नेपालको शैक्षिक क्षेत्रमा अराजकता बढ्दै गएको देखिन्छ । विशेषगरी विद्यार्थी राजनीतिका आवरणमा कानुन हातमा लिने प्रवृत्ति बढेसँगै यो अवस्था आएको बुझ्न कठिन छैन । अहिले शिक्षण संस्थाहरूमा कुन हदसम्मको अराजकता देखिन थालेको छ भन्ने विषय बुझ्न केही उदाहरण यहाँ प्रस्तुत गरिएको छ ।
उदाहरण १ :
केही समयअघि पशुपति बहुमुखी क्याम्पसका पूर्वप्रमुख विष्णुप्रसाद पन्तलाई विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनले कालोमोसो दल्यो । क्याम्पसमा भ्रष्टाचार र शैक्षिक विकृति बढाएको भन्दै कारबाहीको नाममा उक्त संगठनले पन्तको निवासमै पुगेर कालोमोसो दलेको थियो ।
यदी सो संगठनको आरोप बमाेजिमको घटना भएकै हो भने त्यसको कानुनी उपचार सम्भव नै छ । तर उनीहरू यो विषयको न्यायिक निरुपण गर्ने निकायसम्म जान चाहेनन् । बस्, सबै अधिकार आफैँमा भए झैँ कारबाही गर्न पन्त निवासमै पुगे । हाल पन्त क्याम्पस अनुगमन समितिका अध्यक्ष समेत हुन् ।

उदाहरण २ :
गत १६ साउनमा कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख गोविन्दबहादुर कार्कीमाथि कालोमोसो दलियो । नेपाली कांग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कालोमोसो दलेको थियो । त्यो पनि क्याम्पस परिसरबाहिर भित्र हैन, चिया खाएर बसेको स्थानमा नै गइ विद्यार्थीले कालोमोसो दलेका थिए ।
विद्यार्थी समस्याको बारेमा क्याम्पसलाई जति ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको आरोपमा कालोमोसो दलेको उनीहरूले बताए ।
उदाहरण ३ :
बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा सत्तापक्षीय विद्यार्थी संगठनले तोडफोड गरे । नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल (क्रान्तिकारी),अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड समेत गरे ।
संगठनले निकालेको संयुक्त विज्ञप्तिअनुसार एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण उनीहरूले तोडफोड गरेका हुन् ।
ती विद्यार्थीहरूले पुरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गरी महत्वपूर्ण कागजातहरूमा समेत क्षति पुर्याए । २०/२२ वटा मोटरसाइकलमा हल्लाखल्ला गर्दै आएका उनीहरूको शैली विद्यार्थी संगठनको जस्तो नभएको प्रत्यक्षदर्शीको भनाइ छ ।

उदाहरण ४ :
गएको हप्ता नेसनल कलेज अफ इन्जिनियरिङका विद्यार्थीले क्याम्पस प्रशासन तोडफोड गरे । क्याम्पसले महामारीको समयमा पनि सामान्य समयमा जस्तो शुल्क मागेपछि संयुक्त विद्यार्थी संगठन तोडफोडमा उत्रियो । यो मोर्चामा सबै दलका विद्यार्थी संघठन आवद्ध थिए । आफ्नो माग पूरा गराउने नाममा विद्यार्थीको यो हदसम्मको हर्कत गरे ।

०००
माथिका उदाहरण त केही प्रतिनिधि घटना मात्र हुन् । विद्यार्थी संगठनका नाममा अधिकांश क्याम्पसमा अराजकता बढिरहेको पाइन्छ । विद्यार्थीको हकहितका लागि खुलेका यी संगठनको ध्यान अन्तै मोडिएपछि यो अवस्था आएको भन्नेहरूको जमात बाक्लै छ ।
पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बनिरहेको छ । महामारीको कारण रोकिएको पढाई, अन्योल बनेको परीक्षा जस्ता विषयले विद्यार्थीलाई मानसिक तनाब दिइरहेको छ । तर, यो अवस्थामा समेत विद्यार्थीकै नेताहरू भने यो विषयमा आवश्यकता अनुसार बोल्न सक्ने अवस्थामा देखिँदैनन् ।
क्याम्पस प्रशासनले गर्ने काम र भर्नालगायतका साना विषयमा अल्झेका कारण समेत यी संगठन अहिलेको जस्तो जटिल अवस्थामा समेत औपचारिकता पूरा गर्दै बसेका छन् । मूल समस्याका विषयमा विज्ञप्ति जारी गर्नेबाहेक उनीहरूको थप पहल कहीँकतै देखिँदैन । वास्तवमा शैक्षिक मुद्दाबारे विद्यार्थी संगठन आफैँ नै स्पष्ट छैनन् ।
तर विद्यार्थी संघठनको नेतृत्व भने यसलाई नकार्छ । आफूहरूले विद्यार्थीको हकहितमा सधैँ बोलिरहेको उनीहरूको दाबी छ । तर यो दाबीसँग उनीहरूको व्यवहार भने मिल्दैन । अझै पनि सरकारी क्याम्पसहरूमा बिहानैदेखि सक्रिय नेताहरू विद्यार्थीको कागजपत्र बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन् । आफ्नो संगठनमा कति विद्यार्थी तान्ने भन्ने होडबाजी विद्यार्थी नेताहरूमा देखिन्छ । जसका लागि फारम भरिदिने देखि अनेक प्रशासनिक कामकाज मिलाइदिने काम गरिरहेका हुन्छन् ।
यस्तै क्याम्पसका प्रशासनिक विषयमा कुरा नमिल्दा उच्च पदमा बसेकाहरूलाई समेत कालोमोसो दल्न पछि नपर्ने यी संगठनका नाइकेहरू क्याम्पसको सम्पत्ति तोडफोड गर्न समेत पछि पर्दैनन् ।
के यस्तै थियो विद्यार्थी संगठन ?
