यतिबेला संसारका धेरै देश कोरोना भाइरससँग जुधिरहेका छन् । मध्यपूर्वमा इजरायल र हमासचाहिँ ११ दिनसम्म आपसमा लडे । कतिपयले सन् १९६७ जस्तै युद्धको खतरा औँल्याइरहेका बेला यी दुवै पक्षले हतियार बिसाएका छन् । तर, धेरैलाई लाग्दैन, यो लामो समयका लागि हो । किनकि, इजरायल र प्यालेस्टाइनबीचको विवाद चानचुने होइन । यो त भूमि र धर्मसँग सम्बन्धित लडाइँ हो । हालसालै सुरु भएको विवाद पनि होइन । यो त सय वर्षदेखि चलिरहेको सङ्ग्राम हो ।
भौगोलिक रूपमा इजरायल मुस्लिम छिमेकीहरूले घेरिएको छ । छिमेकी मात्र होइन, संसारका अधिकांश मुस्लिम देशसँग इजरायलको सम्बन्ध राम्रो छैन । जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, इजिप्टले घेरिएको इजरायलले सन् १९६७ मा यिनै छिमेकीसित युद्ध लडेको थियो । त्यो लडाइँ जितेर इजरायलले जोर्डन, प्यालेस्टाइन र सिरियाका केही हिस्सा नियन्त्रणमा लिएको थियो । तीमध्ये पूर्वी जेरुसेलमलाई लिएर प्यालेस्टाइन र इजरायलबीच बारम्बार लडाइँ हुँदै आएको छ । त्यसैले संसारकै पूरानोमध्येको शहर अशान्त हुने गरेको छ ।
इजरायलमा जेरुसेलम नामको पुरानो शहर छ । यसलाई यहुदी, इस्लाम र इसाई धवर्मालम्वीहरू आफ्नो पवित्र स्थल मान्छन् । अहिले यो शहरलाई इजरायल आफ्नो राजधानी मान्छ । प्यालेस्टाइनचाहिँ यसलाई आफ्नो भावी राष्ट्रको रूपमा हेर्छ । आफूबाट इजरायलले छिनेको भूमि भएकाले भविष्यमा जेरुसेलम फिर्ता ल्याउने प्यालेस्टिनीको संकल्प छ । प्यालेस्टिनीहरू अरबी (मुसलमान) हुन् । पूर्वी जेरुसेलममा अरबीहरूको बसोबास छ । त्यहाँ यिनीहरूको मस्जिद-अल-अक्सा पनि छ ।
बारम्बार विवाद भइरहने पूर्वी जेरुसेलमको यो क्षेत्रमा यहूदीको टेम्पल माउन्ट र मुस्लिमहरूको मस्जिद-अल-अक्सा छ ।जेरुसेलम संसारको पवित्र स्थानहरूमध्ये एक मानिन्छ । यसपालि ११ दिनसम्म भएको बमबारी, काटमार यही ठाउँलाई लिएर हो । यी दुई देशबीच विवादको बिरुवा कहाँ, कसरी, कहिले कसले रोप्यो ? यी दुई देशबीच फेरि युद्ध हुँदैन, निश्चित गरेर किन भन्न सकिँदैन ?
यस पछाडिका केही कारण छन् ।
धर्मकाे लडाइँ
इजरायल बेइतयाेसेफका सुकी बाराजानीका अनुसार प्राचीनकालमा अब्राह्म नामका देवदूत जेरुसेलममा थिए । उनलाई यहुदीहरू आफ्नो भगवान् मान्छन् । अब्राह्मका दुई छोरा थिए– स्माइल र इजाक । अब्राह्म निकै धार्मिक, ईश्वरप्रति समर्पित थिए । एकपल्ट ईश्वरले अब्राह्मको श्रद्धा र भक्ति परीक्षण गर्ने विचार गरे । अनि आफ्ना देवदूतलाई अब्राह्म भएठाउँ पठाए, ‘तिमी ईश्वरप्रति वास्तवमै इमानदार छौ र भगवान्प्रति साँच्चै अटुट श्रद्धा छ भने तिम्रो छोरा इजाकको बलि देऊ ।’
