तिहारका लागि किनमेल गर्ने सर्वसाधारणको भिड बजारमा बढेकाे छ । विशेषगरी तिहारका बेला फूल, माला, फलफुल, एलइडी बत्ती र ड्राइफुडको माग उच्च हुने गर्छ । कोरोनापछिका दुई चाडले बजार चलायमान बने पनि छिमेकी देशबाट आवश्यक सामान आयात हुन नसक्दा यो वर्ष बजार केही महँगाे बनेकाे छ ।
तिहारलक्षित सामानहरू यो वर्ष २५ देखि ३५ प्रतिशतसम्मले महँगाे भएकाे नेपाल खाद्य किराना व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारमा प्रयोग हुने भाइमसाला लगायतका ड्राइफुड गएकाे वर्षभन्दा कम आयात भएकाे छ । जसले गर्दा गतवर्षको तुलनामा यो वर्ष भाइमसालामा मात्रै २५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

महासंघको मूल्य सूचीलाई आधार मान्ने हो भने काजु प्रतिकिलो १५०० रुपैयाँ रहेको छ भने छोकडाकाे मूल्य १ सय ७५ रुपैयाँ पुगेकाे रहेको छ । योसँगै सुकमेल २९ सय, किसमिस ४ सय २५, ल्वाङ १२ सय ८०, पेस्ता १६ सय ६० रुपैयाँ प्रतिकिलोको दरले बिक्री वितरण भइरहेको छ ।
योसँगै बदाम प्रतिकिलाे २ सय २५ र ओखर ५ सय २५ रुपैयाँमा काराेबार भइरहेकाे छ । यता चिनी, गहुँको पिठो, तेल लगायतका खाद्यवस्तुमा पनि मूल्य वृद्धि हुन पुगेको छ । तोरीको तेल ३ सय ५० रुपैयाँ प्रतिलिटरले बिक्री वितरण भइरहेको छ भने सूर्यमूखी तेल २ सय ४० रुपैयाँ प्रतिलिटर रहेको छ । यस्तै चिनीकाे मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ भने तिल ३ सय रुपैयाँदेखि ४ सय ५० रुपैयाँसम्ममा काराेबार भइरहेकाे छ ।
यस्तै मैदा र आँटाकाे मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ भने चामलको खस्रो पिठो ५० रुपैयाँ र मसिनो पिठो प्रतिकिलो ६० रुपैयाँ रहेको छ । यस्तै बेसन प्रतिकिलो १ सय ६० रुपैयाँ र जिरा प्रतिकिलो ३ सय ६५ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ १४:१०