‘मोबाइल छ, इन्टेरनेट छैन । दुई दिन घरबेटीले वाइफाइ दिनुभएको थियो । त्यसपछि काट्नुभयो । नेट नभएपछि अनलाइन कक्षा पनि छुट्यो,’ काठमाडौं ठमेलकाे श्री जुद्धोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिशा लाब्रेले गुनासो पोखिन् । साथीहरू अनलाइनबाट पढिरहेका छन् तर इन्टरनेट नभएका कारण अनिशाले कक्षा लिन पाइरहेकी छैनन् । उनी कोठामा त्यत्तिकै बस्न विवश छिन् ।
अनलाइन कक्षाबाट वञ्चित भएकी अनिशालाई हामीले सोध्यौँ, ‘अब कसरी पढ्ने त ?’
‘साथीहरूबाट नोट सारेर भए पनि पढ्नुपर्छ,’ उनले छोटो उत्तर दिइन् ।
मकै बेचेर गुजारा चलाउने अनिशाको परिवारले कोठामा वाइफाइ जोड्न सकेको छैन । अनिशाकी आमा सीता भन्छिन्, ‘वाइफाइ जोड्न १५ हजार लाग्छ रे । त्यत्रो पैसा कहाँबाट ल्याउनु ? पैसा हालेर इन्टरनेट चलाउने स्थिति छैन ।’
श्री जुद्धोदय माध्यमिक विद्यालयका विद्यार्थी अनलाइनबाट पढ्दै । सोही विद्यालयमा १० कक्षामै अध्ययनरत पिङ्की रजकको मोबाइल छैन । सानो फलफूल पसलबाट गुजारा चलाइरहेका उनका बुबाआमाले मोबाइल किनिदिन सकेका छैनन् । ‘मोबाइल नै छैन, कसरी अनलाइन कक्षामा पढ्नु ? टेन्सन भएको छ’, पिङ्कीले आफ्नो समस्या सुनाइन् । साथीको घरमा गएर पढ्न खोजे पनि आमाले उनलाई पठाएकी छैनन् । पिङ्कीकी आमा बिना भन्छिन्, ‘समय ठीक छैन । साथीकोमा पठाएर केही भयो भने के गर्ने ? कसैले केही गर्ने होइन । पैसा जम्मा भएपछि मोबाइल किनिदिन्छु ।’
१० कक्षामा अध्ययनरत रातोपुलकी आरजु महर्जनको हातमा मोबाइल छ । अनलाइन कक्षाकै लागि भनेर उनलाई बुबाआमाले १५ हजारको मोबाइल किनिदिए । मोबाइल त पाइन् तर घरमा इन्टरनेट छैन । इन्टरनेट नभएपछि उनी डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा मोबाइल र किताब बोकेर हरेक दिन दिउँसो १२ बजे पुग्छिन् ।
‘डाटाबाट पैसा धेरै सकिन्छ । स्कुलमा फ्रि छ,’ उनी भन्छिन्, ‘साढे ४ बजेसम्म स्कुलमै बसेर पढ्ने गरेको छु । चार–पाँच जना साथी पनि स्कुलमै आउनुहुन्छ ।’
त्यसो त मोबाइल र इन्टरनेट भएका विद्यार्थी पनि अनलाइन कक्षाबाट सन्तुष्ट छैनन् । ‘सरहरूले अनलाइनबाट राम्रोसँग पढाउनुभएको छ । स्कुलमा डाइरेक्ट पढाएको जस्तो अनलाइनमा हुँदैन,’ जुद्धोदयमा १० कक्षामा अध्ययनरत मनीष श्रेष्ठ भन्छन्, ‘अनलाइनबाट भन्दा स्कुलमै पढाएको धेरै बुझिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेर स्कुलमै पढ्न पाए हुन्थ्यो ।’
यी प्रतिनिधि विद्यार्थीको आवाजजस्तै समस्या कति विद्यार्थीको होला ? कति विद्यार्थी अनलाइनमा जोडिएका छन् ? अनलाइनमा नजोडिका विद्यार्थीको शिक्षण सिकाइ कसरी भइरहेको छ ? विद्यालयको सम्पर्कमा नरहेका विद्यार्थी कहाँ छन् ? यिनै विषयको खोजी गर्दै हामी काठमाडौंका पाँचवटा सरकारी विद्यालयमा पुगेका छौँ ।
०००
सानो कक्षामा ४० र ठूलो कक्षाका २० प्रतिशत विद्यार्थी सम्पर्कविहीन
