईं सामाजिक सञ्जाल प्रयोग गनुहुन्छ भने पोर्नहबलाई नजरअन्दाज गर्न सक्नु मुस्किल कुरा हो । उसले आफूलाई राम्रो छविमा देखाउनका लागि हरप्रयास गरेको छ, पोर्नलाई निकै आकर्षक बनाएर ।
तर, मेरो भिडियोजस्तै टाइटलवाला कैयाैँ भिडियाे अझै उसको वेबसाइटमा छन् । यो पत्ता लगाउन मुस्किल हुन्छ, ती केटीहरूमाथि पनि बलात्कार नै भइरहेको छ वा यो भिडियोबारे पीडितहरूलाई जानकारी नै छैन ।
एक भाइरल ब्लग पोस्टमा रोजले आफूमाथि भएको बलात्कारको विस्तारमा बयान गरेकी छन् । त्यतिबेलासम्म पोर्नहबले आँखा बन्द गरेको थियो, जतिबेलासम्म उनले वकिल बनेर धम्कीपूर्ण इमेल गरिनन् । दर्जनौँ महिला र केही पुरुषले उनको पोस्ट हेरेलगत्तै सम्पर्क गरे, उनीहरूमाथि भएको यौन उत्पीडनको भिडियो पनि वेबसाइटमा देखिइरहेको छ ।
एक बयानमा पोर्नहबले भन्यो, ‘यो आरोप सन् २००९ काे हो । अर्थात्, पोर्नहबका अहिलेका मालिक आउनुभन्दा पहिलाको आरोप । त्यो समय यो आरोपमा के भयो, के गरियो, यसबारे हामीलाई कुनै जानकारी छैन । अहिले पोर्नहबले इन्डस्ट्रीमा सबैभन्दा कडा सुरक्षा उपायहरू र नीतिहरूलाई लगातार लागू गरिरहेको छ, खासगरी जब अनाधिकृत र अवैध सामाग्रीसँग जुध्ने कुरा आउँछ ।
पोर्नहबले बाल यौन शोषणसँग जोडिएका समाग्रीप्रति सचेत हुने प्रतिबद्धता पनि जनाएको छ । ‘साथसाथै बाल यौन शोषणसँग जोडिएका सामाग्रीसँग जुध्नका लागि हाम्रो प्रतिवद्धता छ । कम्पनी बोबिल, नामको थर्ड पार्टी सफ्ट्वेयरको प्रयोग गर्छ, जसले नयाँ अपलोड हुने भिडियोमा अनाधिकृत सामाग्रीलाई अलग गर्छन् र सुनिश्चित गर्छन्, मूल भिडियो कहिल्यै प्लेटफर्ममा नजाओस् ।’
पोर्नहबसँग जब भिडियोका टाइटल जस्तो, ‘टीन अब्यूज्ड व्हाइल स्लीपिङ’, ‘ड्रंक टीन अब्यूज्ड स्लीपिङ’, ‘एक्सट्रीम टीन अब्यूज’लाई लिएर प्रश्न गरियो, जुन रोजको भिडियोको टाइटलसँग मिल्दाजुल्दा छन्, यसबारे कम्पनीले भन्यो, ‘हाम्रो नियम र सर्तअनुसार छन् भने हामी हरप्रकारको सेक्सुअल एक्सप्रेसनलाई अनुमति दिन्छौँ । जब कसैलाई यो फेन्टासी सही लाग्दैन तब उसले संसारभर यसलाई लिएर अपिल गर्न सक्छ र अभिव्यक्ति स्वतन्त्रताको कानुनअनुसार उसको हितको रक्षा पनि गरिन्छ ।’
पोर्नहबले अनुचित सामाग्रीमा रिपोर्ट गर्नका लागि सन् २०१५ मा एक विकल्प उपलब्ध गरायो तर वेबसाइटमा उत्पीडनका भिडियो अपलोड भएका कहानीहरू दोहोरिइ नै रहे ।
