‘आफ्ना लागि आफैँ काम गर्नुपर्छ, गरी खान उमेरले छेक्दैन ।’
१ सय ७ वर्षीया कुमारी सुनुवारले भनिरहने वाक्य हो यो । अधिकांश मानिसहरूले बुढेसकालमा ‘रिटायर्ड लाइफ’ बिताउने सोख सुनाइरहँदा उनको यो भनाइ तपाईंलाई अनौँठो लाग्न सक्छ ।
तर, कुमारीले भनेर मात्र होइन, गरेरै देखाइरहेकी छन् । यो बुढेसकालमा पनि घरको दलिनमा दाम्लो बाटेर दिन बिताउँछिन् । उनले दाम्लो बेचेरै गुजारा चलाउँछिन् ।
दाम्लो बाट्दै १ सय ७ वर्षीया कुमारी सुनुवार ।सिन्धुलीको कमलामाई नगरपालिका-१०, जहानटोलमा बस्ने कुमारीको घरखर्चको केही भाग दाम्लो बेचेर आउँछ । उनले सक्रिय भएर काम गरेको अवस्थामा एक दिनमा दुईवटा दाम्ला बाट्न भ्याउँछिन् । आम्दानी धेरथोर जति होस्, काम नगरी उनलाई सन्तोष मिल्दैन ।
सुनुवारका आँखा कमजोर छन् । छालाले आफ्नो ठाउँ छोडिसक्यो । तैपनि उनको आत्मविश्वास भने डगमगाएको छैन । १ सय ७ वर्ष पुग्दा पनि बोरा च्यातेर दाम्लो बटार्न उनी सक्षम छन् ।
दाम्लो बाटेर छाक टार्ने कुरा उनको जीवनको नियतिजस्तै बन्यो । सानैदेखि नाम्लो, दाम्लो बाट्न सिपालु उनले माइतीघर रामेछापमा रहँदा नै यो सीप सिकेकी थिइन् ।
थाहा छैन, सुनुवारका बनाएका दाम्लाले कति खसीबाख्रा फेरे । तर, उनको जीवनको रङ भने कहिल्यै फेरिएन । १४ वर्षे उमेरमै रामेछापबाट सिन्धुली बसाइँ सरेपनि दाम्लो बाट्ने पेसा फेरिएन । माइतीको कोसेली बनेको उक्त सीप आज पनि उनको खर्च जुटाउने माध्यम बनेको छ ।
माइतीमै ८०/९० खसीबाख्रालाई उनैले बनाएको दाम्लोले नियन्त्रण गर्थ्यो । त्यो समयमा गाउँका सबै मान्छेहरूले आफ्ना खसीबाख्राका लागि आफैँले दाम्लो बाट्ने गरेको उनको स्मरणमा छ । ‘ऊबेला त आफ्नो बाख्राका लागि सबैले आफैँले दाम्ला बाट्थे,’ उनले भनिन्, ‘अहिले त थोरै पाल्छन्, त्यो पनि काम गर्न अल्छी गर्छन् । मैले नै कति दाम्ला बेच्छु ।’
आफूले बनाएको दाम्लो किन्न युवा जमात आएको देख्दा उनलाई अचम्म लाग्छ । मान्छे किन्न आउँदा फाइदा त उनैलाई हुन्छ । तर पनि नयाँ पुस्ता अल्छी हुँदै छ भन्ने चिन्ताले उनलाई सताउँछ ।
सुनुवारले बाध्यताले भन्दा पनि आफ्ना लागि सकुञ्जेल आफैँले गर्नुपर्छ भन्ने सोच राखेर काम गरेकी हुन् । नत्र त आवश्यक खर्च वृद्धभत्ताबाटै उनले पुर्याउँथिन । यद्यपि पैसाभन्दा व्यस्तता ठूलो कुरा हो भन्ने उनको बुझाइ छ ।
पढेर होइन, परेरै उनले यी कुरा जानिन् । उनमा देखिएको फरकपना माइतीको ‘स्कुलिङ’को प्रभाव रहेको उनी बताउँछिन् ।
दाम्लो बाट्नु हाल आत्मसम्मानको विषय भए पनि सुरुवाती चरणमा उनको बाध्यता थियो । विवाह गरेर सिन्धुली आएपछि आयअर्जनका लागि उनले माइतमा सिकेकै पेसा रोज्न बाध्य हुनुपर्यो । श्रीमान्को जागिर पनि थिएन । खेतीपातीको मात्र भर पर्ने अवस्था थिएन । त्यसैले दाम्लो नाम्लो बनाउनु नै उनको आयस्रोतको दरिलो माध्यम बन्यो ।
सुनुवारले बनाएको दाम्लो किन्न केही ग्राहक घर आए पनि कतिपयका लागि घरघरै लिएर जानुपर्छ । आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दोम्लो बोकेर उनी जान्छिन । र, प्रतिदाम्लो २५ रुपैयाँ र नाम्लो ५० रुपैयाँमा बेचेर घर फर्किन्छिन् ।