विजय स्मारक माध्यमिक विद्यालय : बालकक्षा छैन
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले कोरोनाको पहिलो लहरदेखि नै अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्यो । तर, अनलाइनमा न्यून विद्यार्थी जोडिए । ‘कक्षा १ देखि ५ सम्म ४० प्रतिशत, कक्षा ६ देखि १० सम्म ६० प्रतिशत र ११ देखि १२ सम्म ७० प्रतिशत मात्र विद्यार्थी जोडिए,’ विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद ढकाल भन्छन्, ‘कोरोनाको पहिलो लहरमा कम विद्यार्थी अनलाइनमा सहभागी भए ।’
कोरोना संक्रमण कम भएपछि गत माघदेखि विद्यालयमा भौतिक रूपमै कक्षा सञ्चालन भयो । तर, विद्यालयमै पठनपाठन भएको तीन महिना पनि नपुग्दै गत १६ वैशाखबाट फेरि निषेधाज्ञा जारी भयो । कोरोनाको दोस्रो लहरले स्कुल पूर्ण रूपमा बन्द भयो । विद्यालय फेरि अनलाइनकै माध्यममा फर्कियो ।
सुनसान विजय स्मारक माध्यमिक विद्यालय ।गत १ असारदेखि सुरु भएको २०७८ सालको शैक्षिकसत्रमा भने अनलाइनमा जोडिने विद्यार्थीको संख्या केही बढेको बताउँछन्, उनी । ‘यो पटक बढेको छ । १ देखि ६ कक्षासम्म ६० प्रतिशत जोडिएका छन् । ठूलो कक्षामा ८० प्रतिशत विद्यार्थी अनलाइनमा पढ्छन्,’ प्रधानाध्यापक ढकाल भन्छन् ।
अनलाइनमा नजोडिएका सानो कक्षाका ४० प्रतिशत र ठूलो कक्षाका २० प्रतिशत विद्यार्थी कहाँ गए त ? ‘कोरोनाले गाउँ गएका छन् । फोन गर्दा गाउँमै छौँ भन्छन् । गाउँमा इन्टरनेट छैन । विद्यालय खुलेपछि आउँछु भनेका छन्,’ उनी भन्छन्, ‘विद्यार्थी सम्पर्कमा छन् तर अनलाइन कक्षामा नजोडिएका हुन् ।’
गत वर्ष कक्षा १ देखि १२ सम्म ७ सय ४९ विद्यार्थी भर्ना भएको विजय स्मारकमा चालु शैक्षिकसत्रमा ४ सय २५ विद्यार्थी भर्ना भए । भर्ना गर्ने क्रम जारी रहेकाले विद्यार्थीको संख्या नघट्ने विद्यालय प्रशासनको अनुमान छ ।
कोरोनाका कारण विजय स्मारकले बालकक्षा सञ्चालन गरेको छैन । शिक्षकले नर्सरी र यूकेजीका विद्यार्थीका अभिभावकलाई बोलाएर होमवर्क दिएर पठाउने गरेका छन् । कोरोनाअघि विजय स्मारकमा नर्सरीमा २० र केजीमा २५ जना विद्यार्थी थिए । हाल १० जना विद्यार्थी विद्यालयको सम्पर्कमा छन् ।
०००
पद्यमकन्या माध्यमिक विद्यालय : विद्यार्थीसँग डिभाइस नै छैन
पद्यमकन्या माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना हुन आएकी खुसी गहतराज अनलाइन कक्षाका लागि मोबाइल नभएको गुनासो प्रधानाध्यापक रीता तिवारीसँग गर्दै थिइन् । ‘सानो मोबाइल छ । यसमा जुम डाउनलोड गर्न मिल्दैन । इन्टरनेट पनि छैन,’खुसीले प्रधानाध्यापक तिवारीसँग आफ्नो दुखेसो बिसाइन् । प्रधानाध्यापक तिवारीले जुमबाट सम्भव नभए म्यासेन्जरमा जोडिन सुझाउँदै पाठ्यपुस्तक लैजान भनिन् ।