गत साल अक्टुबरमा फ्लोरिडाका ३० वर्षका व्यक्ति क्रिस्टोफर जोनसनमाथि १५ वर्षकी बालिकामाथि यौन उत्पीडन गरेर त्यो भिडियो पोर्नहबमा अपलोड गरेको आरोप लाग्यो ।
एक बयानमा पोर्नहबले यस मामिलामा भन्यो, ‘हाम्रो नीति हो, जब कुनै अनाधिकृत भिडियोको जानकारी मिल्छ, त्यसलाई तुरन्तै हटाइन्छ । यो मामिलामा पनि हामीले यसै गर्यौँ ।’
सन् २०१९ मा पोर्नहबले ‘गर्ल्स डू पोर्न’ नामको एक च्यानल पनि हटाएको थियो, जब २२ महिलाले भिडियाेमा हिस्सा लिनका लागि बाध्य पारेको आरोप लगाए । उनीहरूले च्यानलका मालिकविरुद्ध सेक्स ट्राफिकिङको आरोप लगाउँदै मुद्दा हालेका थिए ।
‘मानिसहरूले भन्न सक्छन्, ममाथि एक दशक पहिले जे भयो त्यो आजको हकीकत होइन तर वास्तविक मुद्दा यो हुँदै होइन’, रोज भन्छिन्, 'मेरो ब्लग पढेपछि महिलाहरूले मलाई बताए, यस्तो अझै भइरहेको छ । र, यस्तो बताउने पश्चिमा देशका महिला हुन्, जो सामाजिक सञ्जालको पूर्ण पहुँचमा छन् ।’
रोज थप्छिन्, ‘मलाई थाहा छैन, संसारका दोस्रो हिस्सा, जस्तोकि मध्य पूर्व र एसियाजस्ता ठाउँमा हामीलाई थाहा छ, ठूलो जमात पोर्न हेर्छ तर पीडितलाई थाहै हुँदैन, ऊमाथि जे भएको थियो, त्यो सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।
रोजलाई इमेल पठाउने एक पीडित महिलामाथि भएको उत्पीडनका भिडियो केही वर्षसम्म एउटा वेबसाइटमा थियो । जबकि, उनले कम्पनीलाई कैयौँ इमेल पठाएकी थिइन् र भिडियोको कमेन्ट सेक्सनमा एक पोस्ट पनि लेखिन् ।
क्यालिफोर्नियामा बस्ने ती महिलाले भनिन्, ‘त्यो भिडियो डाउनलोड गरेर अर्को पोर्न वेबसाइट्समा पनि राखिएको थियो ।’
तर, त्यो वेबसाइटका वकिलले भने उनलाई क्लाइन्टको यस्तो कुनै स्थितिका बारेमा जानकारी नै नभएकाे प्रतिक्रिया दिए ।

उनको यस्तो जवाफपछि जब उनलाई त्यो भिडियोको लिङ्कसहित कमेन्ट सेक्सनलाई स्क्रीनशट गरेर पठाइयो त्यसकाे केही दिनपछि उक्त भिडियो हटाइयो
पोर्न वेबसाइटको जाँच गर्ने समूह नट योर पोर्नकी केट इस्साक्स भन्छिन्, ‘रोजमाथि सन् २००९ मा जे भयो, अहिले पनि केही फ्री स्ट्रीमिङ वेबसाइटमा भइरहेको छ, पोर्नहबमा मात्रै होइन । साना पोर्न वेबसाइटहरूलाई कुनै एक व्यक्तिले चलाइरहेको हुन्छ वा कोही अराजक तत्व, उनीहरूलाई हामी केही गर्न सक्दैनौँ तर ठूला कमर्सियल वेबसाइटहरू जस्तो पोर्नहबलाई जिम्मेवार ठहर्याउन सकिन्छ’, उनी भन्छिन् ।

रिभेन्ट पोर्नेग्राफी, जसबाट इमेज बेस्ड सेक्सुअल अब्यूज पनि भनिन्छ, यसमा जानाजान कसैको अन्तरंग तस्वीर, कसैको अनुमतिबिना जोडिन्छ ।
