धनगढी उपमहानगरपालिका-१२, कमैया शिविरमा बस्ने ३८ वर्षीया भागरथी चौधरीले कुवेतदेखि कतारसम्म पुगेर मजदुरी गरिन् । पराया भूमिकाे कुनै घरमा उनले पाएकाे दुःख भुल्नलायक छ । ऋण काडेर उनी विदेशिनुकाे सपना थियाे, गाउँमा आफ्नै एउटा सानाे घर बनाउने अनि दुई छोरा र एक छाेरीलाई राम्राेसित पढाइलेखाइ गर्ने ।
तर, परिणाम उनकाे याेजनाविपरीत भइदियाे । नेपालमै बसेर केही गर्ने साेचका साथ स्वदेश फर्केकी उनले पहिलाजस्तै अर्काकाे बारीमा कुटाेकाेदालाे नै समाउनुपर्याे । उनका छाेराले पनि आमाजस्तै बाेनिबुताे गरेर पेट पाल्नुपर्ने भयाे । अरू त अरू, आर्थिक अभावका कारण रोग पालेर बस्नु परेको छ उनले । भन्छिन्, 'दुःखपछि सुख मिल्छ भन्थे । मेरो जिन्दगीमा यस्तो भएन । दुःखपछि झन् धेरै दुःख थपिइरहेका छन् । यस्तैमा कुन दिन काम गर्दागर्दै मर्छु होला ।'
उनलाई अफसोच पनि छ, विदेशमा कमाइ गरेको सबै रकम घर बनाउनमै खर्च गर्नु हुँदैन थियो । तर, अहिले यो पश्चातापले उनको जीवनमा कुनै अर्थ राख्दैन ।
भागरथीकाे एउटा खुट्टा निकै सुकेको छ । त्यसैले हिँड्न समस्या हुन्छ । सानैमा खुट्टामा चोट लागेपछि उपचार नपाएर त्यो खुट्टा सुकेकाे भागरथी बताउँछिन् । फ्याङच्याङ फ्याङच्याङ गरेर पनि पेटका लागि उनले मजदुरी गर्नुपरेकाे छ ।
उनकाे टाउकाेका कपाल पनि सबै झरिसकेका छन् । तर, उपचार गराउन आफूसँग पैसा नभएकाे उनी बताउँछिन् । भन्छिन्, ‘सबैले क्यान्सर लागेपछि कपाल झर्छ भन्छन् । राम्रो ठाउँमा जाँच गराउन पैसा छैन् ।’ नजिकैको मेडिकलमा जाँच गराएर औषधि खाए पनि उनलाई सञ्चो भने भएको छैन । अहिले आफूलाई बेलाबेलामा चक्कर लाग्ने र शरीरमा थकान महसुस हुने गरेकाे उनले सुनाइन् ।
२०५७ सालदेखि सरकारले मुक्त कमैयाहरूलाई शिविरमा राखेकाे हाे । त्यही बेलादेखि भागिरथीसहितका मुक्त कमैयाहरू धनगढी-१२ काे शिविरमा बस्दै आएका छन् ।
सानै उमेरमा विवाह गरेकी भागरथीले बेहेकाे पाँच वर्षमै श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि उनलाई घर खर्च धान्न धौधौ हुन थाल्यो ।
थाेरै जमिन पाए पनि उनका श्रीमानले मजदुरी गरेरै घरखर्च चलाउँथे । अब तीन छोराछोरी पाल्ने जिम्मेवारी पूरापूर भागरथीकै काँधमा आइलाग्याे । अब साँझ बिहानको छाक टार्न नै समस्या हुन थाल्याे । कहिलेकाहीँ त आफू भोकभोकै बसेकाे उनी सुनाउँछिन् ।
विगतका दुःखबारे बाेल्दैगर्दा भागरथी भक्कानिन्छिन् । सानो चुहिने झुपडीमा बस्नुपर्ने बाध्यता थियो उनलाई । त्यसमाथि उनका छोराछोरी हुर्कँदै थिए । अरूको पक्की घर देख्दा त्यस्तै घरमा बस्ने भनेर छोराछोरीले सताउँथे भागरथीलाई ।

अरूकाे घरमा टिभी देख्दा हामी पनि टीभी किनौँ भनेर जिद्दी गर्थे उनीहरू । राम्राेसँग लाउनखानै पुगेकाे थिएन, घर र टिभी त त्याे बेला भागिरथीका लागि असम्भवजस्तै थियाे । अर्कातिर अब छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले सताउन थाल्यो उनलाई ।
तर गाउँमा मजदुरी गरेर छाेराछाेरीकाे भविष्षका लागि केही गर्न सकिएला त ? भागिरथीलाई लाग्याे, याे असम्भव छ । छिमेकीले पनि उनलाई विदेश जान सुझाए ।
अब उनी विदेशिन निचाेडमा पुगिन् । याे निर्णय पनि उनका लागि कम चुनाैतीपूर्ण थिएन । किनकि, न उनी पढेलेखेकी थिइन, न गाउँमा कुटाेकाेदालाे गरेकाेबाहेक उनीसँग कुनै सीप नै थियाे ।