डिभाइस र इन्टरनेट नभएका कारण अनलाइन कक्षामा जोडिन विद्यार्थीलाई सकस भएको बताउँछिन्, प्रधानाध्यापक तिवारी । ‘कोरोनाको पहिलो लहरमा ५० प्रतिशतसँग मोबाइल र इन्टरनेट नै थिएन,’ उनी भन्छिन्, ‘अनलाइनमा सबै विद्यार्थी जोडएका छैनन् । गत वर्ष ८ देखि १० सम्म ७० प्रतिशत र तलको कक्षामा ३० प्रतिशत मात्र जोडिएका थिए । यसपालि ९–१० कक्षामा ८० प्रतिशत र प्राइमरीमा ७० प्रतिशत अनलाइनमा जोडिएका छन् ।’
भूकम्पले भत्किएको पद्यमकन्या माध्यमिक विद्यालयको भवन पुनःनिर्माणको काम भइरहेको छ । काेभिड महामारीपछि १० प्रतिशत विद्यार्थी गाउँमा गएको उनले बताइन् । ‘गाउँ गएका विद्यार्थीसँग इन्टरनेट छैन । दुर्गम गाउँमा डाटा पनि चन्दैन,’ उनी भन्छिन्, ‘अघिल्लो वर्ष ५ सय विद्यार्थी थिए । अहिले पनि त्यही अनुपातमा विद्यार्थी छन् तर अनलाइनमा जोडिन सकेका छैनन् ।’
नर्सरी र केजीमा भने विद्यार्थीको संख्या घटेको उनले बताइन् । ‘कोरोनाअघि नर्सरी र केजीमा २०/२० जना विद्यार्थी हुन्थे । अहिले पाँच जना मात्र छन्,’ उनी भन्छिन्, ‘नर्सरी र केजीको अनलाइन कक्षा गर्न सकिएको छैन । बच्चाको बेस नै बिग्रने स्थिति छ ।’
बिहान ७ बजेदेखि बेलुकासम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता विद्यालयलाई छ । ‘एउटा डिभाइस हुन्छ तर परिवारमा तीन जना बच्चा हुन्छन् । एउटै समय भयो भने एउटाले पढ्ने अर्कोले पढ्न नपाउने हुन्छ । त्यसैले दुई सिफ्टमा पढाउने गरेका छौँ,’ उनी भन्छिन् ।
यसरी पढाउँदा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएकोमा चिन्तित छिन्, प्रधानाध्यापक तिवारी । ‘अनलाइन भनिएको छ । बत्ती जान्छ । घरी इन्टरनेट जान्छ । विद्यार्थीले म्युट गर्छन्, भिडियो अफ गर्छन् । बच्चाले पढे-नपढेको देखिँदैन,’ उनी भन्छिन्, 'अनलाइनमा जोडिनु ठूलो होइन । विद्यार्थीको सिकाइ कति प्रभावकारी भएको छ, त्यो महत्त्वपूर्ण हो ।’
अनलाइनबाट गरिएको गायन प्रतियोगितामा सहभागी पद्यमकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरू । अनलाइन कक्षाका लागि स्थानीय सरकारले विद्यालयलाई पर्याप्त सहयोग नगरेको उनको गुनासो छ । ‘काठमाडौं महानगरले केही गरेको छैन । स्थानीय वडाले यो विद्यालयमा के समस्या छ ? कति विद्यार्थी जोडिएका छन् ? कति छैनन् ? कतिसँग इन्टरनेट मोबाइल छ भनेर सोधेको पनि छैन,’ उनी भन्छिन्, ‘वडाले विद्यार्थीलाई इन्टरनेटको एक्सिस त दिन सक्थ्यो नि ।’
०००
पद्योेदय माध्यमिक विद्यालय : मजदुरका छोराछोरी वञ्चित
पुतलीसडककाे पद्योेदय माध्यमिक विद्यालयमा २० प्रतिशत विद्यार्थी विद्यालयको पहुँचभन्दा बाहिर छन् । कोही गाउँमा गएको र काठमाडौंमै भएकासँग पनि डिभाइस नभएकाले अनलाइनमा जोडिन नसकेको बताउँछन्, प्रधानाध्यापक नारायण गौतम ।
‘कमजाेर आर्थिक अवस्थाका अभिभावकले डिभाइस किन्न सकेका छैनन् । कोरोनाले राेजगारी गुमेकाे छ । कोठामा खाने छैन, कसरी मोबाइल, ल्यापटप र इन्टरनेट जोड्ने भन्नुहुन्छ,’ उनी भन्छन्, ‘विद्यालय खुलेपछि मात्र बच्चालाई पढाउने अभिभावकले वचन दिनुभएको छ ।’