यस्तो कन्टेन्ट बनाउनु इंग्ल्याण्ड र वेल्समा सन् २०१५ देखि आपराधिक काम हो अनि वर्तमानमा यसमा दुई वर्षसम्म जेल सजायकाे प्रावधान छ ।
यद्यपि, यस्ता कन्टेन्ट सेयर गर्ने प्लेटफर्मलाई भने जिम्मेवार मान्न सकिँदैन ।
इस्साक्स भन्छिन्, ‘पोर्न वेबसाइट्सलाई थाहा छ, उसका प्लेटफर्ममा विचलित गर्ने खालका र बिनासहमतिमा बनाएका भिडियो उपलब्ध छन् । उसलाई पो पनि थाहा छ, हामी कुनै तरिकाले पनि रोल-प्ले एक्टिङ वा फेक प्रोडक्सन सिन वा असली उत्पीडन के हो भनेर फरक छुट्याउन सक्दैनौँ ।’
उनले नट योर पोर्नको सुरुवात गरेपछि उनकी एक साथी (जो त्यतिबेला १६ वर्षभन्दा कमकी थिइन्) को भिडियो पोर्नहबमा अपलोड भएको थियो ।
केटका अनुसार 'बितेका ६ महिनामा यूकेमा ५० भन्दा बढी महिला गुनासो लिएर उनको सामुन्ने आए । उनीहरूको गुनोसो थियो, आफ्ना सेक्सुअल भिडियो बिनाअनुमति पोर्न वेबसाइटमा राखियो । तीमध्ये ३० भिडियो पोर्नहबमा थिए ।
केटका अनुसार पोर्नहब र अन्य वेबसाइटले दर्शकलाई भिडियो डाउनलोड गर्ने सुविधा पनि दिन्छन्, यस्ताेमा एउटा वेबसाइटले भिडियो हटाए पनि अर्को युजरले फेरि त्यही भिडियो अपलोड गर्न सक्छ ।
नट योर पोर्न बेलायतमा कानुन बनाउनका लागि अभियान चलाइहेको छ, जसकाे माध्यमबाट बिनाअनुमति पोर्न भिडियो सेयर गर्नुलाई अपराध घाेषित गरियोस् ।
रोज पछि प्रेममा पनि परिन्
रोज भविष्यलाई लिएर आसा जताउँछिन् । २०औँ वर्षको सुरुवातमा उनको भेट रोबर्टसँग भयो । पछि रोबर्ट नै उनका प्रेमी बने । रोबर्टले रोजलाई खुब सहयोग गरे । उनलाई उत्पीडनबाट बाहिर निस्कन हौसला दिए रोबर्टले ।
उनलाई आसा छ, उनी विवाह गर्नेछिन् । अनि एक छोरी पाउने इच्छा छ । कुकुर र बिरालाहरूलाई खुब माया गर्छिन् उनी ।
राेज अगाडि भन्छिन्, ‘म पिटबुल ब्रीडका कुकुरहरूलाई आसपास देखेरै बढेँ । ती अलि रिसाहा हुन्छन् तर प्यारा लाग्छन् । उनीहरू त्यतिबेला मात्रै रिसाउँछन्, जब मान्छेले उनीहरूलाई दुःख दिन्छन् ।
रोज भन्छिन्, ‘कैयौँ तरिकाले मलाई जिन्दगीभर सजाय मिल्यो । अहिले पनि सामान लिन स्टोर जाँदा त्यहाँ अनजानलाई देख्दा लाग्छ, कतै यी मान्छेले पनि मेरो भिडियो त हेरेनन् ?’
उनी अब चुप लागेर बस्न चाहन्नन् । उत्पीडन र अत्याचारविरुद्ध डट्न चाहन्छिन् ।
(अनुवाद- नवराज कुँवर)
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ १६:४०