दाम्लो बनाउन भनेजस्तो सहज छैन । बोराको त्यही धागो केलाउन पनि उति सहज छैन । पहिला त बोराको जोहो गर्नुपर्यो । अनि त्यसबाट धागो छुट्याउनुपर्यो । सम्झँदा भयानक लाग्ने यो कार्य पाको उमेरकी सुनुवारले अझै गरिरहेकी छिन् । दिनभर दाम्लोका लागि बोराको धागो बटारेकाले उनको हातको छाला नै मरेको छ ।
फुर्सद हुनासाथ दलिनमा घोसे मुन्टो लगाएर बस्छिन् र एकछिनमै दाम्लो तयार गर्छिन् । उनको हातबाट दैनिक दुईवटा दाम्ला तयार हुन्छन् । यसैगरी आफूलाई आवश्यक पर्ने फजुल खर्च निकाल्छिन् । बाथरोगले ग्रस्त उनलाई आफ्नो उपचार र अन्य खर्च राज्यले दिने वृद्धभत्ताले नै पुर्याउने गरेकी छन् ।
बीचको समयमा भएका तीन भाइ छोरा छुट्टिएपछि करिब पाँच वर्ष उनले एक्लै बस्नुपर्यो । सो समयमा पनि दाम्लो–नाम्लो बनाएरै उनको दैनिकी चल्यो । यसरी पटक–पटक एक्लै बस्नुपरेकी उनले जीवनमा सिकेको महत्त्वपूर्ण पाठ हो– ‘अल्छी नगरी सीपको सदुपयोग गर्नुपर्छ । आफ्ना लागि आफैँ जिउन सिक्नुपर्छ ।’
सुनुवारको आत्मविश्वास बडो अचम्मलाग्दो छ । हाल १ सय ७ वर्षमा हिँडिरहेकी सुनुवारलाई अझै ८/१० वर्ष बाँच्ने विश्वास छ । त्यसमा पनि अबको ५/७ वर्ष दाम्लो बेचेरै आफ्नो व्यक्तिगत खर्च निकाल्ने अनुमान गर्छिन्, उनी । ‘ऊबेला सुकामानो घिउ खाएको तागत छ । अहिलेका मान्छेजस्तो विषादी हालेको खानेकुरा खाएको हो र ?,’ उनले भनिन् ।
दाम्लो बाट्दै ८७ वर्षीया भद्रमाया मगर ।जहानटोलमा नाम्लो र दाम्लो बाट्ने उनी मात्र होइन, ८७ वर्षीया भद्रमाया मगर पनि त्यस्तै सीपबाट आफ्नो खर्च निकाल्छिन् । उनीहरू एकअर्कालाई दिदीबहिनी भनेर चिनाउँछन् । मिलीजुली बुढेसकालमा पनि काम गरेको देख्दा सबैले दिदीबहिनी नै भन्छन् ।
सँगै काम गर्दा पनि दयाको भीख उनीहरू माग्दैनन् । सुनुवारको आँखा कमजोर भएकाले भद्रमायाले नाम्लो बाट्न सहयोग गर्छिन् । जसबापत पेसाको सम्मान गर्दै सुनुवारले ५ देखि १० रुपैयाँ भद्रलाई दिन्छिन् ।
दाम्लोको हकमा आफैँ सक्षम रहे पनि नाम्लो बनाउन भने अलि कठिन हुन्छ । त्यसैले भद्रको घरसम्म पुग्छिन्, सुनुवार ।
दाम्लो नाम्लो बाट्न चाहिने बोरा पनि मिलेरै खोज्छन् । बनाएका सामग्री पनि सँगै बेच्न जान्छन् । ‘अस्ति त तल्लो घर बनाउँदा त्यहाँबाट बोरा ल्याएका थियौँ,’ भद्रले भनिन्, ‘अहिलेसम्म त्यसैले पुगिरहेको छ । आवश्यक परे दिदीबहिनी फेरि खोज्न हिँड्छौँ ।’
यसरी आफ्नो सीपले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । त्योभन्दा ठूलो कुरा, बुढेसकालमा पनि उनीहरूमा अल्छीपना छैन ।
दाम्लो बेच्न हिँडेका कुमारी र भद्र ।आफैँले खर्च निकाल्ने भएपछि सानोतिनो खर्चका लागि उनीहरूले छोराछोरीको आसमा बस्नुपरेको छैन ।
बरु कमाएको पैसा धेरथोर बचत गरेका छन्, उनीहरूले । जुन अत्यावश्यक अवस्थामा प्रयोग गर्न चाहिने उनीहरू बताउँछन् । वृद्ध अवस्थामा पनि सकुञ्जेल काम गर्नुपर्छ भन्ने सन्देश युवामाझ दिएको भन्दै विभिन्न सामाजिक संस्था र स्थानीय तहले सुनुवार र भद्रलाई सम्मानसमेत गरेका छन् ।
तर, आजभोलिका अधिकांश युवाहरूको ताल भद्र र सुनुवारलाई निको लाग्दैन । ‘आजभोलिका केटाकेटी मेहनत फिट्टु गर्दैनन्, तैपनि फल पाइएन भनेर गनगनाउँदै हिँड्छन्,’ भद्रले भनिन्, ‘यो देखेर दिक्क लाग्छ बाबु !’
प्रकाशित मिति: बुधबार, असार २३, २०७८ १६:५९