अब्राह्मले सहजै स्वीकारे, ‘ईश्वरको इच्छा यही हो भने म आफ्नो छोराको बलि दिन तयार छु ।’ उनी इजाकलाई लिएर बलि दिने ठाउँमा गए । त्यसपछि ईश्वरले प्रसन्न हुँदै देवदूतमार्फत सन्देश पठाए, ‘अब्राह्म तिम्रो इमानदारी र श्रद्धाभक्ति देखेर म खुसी भएँ । तिमीले इजाकको बलि दिनुपर्दैन । उसको ठाउँमा एउटा भेडाको बलि दिए हुन्छ ।’ अब्राह्मले भेडाको बलि दिए । इजाक बचे । तिनै इजाकका छोरा थिए ज्याकब, जसको अर्को नाम इजरायल थियो । उसका १२ सन्तान भए । यिनै १२ सन्तानलाई ‘ट्वेल्भ ट्राइब्स अफ इजरायल’ पनि भनिन्छ ।
यहुदीहरूको दाबी छ, ‘हामीलाई ईश्वरले वरदान दिएका थिए- अब्राह्मका सन्तानले यहीँ आफ्नो देश बनाउनेछन् । त्यसैले यसलाई ल्याण्ड अफ इजरायल भनिएको हो ।
अब्राह्मले इजाकलाई बलि दिन तयार भएको स्थानमा आजभन्दा ३ हजार वर्षपहिला राजा सोलोमनले यहुदीहरूका लागि एउटा मन्दिर बनाए । त्यसलाई इजरायलीहरू विश्वकै प्रथम मन्दिर मान्छन् । मन्दिर बनेको ५ सय वर्षपछि अर्थात् आजभन्दा २५ सय वर्षअगाडि आक्रमणकारीले मन्दिर भत्काइदिए ।
ईशापूर्व ५०० तिर त्यही ठाउँमा यहुदीहरूको दोस्रो मन्दिर बनाइयो । ७० इस्वीमा रोमनका सेनाले दोस्रो मन्दिरमा पनि आक्रमण गरे । र, बाइजेन्टाइनहरूले त्यो क्षेत्र नै कब्जा गरे । यहुदीहरू तितरबितर भए । उनीहरू आफ्नो ठाउँ छोडेर भाग्न विवश भए । अहिले पनि त्यहाँ मन्दिरको अवशेष छ, जसलाई ‘वेस्ट वाल’ भनिन्छ । यही पश्चिमी ढोका भएको क्षेत्रलाई ‘टेम्पल माउन्ट’को नामले चिनिन्छ । यो भयो यहुदीहरूको दाबी ।
अब इस्लामको दाबीबारे चर्चा गरौँ ।
पूर्वी जेरुसेलम बस्ने ६६ वर्षीय अब्ले नुरका अनुसार ६ सय ३१ इस्वीमा इस्लाम धर्मका प्रवर्द्धक मोहम्मद त्यही क्षेत्रमा पुगेका थिए । उनले आफ्ना भगवान्सँग भेट गरे । भनिन्छ, ‘उनले त्यही ठाउँमा ईश्वरसँग मिलेर इस्लाम धर्मको सिद्धान्त प्रतिपादन गरेका थिए र जनतालाई सन्देश दिएका थिए । महोम्मद जहाँ पुगेर ईश्वरसँग भेट गरे र इस्लाम धर्मको सिद्धान्त प्रतिपादन गरे, त्यहाँ एउटा मस्जिद बनाइयो, जसलाई मस्जिद-अल-अक्सा भनिन्छ । इस्लाम धर्मालम्बीले संसारका तीन स्थानलाई पवित्र मान्छन्, मक्का, मदिना र अल-अक्सा । मस्जिद-अल-अक्सा मुस्लिमहरूकाे पहिलाे किब्ला हाे । याे धरतीमा निर्माण भएकाे दाेस्राे मस्जिद पनि यही रहेकाे बताइन्छ ।
६३२ इस्वीमा मोहम्मदको निधन भयो । त्यहीँदेखि अरबीहरूले पश्चिम एसियामा रहेको सो क्षेत्रलाई आफ्नो पवित्र स्थान मान्न थाले । यो त्यही ठाउँ हो, जुन अहिले जेरुसेलमका नामले प्रख्यात छ । आफ्ना धर्मगुरु मोहम्मद बसेको, इस्लाम सिद्धान्त प्रतिपादन गरेकाले अरबीहरूले त्यो क्षेत्र आफूहरूकै हुनुपर्ने निचोड निकाले । ७० इस्वीदेखि जेरुसेलम र यसको आसपासका क्षेत्र यहुदीबाट खोसेर यहाँ बाइजेन्टाइनको शासन चलिरहेको थियो । ६३६ इस्वीमा अरबीहरूले बाइजेन्टाइन साम्राज्यमाथि आक्रमण गरे । नभन्दै बाइजेन्टाइनहरूलाई घुँडा टेकाएर उनीहरूले यो क्षेत्र जिते । जहाँ आज इजरायल, प्यालेस्टाइन र जेरुसेलम छ, त्यो अरबीहरूको कब्जामा गयो ।