नेपालमा विद्यार्थी संगठनको विगत केलाउन २०२७ साल यताको घटनाक्रमलाई हेरे पुग्छ । २०२७ सालमा निरंकुश पञ्चायती व्यवस्था उत्कर्षमा थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए । राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै १ पुस २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था लादेका थिए ।
त्यही प्रतिबन्धकै बीच नेपाली कांग्रेसले बहुदलीय राजनीतिको वकालत गर्न र आफ्ना राजनीतिक एजेण्डा स्थापित गर्न गठन गर्यो, नेपाल विद्यार्थी संघ (नेविसंघ) । त्यससँगै अन्य विभिन्न विद्यार्थी संघठनहरू जन्मिए । र, आफ्नो राजनीतिक आस्थाअनुसार शैक्षिक नीति परिवर्तनको मागसहित जनजीविका र न्यायका निम्ति महत्त्वपूर्ण आन्दोलन चलाए ।
तत्कालीन समयमा राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनको सहयोगमा अनकौँ आन्दोलन छेडिए । पञ्चायती सत्तालाई २०३६ सालको जनमतसंग्रहका लागि विद्यार्थी संगठनको बलमा पनि बाध्य पार्न सकिएको थियो । पछि यिनै विद्यार्थी संगठनले क्याम्पस–विश्वविद्यालयको राजनीतिमा एकछत्र प्रभाव समेत जमाउन सफल भए ।
जसको बदलामा पञ्चायती सत्ताले अर्को विद्यार्थी संगठन जन्मायो, राष्ट्रवादी विद्यार्थी मण्डल । सोही संगठनलाई खिसिट्यूरी गर्ने भाषामा 'मण्डले प्रवृत्ति' भन्न सुरु गरियो ।
नेपालका ठूला आन्दोलनमा रचनात्मक शक्ति बनेका विद्यार्थी संगठनले मुलुकका लागि थुप्रै नेता जन्मायो । अहिले राष्ट्रिय राजनीतिमा स्थापित थुप्रै नेताको राजनीतिक यात्रा विद्यार्थी संगठनबाटै सुरु भएको हो ।
पहिलो नेपाल बन्द सफल पार्ने घनश्याम भुसाल हुन् वा गगन थापा, योगेश भट्टराई, विश्वप्रकाश शर्मा, लेखनाथ न्यौपाने, प्रदीप पौडेलदेखि रामकुमारी झाँक्रीसम्म । धेरै नेता जन्माउन सफल भयो, विद्यार्थी आन्दोलन । नेविसंघकै सभापति भएर आएका शेरबहादुर देउवा त अहिले प्रधानमन्त्री नै छन् ।
यस्तो इतिहास बोकेको विद्यार्थी संगठनमा भने पछिल्लो समय अराजक गतिविधि मौलाउन थाल्यो । लोकतन्त्रको नारा कार्यकर्तालाई घोकाए पनि आचरणमा उनीहरू लोकतान्त्रिक भएको पाइँदैन । जस्तो, नेविसंघ चितवन महाधिवेशनमा विश्वप्रकाश शर्मा सभापति चुनिँदै गर्दा परालका माचभरी चुप्पी, तरबारहरू लुकाइएको समाचार सार्वजनिक भएकै थियो ।
त्यस्तै गगन थापालाई सभापति चुन्न नपाएकोमा आक्रोशित कार्यकर्ताले त्यतिबेला पनि पोखराको दिपेन्द्र सभागृह तोडफोड गरेकै हुन् । प्रधानमन्त्री समेत रहेका गिरिजाप्रसाद कोइरालाविरुद्ध नारा लगाउँदै संगठनका कार्यकर्ताले यस्तो हर्कत देखाएका थिए । र, यो क्रम बढेर झन् खस्किँदो अवस्थामा छ, वर्तमान विद्यार्थी आन्दोलन । अपवादबाहेक अनेकौँ कुटपिट काण्ड मिलाउँदै विद्यार्थी नेताहरूको कार्यकाल बितिरहेका हुन्छन् ।
प्रजातन्त्र र बहुदलवादको एजेण्डा स्थापित गर्न स्थापना गरिएको नेविसंघ नै होस् या अन्य विद्यार्थी संगठन, सबै तदर्थवादकै वरपर रमाइरहेका छन् । राष्ट्रिय राजनीतिदेखि विभिन्न शैक्षिक मुद्धामै समेत उनीहरूको भुमिका 'भुत्ते' हुँदै गएको टिप्पणी हुने गरेको छ ।