प्रधानाध्यापक गौतमका अनुसार, पद्योेदयमा १ सय विद्यार्थी घटेका छन् । ‘साढे ९ सय विद्यार्थी थिए, १२ कक्षा पास भएर गए । ११ को भर्ना भइरहेको छ । १ सय विद्यार्थी घटेको देखिन्छ,’ उनी भन्छन्, ‘नर्सरीमा संख्या कम छ । भौतिक कक्षा सञ्चालन हुँदा २० जना थिए । अनलाइन कक्षामा पाँच जना मात्र छन् ।’
सुनसान पद्योेदय माध्यमिक विद्यालय ।सरकारले लक्षित वर्गलाई डिभाइस उपलब्ध गराउनुपर्ने मत राख्छन्, प्रधानाध्यापक गौतम । ‘लक्षित वर्गलाई राज्यले हेर्नुपर्छ । रोजोरोटी नै गुमाएकाले डिभाइस किन्ने स्थिति छैन,’ उनी भन्छन्, ‘अनलाइन कक्षा निष्प्रभावी देखिन्छ । अहिले नपढी नम्बर पाइने मानसिकता विद्यार्थीमा बढेको छ । यसले दीर्घकालमा विद्यार्थीको जीवनमा ठूलो असर गर्छ ।’
०००
दरबार हाई स्कुल : भूकम्पअघिका विद्यार्थी सम्पर्कविहीन
अन्य विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दा दरबार हाई स्कुलमा भने बढेको छ । कोरोना महामारीअघि ४ सय विद्यार्थी भर्ना भएकोमा हाल ६ सय विद्यार्थी अध्यनरत छन् । ‘भौतिक रूपमा पढाइ नभएपछि निजी विद्यालयका विद्यार्थी भर्ना भएकाले बढेको हो । व्यवस्थापन, विद्यालय भवन पनि नयाँ भयो । विद्यार्थी पनि नयाँ आए,’ प्रधानाध्यापक शारदा पौडेल भन्छिन्, ‘शुल्क तिर्नु नपर्ने भएकाले निजीबाट आएका हुन् ।’
विद्यार्थीको संख्या बढे पनि अनलाइन कक्षामा भने सबै विद्यार्थी नआएको बताउँछिन्, उनी । ‘अनलाइनमा नियमित ५० प्रतिशत मात्र विद्यार्थी हुन्छन् । आज जोडिएका भोलि जोडिँदैनन् । भोलि अर्को विद्यार्थी जोडिन्छ,’ उनी भन्छिन् ।
दरबार हाई स्कुलमा भूकम्पअघिका विद्यार्थी अनलाइन कक्षामा सहभागी भएका छैनन् । ‘१० प्रतिशत पुराना बच्चा सम्पर्कमा छैनन् । फोन पनि उठ्दैन । कोही गाउँ गए । कोहीसँग डिभाइस छैन,’ उनी भन्छिन् । कोरोनाका कारण बालकक्षा सञ्चालन गर्न नसकिएको उनले बताइन् । ‘साना बच्चा डिभाइस चलाउन पनि सक्दैनन् । २२ जना बच्चा थिए । पाँच जना मात्र सम्पर्कमा छन्,’ उनी भन्छिन् ।
सुनसान दरबार हाई स्कुल ।भौतिक रूपमा पढाइ नहुँदा विद्यार्थीको संवेगात्मक र मानसिक विकास ठप्प भएको निचोड उनको छ । ‘शब्दमा व्यक्त गर्न गाह्रो छ । स्कुलमा जुन गतिमा विद्यार्थीको हरेक कुराको विकास हुन्थ्यो, त्यो अहिले ठप्प छ,’ उनी भन्छिन्, ‘अभिभावकले डिभाइस दिएको छ तर बच्चा अनलाइनमा जोडिएर गेम खेलेर बसेको हुन्छ । अनलाइनमा बोल्दैनन् । अनलाइनमा कति सिके ? के गरे भन्ने थाहा नै हुन्न ।’
०००
जुद्धोदय माध्यमिक विद्यालय
