कर्णालीका हिमाली तथा पहाडी जिल्लाका गाउँ-गाउँमा कोरोना संक्रमण फैलिएको छ । कर्णालीका शहर बजार मात्र नभएर दुर्गम गाउँमा कोरोना संक्रमण देखिएको हो ।
कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुमा पनि कोरोना संक्रमण तीव्र देखिएको छ । हाल कर्णालीका हिमाली जिल्ला डोल्पामा ६० जना, हुम्ला ७५ जना, मुगुमा ४६ जना र जुम्लामा ६३२ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
कर्णालीमा सबैभन्दा सुर्खेतमा कोरोना संक्रमित देखिएका छन् । सुर्खेतमा ५ हजार ९७ जना, दैलेख २ हजार ४४५ जना, सल्यानमा १ हजार ४५९ जना, जाजरकोटमा ६१५ जना, कालीकोटमा ५४८ जना, रूकुमपश्चिमका ५५५ जना र अन्य जिल्लाका ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
युवा उमेरका सबैभन्दा बढी संक्रमित
कर्णालीमा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा बढी युवा उमेरका रहेका छन् । २१ वर्षदेखि ३० वर्ष उमेर समूहका ३६ प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत, ४१ देखि ५१ वर्ष उमेर समूहका १२ प्रतिशत, ५१ वर्षदेखि ६० वर्ष उमेर समूह ६ प्रतिशत, ६१ वर्षदेखि ७० वर्षमाथि उमेर समूहका ३ प्रतिशत र ० देखि १० वर्ष उमेर समूहका ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।
त्यस्तै, लैंगिक हिसाबले ६५ प्रतिशतमा पुरुष र ३५ प्रतिशत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुग्यो
कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ । डोल्पामा पाँच जना, जुम्लामा तीन जना, सुर्खेतमा १३६ जना, दैलेख १७ जना, सल्यानमा ३७ जना, जाजरकोटमा दुई जना, कालीकोटमा तीन जना, रुकुमपश्चिमका २० जना र अन्य जिल्लाका चार जनाको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित टोल घुम्न थाले
कर्णालीमा गाउँ-गाउँमा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नुपर्नेमा उनीहरू टोल-टोलमा घुम्नाले कोरोना संक्रमणको जोखिम बढेको छ । कोरोना संक्रमण पुष्टि भएर पनि गाउँमा निर्वाद घुम्नाले कोरोनाको जोखिम बढेको जनस्वास्थ्य सेवा कार्यालयका कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।
‘कोरोना संक्रमण भएर गाउँको होम आइसोलेसनमा बसेकाहरू गाउँमा घुम्ने गरेको खबर प्राप्त भएको छ । यसले गर्दा कोरोना जोखिम बढेको छ,’ उनले भने, ‘संक्रमितहरूलाई निको नहोउञ्जेल होम आइसोलेसनमै बस्न, बाहिर ननिस्कन आग्रह गरेका छौँ ।’
कोरोना संक्रमण तीव्र भएका कारणले मुगुका गाउँमा प्रवेश गर्न रोक लगाइएको छ । मुगुका छायाँनाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा एक गाउँबाट अर्को गाउँमा प्रवेश गर्न रोक लगाइएको छ ।
मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा गाउँ छिर्न प्रतिबन्ध लगाइएको छ । बाहिरका मानिस गाउँ पस्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष कार्मा तामाङले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ १८:४१