नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै जाँदा कालीकोटमा नेतृत्वका लागि दाबी गर्ने आकांक्षी धेरै छन् ।
कालीकोटमा आसन्न जिल्ला अधिवेशनमा सभापतिका लागि खासगरी वर्तमान सभापति हर्षबहादुर बम र महासमिति सदस्य मोतिराज बमबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ । मोतिराज सभापति शेरबहादुर देउवा समूहका हुन् भने हर्षबहादुर संस्थापनइतर समूहका हुन् । सभापतिमा दाबी गरिरहेका हर्षबहादुर र मोतिराज नाताले दाजुभाइ हुन् ।
सभापतिका लागि नेता शंकर न्यौपानेले पनि नेतृत्वका लागि दाबी गरिरहेका छन् । कालीकोटमा सभापतिका लागि देउवा पक्षबाट आंकाक्षी धेरै छन् । देउवा पक्षबाट हिक्मतबहादुर विष्ट, कालीबहादुर सहकारी र टेकबहादुर शाही आंकाक्षी छन् । विष्ट स्वास्थ्य समस्याका कारणले अधिवेशनसम्म उनी उपस्थित हुन सक्ने अवस्था छैन । सहकारीलाई कांग्रेस कर्णाली प्रदेशको महामन्त्री बनाउन देउवा पक्षका नेताहरू लागेका छन् । टेकबहादुर शाहीलाई तत्काल कुनै पनि हालत दिनु हुँदैन भन्ने पक्षमा देउवा पक्षकै नेताहरू लागेका छन् । कुनै पनि अवसर नपाएका मोतिराज बमलाई देउवा समूहले सभापतिमा उठाउने सम्भावना बढी छ ।
रामचन्द्र पौडेलनिकट शंकर न्यौपानेले सभापतिको दाबी गरेका छन् । तर, कालीकोटमा देउवा समूह बलियो भएकाले पौडेल र सिटौला समूहबाट साझा उम्मेदवार बनाउन कसरत सुरु भएको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले आफ्नो पक्षको नेतालाई सभापति बनाउन चाहन्छन् । अघिल्लो अधिवेशनमा पनि शाहीकै सहयोगमा हर्षबहादुर सभापति भएका थिए । त्यसैले पनि यो पटक शाहीले हर्षबहादुर सभापतिमा सहयोग गर्ने आकलन गरिएको छ ।
३० वर्ष कांग्रेसको राजनीति गरेका मोतिराज पार्टीमा कुनै अवसर नपाएका सरल नेताका रूपमा स्थापित छन् । कांग्रेसको नीति आयोगका सदस्य रहेका मोतिराजले अघिल्लो अधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । मोतिराजले कांग्रेस राजनीतिमा लागेर पनि कुनै अवसर पाएका छैनन् ।
तर, कालीकोटमा कांग्रेसतर्फबाट दुई पटक संसदीय चुनाव लडेका शाहीले जसलाई सहयोग गर्छन्, उसैले जित्ने अवस्था रहेको कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ ११:३९