ठमेलस्थित श्री जुद्धोदय माध्यमिक विद्यालयमा कोरोनाअघि नर्सरीदेखि ११ कक्षासम्म १ हजार विद्यार्थी थिए । हाल ८ सयको हाराहारीमा मात्र विद्यार्थी छन् । भएका विद्यार्थी पनि सबै वैकल्पिक माध्यमको पढाइमा जोडिन सकेका छैनन् । ‘११ र १२ कक्षामा ७० प्रतिशत, ६ र ७ कक्षामा ४० प्रतिशत र तलको कक्षामा २० प्रतिशत मात्र छन्,’ प्रधानाध्यापक लक्ष्मण पैडेल भन्छन्, ‘सानो कक्षाका ८० प्रतिशत विद्यार्थी सम्पर्कमै छैनन् ।’
श्री जुद्धोदय माध्यमिक विद्यालय ।जुद्धोदयको बालकक्षामा कोरोनाअघि ३४ जना विद्यार्थी थिए । हाल १९ जनामा झरेको छ । अनलाइन कक्षामा पाँच/छ जना मात्र सहभागी हुने गरेका छन् । अनलाइनमा जोडिन नसकेकालाई हप्तामा दुई दिन विद्यालयमै बोलाएर सहजीकरण गर्ने गरिएको उनले बताए ।
‘यहाँ मेचीदेखि महाकालीसम्मका विद्यार्थी छन् । सबै विद्यार्थी छन् तर अनलाइनमा छैनन्,’ उनी भन्छन्, ‘विद्यालयमा एउटा विद्यार्थीको संख्या हुन्छ । अर्को सिकाइको कुरा हुन्छ । संख्याको कुरा एउटा हाे, महाचुनौती त विद्यार्थीको सिकाइ नै भएको छ ।’
०००
शिक्षकका दुःख
कोरोनाका कारण प्रविधिसँग घुलमिल हुन शिक्षकलाई पनि समय लाग्यो । तर, विद्यार्थीलाई खोज्न नै मुख्य चुनौती बनेको बताउँछन्, शिक्षकहरू । अनलाइनमा विद्यार्थीलाई व्यवस्थापन गर्न शिक्षकहरूलाई सकस परेको छ । यद्यपि, विद्यार्थीको सिकाइलाई कम हुन नदिएको उनीहरू बताउँछन् ।
‘सबै विधि प्रयोग गरेका छौँ । क्यामेराबाट देखाएर पढाएका छौँ । तर, विद्यार्थीले रेस्पोन्स नगर्ने ठूलो समस्या छ,’ जुद्धोदयका गणित विषयका शिक्षक सुजन काफ्ले भन्छन्, ‘भौतिक रूपमा जस्तो सहज र प्रभावकारी भएको छैन ।’
अनलाइनबाट गणित विषय पढाउँदै शिक्षक । ०००
देशभरको स्थिति : ३० प्रतिशत वैकल्पिकको पहुँचमा छैनन्
काठमाडौंका पाँचवटा विद्यालयमा पुगेपछि सानो कक्षामा ८० प्रतिशत र ठूलो कक्षामा २० प्रतिशत विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा नजोडिएको पाइयो । विद्यालयको सम्पर्कमा रहेका विद्यार्थी पनि दैनिक ५० प्रतिशत मात्र अनलाइनमा जोडिएको देखियो । दैनिक सहभागी हुने ५० प्रतिशतमा पनि कोही म्युट गरेर बस्ने, कोही नबोल्ने र धेरैजसो विद्यार्थी मोबाइलमा गेम खेलेर बस्ने गरेको अनुभव विद्यालयहरूले सुनाए ।
त्यसपछि हामी देशभरको स्थिति के छ भनेर बुझ्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर पुग्यौँ । तर, केन्द्रसँग कति विद्यार्थी वैकल्पिक विधिमा जोडिए भन्ने आधिकारिक तथ्यांक नै नभएको पाइयो ।
‘कति विद्यार्थी अनलाइनमा जोडिए ? कति रेडियो, टेलिभिजनमा जोडिए, कति कुनै पनि एक्सिसमा भएनन् भन्ने विवरण छैन,’ केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल भन्छन्, ‘सिस्टम बनेको थिएन । अर्को कोभिडले पनि सर्भे गर्ने स्थिति भएन ।’
यद्यपि, प्रारम्भिक अध्ययनले भने अनालइनमा ३० प्रतिशत, रेडियो टीभीबाट ६० प्रतिशत र ३० प्रतिशत कुनै पनि पहुँचमा नभएको पाइएको उनले बताए । कुनै पनि पहुँचमा नभएकालाई किताब पुर्याउने काम गरिएको बताउँछन्, उनी ।
किन प्रभावकारी भएन ?