मसिना केटाकेटीलाई घरमा छोडेर जानु उनका लागि सहज भने पक्कै थिएन । कमाइ हुनासाथ पैसा पठाउने बाचा गरी उनले आफ्ना छोराछोरी छिमेकी दाइको रेखदेखमा छोड्ने भइन् ।
अनि ऋण काडेर उनी घरेलु कामदारको रूपमा कुवेत गइन् । त्यहाँ त उनकाे दुःख झनै थपियाे । बच्चा मात्रै हेर्नुपर्छ भनेर लगे पनि त्यहाँ उनले घरको सबै काम गर्नुपर्ने भयाे । काम गर्दागर्दै पनि घर मालिकले उनलाई गाली गर्ने, पिट्नेसमेत गर्न थाले । सुरुमा भाषा नबुझ्दा पनि निकै समस्या झेलिन् उनले । ‘मैले जति काम गरे पनि कुटाइ र गाली खानुपर्थ्याे', उनले भनिन्, 'घरकी मालिकनीले भएभरको रिस मैमाथि खन्याउँथिन् र कुटपिट गर्थिन् ।' उनी दुई वर्षका लागि भनेर गए पनि बस्न नसक्ने भएपछि नौ महिना मात्रै त्याे घरमा बसिन् ।
उनले नेपालबाट कुवेत पठाउने मेनपावर कम्पनीमा आफूलाई काम गर्न गाह्रो भएको कुरा सुनाइन् । याे कुरा घर मालिकले थाहा पाएपछि उनलाई एकसराे कपडाबाहेक केही पनि नदिई त्याहाँबाट निकालिदियाे । उनले फेरि मेनपावर कम्पनीमा सम्पर्क गरेर याे कुरा सुनाइन् र कम्पनीले अर्कै घरमा काम लगाइदियो । त्यहाँ भने उनलाई ठीकठाक थियो । उनी तीन वर्ष नौ महिना त्यहाँ काम गरेर नेपाल फर्किइन् ।
नेपाल फर्केपछि उनले सुरुमा ४ कोठे पक्की घर बनाइन् । अनि छोराछोरीका लागि टिभी किनेर ल्याइन् । विदेशमा उनले कमाएको पैसा घर बनाउँदै सकियो । एउटा सानाे घर बनाउने उनकाे सपना र आफ्नै घरमा टिभी हेर्ने छाेराछाेरीकाे एउटा चाह त पूरा भयाे । तर, जिन्दगीका अथाह चुनाैतीहरू यथावत् थिए ।
अबचाहिँ नेपालमै केही काम गरेर बस्छु भनेर फर्केकी थिइन् उनी । तर, विदेशमा कमाएर पैसाकाे पूरापूर सदुपयाेग गर्न सकिनन् । सबै रकम उनले घर बनाउनमै खर्च गरिन् । त्यसैले फेरि घर चलाउन हम्मेहम्मे हुन थाल्याे । तीन वर्ष नेपालमा बस्दा पनि केही काम नपाएपछि उनलाई फेरि विदेशिनुपर्ने बाध्यता भयो । अनि कतारतिर लागिन् । त्यहाँ भने पहिलेको जस्तो समस्या भएन । काम गर्न पनि सजिलो नै थियो । तर, कमाइचाहिँ खासै नभएकाे उनी बताउँछिन् ।
उनी दुई वर्ष कतार बसेर स्वदेश फर्किइन् । दुई पटकसम्म विदेश गएर कमाए पनि उनी फेरि मजदुरी गरेरै पेट पाल्न बाध्य छिन् । उनी नेपाल फर्केको चार वर्ष पुगिसकेको छ । तर, उनीसँग आम्दानी हुने खालकाे दीगाे काम केही पनि छैन । अहिले त उनकाे शरीर पनि कमजाेर बनेकाे छ ।
पहिला पैसा हुँदा सानै लगानीमा भए पनि कुनै व्यवसाय गर्नुपर्ने रहेछ भन्ने लाग्छ अहिले भागिरथीलाई । अहिले केही व्यवसाय गर्न उनीसँग लगानी छैन । उपचार गर्नसमेत पैसा छैन । भागिरथी भन्छिन्, राम्रोसँग उपचार गरेर सञ्चो भएको भए फेरि विदेश जान्थेँ । त्यसपछि कमाइकाे रकमले कुनै उद्यम गर्थेँ ।'
उनका २० वर्षे जेठा छोराले पढाइ छोडे । उनी अहिले मजदुरी नै गर्छन् । एक छोरा र छोरी भने पढिरहेका छन् ।
विदेशबाट फर्केकाे केही वर्ष भागिरथीले पनि मजदुरी गरिन् । तर, एक वर्षयता उनको टाउको तथा आँखी भुइँका सबै राैँ झरेपछि घाममा काम गर्न नसक्ने भएकी छन् । उनी आफ्नो उपचारमा सहयाेग गरिदिन सहयाेगीहरूसँग अनुनय गरिरहेकी छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८ १४:१८