औचित्यमाथि प्रश्न
एकैछिन अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको भनाइ स्मरण गरौँ । अश्वेत अमेरिकीका लागि खुलेका कलेज र विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्तमा सम्बोधन गर्दै उनले भनेका थिए, ‘समानता र न्यायको लडाइँ चेतना, संवेदना, लगावका साथै उचित आक्रोशबाट सुरू हुन्छ । आवश्यकताअनुसार रणनीति, कार्यक्रम, संगठन, जुलुस र भोट सबै बदल्नुस्, जुनस्तरमा यसअघि कहिल्यै नभएको होस् ।’
नेपालका विद्यार्थी संघठनको औचित्यमाथि प्रश्न गर्दैगर्दा ओबामाको यो भनाइ मनन गरौँ । के समयअनुकुल परिवर्तन भइरहेका छन् त हाम्रा विद्यार्थी संगठन ? आफ्नो आक्रोशलाई सही ठाउँमा पोखिरहेका छन् ? वा क्याम्पसमा हैकम जमाएर माउ पार्टीको कठपुतली मात्र बनिरहेका छन् ? जबकी सैद्धान्तिक रूपमा विद्यार्थी संगठनलाई सत्ताको स्थायी प्रतिपक्षीको रुपमा चित्रण गरिन्छ ।
तर, नेपालका नाम चलेका प्राध्यापकदेखि समग्र बौद्धिक जमात विद्यार्थी संगठनको हर्कतबाट वाक्क भएको पाइन्छ । त्यसैले त समाजशास्त्री चैतन्य मिश्र भन्ने गर्छन, ‘दलहरूले विश्वविद्यालयमा सेना खडा गरे ।'
त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा राजनीतिक दलको संरक्षणकै कारण विद्यार्थी संगठनहरू अराजक बन्दै गएको औँल्याउछन् । ‘म उपकुलपति हुँदा राजनीतिक हस्तक्षेप अन्त्य गर्छु भनेर छिरेको थिएँ । तर, यसरी गाँजिएको रहेछ, काम गर्न नै असहज भयो,' उनी अनुभव सुनाउँछन्, ‘विद्यार्थीले तालाबन्दीदेखि अनेकौँ हर्कत गर्थे । आफ्नो अफिस पनि जान नसकेर मैले बाहिरैबाट कार्यालय चलाउनु परेको थियो ।'
माथेमाका अनुसार त्यतिबेला विश्वविद्यालयमा राजनीति गर्नेहरू अहिले सांसददेखि मन्त्रीसम्म भइसकेका छन् । माग सम्बोधन गराउने नाममा विद्यार्थी नेताहरूले प्राध्यापकलाई धम्क्याउने, झपार्ने कुराले आजित बनाएको सम्झन्छन्, उनी । शिक्षणसंस्था नै ध्वस्त पार्ने हिसाबले विश्वविद्यालयमा राजनीतिक प्रहार भइरहनु माथेमालाई निको लाग्दैन ।
त्रिविमै प्राध्यापक रहेका सञ्जीव उप्रेतीदेखि धेरैले राजनीतिक दलको हस्तक्षेपबाट वाक्क भएर विश्वविद्यालयबाट हिड्नुपरेको प्रशस्त उदाहरण छन् । उनीहरूले बारबार यस्ता विद्यार्थी संगठनको औचित्यबारे समीक्षा गर्न आवश्यक रहेको बताइरहेका छन् । तर, विद्यार्थी संघठनहरूलाई समयअनुकुल परिवर्तन हुने कुरा सोच्न फुर्सदसम्म छैन ।
आज आफूलाई पुष्पलाल, बीपीको अनुयायी भनेर दाबी गर्नेहरू नै उनीहरूको विचारबाट च्यूत भएको देखिन्छ । ठिक विपरीत बाटो समाइरहेका छन्, नेपालका विद्यार्थी संगठनले । जबकी बीपी कोइरालाले भन्ने गर्थे – ‘शैक्षिक संस्था बाहुबल प्रयोग गर्ने अखडा होइन, विचारहरूको प्रतिस्पर्धा गर्ने थलो हो ।’
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ ०७:०५