सरोकारवाला निकायले समयमै कार्ययोजना नबनाएकाले वैकल्पिक विधि प्रभाकारी नभएको ठम्याइ विज्ञहरूको छ । ‘मन्त्रालयको कार्ययोजना ढिला आयो । पहिलो लकडाउन चैतमा भयो । योजना असारमा आयो । डकुमेन्ट त आयो । तर, कार्यान्वयन गर्ने संयन्त्र बनेन,’ शिक्षाविद् बालचन्द्र लुइँटेल भन्छन्, ‘शिक्षा मन्त्रालय र विद्यालयको कार्यक्षमतामाथि प्रश्न उठेको छ । केही विद्यालय र शिक्षकले राम्रो पनि गरेका छन् ।’
आपत्कालमा अन्तरिम योजना बनाउन सरकार चुकेको उनी बताउँछन् । ‘अनलाइनमा छुटेकालाई कुन माध्यमबाट जाने ? विद्यालयको सम्पर्कमा नरहेकालाई के गर्ने भन्ने आपतकालीन योजना आएन,’ उनी भन्छन् ।
खस्कियो शैक्षिक गुणस्तर
हालसालै सार्वजनिक भएको महालेखाको प्रतिवेदनले पनि शिक्षाको गुणस्तर खस्किएको औँल्याएको छ । महालेखाले कक्षा १० (एसईई) लाई आधार मानेर निकालेको प्रतिवेदनमा आन्तरिक मूल्यांकनले सर्टिफिकेटमा विद्यार्थीको नम्बर बढी देखिने तर सिकाइ कमजोर भएको निष्कर्ष निकाल्दै स्वमूल्याङ्कन पद्धति पुनरावलोकन गर्न सुझाव दिएको छ ।
महालेखाको प्रतिवेदन । भर्ना संख्या बढ्यो
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले महामारीमा पनि विद्याथी भर्नाको संख्या बढेको जनाएको छ । ‘देशभर १ देखि १२ सम्म ८४ लाखको हाराहारीमा विद्यार्थी छन,’ महानिर्देशक अर्याल भन्छन्, ‘विद्यार्थीको संख्या घटेको छैन । वैकल्पिक विधिमा नआएका हुन् । विद्यालय खुलेपछि विद्यार्थी आउँछन् ।’ नयाँ शैक्षिकसत्र २०७८ सालको भर्ना चलिरहेकाले यो वर्ष कति विद्यार्थी भए भन्ने तथ्यांक आइनसकेको उनले बताए ।
२०७६ र ०७७ मा भर्ना भएका विद्यार्थीको संख्या । स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।निजीमा विद्यार्थी घटे, सामुदायिकमा बढे
केन्द्रका अनुसार कोरोना महामारीमा निजी विद्यालयमा विद्यार्थीको संख्या घटेको छ भने गाउँका सामुदायिक विद्यालयमा बढेको छ । तर, सामुदायिक विद्यालयमा कति बढे, निजीमा कति घटे भन्ने केन्द्रसँग तथ्यांक छैन ।
‘निजीक्षेत्रका स्कुलमा विद्यार्थी घटेको देखिएको छ । काठमाडौंका सामुदायिक विद्यालमा उस्तैउस्तै छ । बाहिरका सामुदायिक विद्यालयमा बढेको छ । स्कुल सञ्चालन नभएपछि शुल्क तिर्नुभन्दा गाउँमै गएर सरकारीमा भर्ना गरेको पाइएको छ,’ उनी भन्छन् ।
विद्यालय मात्र बन्द किन ?
सबै क्षेत्र खुला गरेर विद्यालय बन्द गर्नु आश्चर्य भएको बताउँछन्, महानिर्देशक अर्याल । ‘एउटा विद्यालय अर्को सिनेमा हल खोल्नु हुँदैन भनेको छ । परीक्षा पनि गर्नु हुँदैन भन्ने । विद्यालयबाट मात्र कोरोना सर्ने हो ? यातायातमा मान्छे कोचिएका छन् । जात्रा, नारा जुलुस भेला चलेकै छ । विद्यालय मात्र बन्द किन ?’, उनी प्रश्न गर्छन् ।
दुई वर्षमा शिक्षाक्षेत्र डामाडोल भएको उनको बुझाइ छ । ‘यस वर्षको एमबीबीएसको नजिता आयो । तोकिएको सिटमा उत्तीर्ण भएनन् । कारण गत वर्ष १२ मा नपढेका विद्यार्थी भएर हो । विद्यालय बन्दको असर एक वर्षमै देखिन थाल्यो,’ उनी भन्छन्, ‘पठनपाठन सञ्चालन गरेन भने जेनेरेसन ग्याप हुने खतरा बढेको छ ।’
भौतिक कक्षाको विकल्प छैन
भौतिक रूपमै पठनपाठन गर्नुको विकल्प नभएको तर्क उनको छ । ‘भौतिकरूपमै जानुपर्छ । सबै विद्यालय एकै पटक सञ्चालन गर्नुपर्छ भन्ने छैन । बिहान, दिउँसो र बेलुकाको सिफ्ट बनाएर पढाउन सकिन्छ,’ उनी भन्छन्, ‘दिनको २ घण्टा २५ जनाभन्दा कम राखेर पढाउन सकिन्छ । सुरुमा हप्तामा तीन दिन सञ्चालन गर्दा पनि हुन्छ ।’
तर, शिक्षाविद् लुइँटेल भने महामारीमा वैकल्पिकको विकल्प नरहेको बताउँछन् । ‘घरघरमा इन्टरनेटको व्यवस्था हुनुपर्यो । अब किताबको सट्टा डिभाइस राज्यले दिनुपर्यो,’ शिक्षाविद् लुइँटेल भन्छन्, ‘महामारी रहेसम्म वैकल्पिकको विकल्प छैन । यसलाई कसरी बेटर बनाउने भन्ने विषयमा छलफल हुनुपर्छ ।’
जिम्मा स्थानीय सरकारलाई दिऔँ
शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने सुझाव लुइँटेलको छ । ‘संघीय शिक्षा ऐन पनि छैन । संघ, प्रदेश र स्थानीय सरकार कसले सञ्चालन गर्ने भन्ने कन्फ्युजन छ,’ उनी भन्छन्, ‘सिंहदबारबाट रोल्पाको शिक्षा हेर्न सकिँदैन । रोल्पालाई नै दिनुपर्छ । स्थानीय जनप्रतिनिधिलाई दियो भने राम्रो हुन्छ ।’
सम्बन्धित समाचार :
बहसमा अनलाइन शिक्षा : कति ठीक, कति बेठीक ?
किन आवश्यक छ अनलाइन कक्षा ?
अबको विकल्प अनलाइन शिक्षा
अनलाइनमा बालबालिकालाई कति समय पढाउने ?
वैकल्पिक शिक्षण हल्लै बढी : विद्यार्थी ७० लाख, पढ्ने सय जना !
वैकल्पिक शिक्षण सिकाइबाटै शैक्षिकसत्र चलाइने
विद्यार्थीले कम्तीमा ७० प्रतिशत सिक्नैपर्ने
अनलाइन कक्षाको शुल्क कति ?
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका- २०७७ स्वीकृत
‘विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा-२०७७’
शिक्षाको आपतकालीन योजना खोइ ?
अब होम स्कुलिङ, अभिभावक शिक्षक, सम्भव छ ?
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८ १२:४५