जेरुसेलमको पूर्वी भागमा यहूदीहरूकाे धर्मालय टेम्पल माउन्ट छ । त्यसको पूर्वतिर मस्जिद-अल-अक्सा छ । १० मेमा विवाद सुरु भएको यही मन्दिर र मस्जिदलाई लिएर हो ।
अब क्रिश्चियनहरूकाे दाबी ।
इजरायलमा इसाईहरू धेरै छैनन् । तर, जेरुसेलमको इतिहाससँग इसाईहरू जोडिएका छन् । उनीहरूको पनि जेरुसेलममा आफ्नै खालको दाबी छ । यद्यपि, अरबी र यहुदीका अगाडि अहिले उनीहरू निकै कमजोर छन् ।

इसाई धर्म मान्ने लिना अमेरिकाकी हुन् । इजरायल बसेर अध्ययन गरिरहेकी उनी इतिहासकी विद्यार्थी हुन् । उनका अनुसार इसाईहरूका ईश्वर इसामसीहलाई सोही क्षेत्रमा सुली चढाइएको थियो । इसामसीहले जहाँ अन्तिम सास लिएका थिए, केही दिनपछि त्यही ठाउँमा उनी जीवित बनेर फर्किएका थिए । र, प्रथम उपदेश त्यहीँबाट दिए । त्यसैले इस्लाम धर्म मान्नेहरू जेरुसेलमलाई आफ्नो पवित्र स्थान मान्छन् । यसका लागि उनीहरू पनि युद्ध लडेका थिए ।
जेरुसेलमस्थित गोल्डेन चर्च । तस्वीरः शिलापत्रबाइजेन्टाइनलाई पराजित गरी ६३६ इस्वीदेखि यहाँ अरबीहरूले शासन गर्न थालेका थिए । तर, १०९९ इस्वीमा इसाईहरूले अरबीहरूमाथि आक्रमण गरे । त्यो पहिलो धर्मयुद्ध (क्रुसेड) थियो ।
यो एक हजार वर्षअघिको कुरा हो । अरबीहरूको कब्जामा रहेको त्यो भूमि फेरि इसाईहरूको कब्जामा गएको थियो । तर, इसाईहरूले यसलाई धेरै लामो समयसम्म बचाउन सकेनन् । ११८६ इस्वी अर्थात् ८८ वर्षपछि फेरि अरबीहरूले आक्रमण गरेर त्यो क्षेत्र जिते । इसाईहरूले अरबीहरूलाई तीन पटकजति आक्रमण गरे । तर, सफल भएनन् । बरु इसाई धर्मगुरुले मैदान उतारेका सैनिक, इसाई धर्मका अनुयायीहरूलाई मुसलमानहरूले समुन्द्रमा खसालेर मारिदिए । यो जमिनका लागि पाँच पटक धर्मयुद्ध भएको इतिहासले देखाउँछ । पछि यो क्षेत्र इजिप्ट र त्यसपछि टर्कीले कब्जा गरेकाे थियाे ।
अनि बन्याे इजरायल
पहिलो विश्वयुद्ध सुरु हुँदा इजरायल–प्यालेस्टाइन क्षेत्र टर्कीको नियन्त्रणमा थियो । सन् १९१७ मा बेलायतले टर्कीबाट त्यो क्षेत्र जितेको थियो । नोभेम्बर १९१७ मा बेलायतीले एउटा घोषणा गरिदिए, ‘संसारमा छरिएर रहेका यहुदीहरू याे क्षेत्रमा आएर बस्न सक्छन् । त्यसपछि यहुदीहरू यहाँ आएर बस्न थाले । तर, अरबीहरूले यसको विरोध गरे । अरबी र यहुदीबीच सानोतिनो युद्ध हुन थाल्यो । यस्तो भिडन्त द्वितीय विश्वयुद्धसम्म चलेको थियो । १९४७–४८ मा यहाँ फेरि युद्ध भयो । यहीँ बेलायतले अर्को घोषणा गरिदियो- यहाँ यहुदीहरूको देश हुनेछ, जसलाई इजरायल भनिनेछ ।’
जसरी भारत र पाकिस्तान छुट्याइएको थियो । त्यसैगरी प्यालेस्टाइन र इजरायललाई बेलायतले विभाजित गरिदियो । तर, जेरुसेलमलाई लिएर दुवै देश दृढ थिए । यसले फेरि युद्ध निम्त्याउँछ भनेर संयुक्त राष्ट्र संघले जेरुसेलमलाई आफ्नो नियन्त्रणमा राख्यो । यहाँ दुई धर्मका मान्छे लडाइँ गरेरै सकिन्छन् भन्ने ठानेर संयुक्त राष्ट्र संघले यस्तो गरेको थियो ।
तैपनि इजरायल र अरबबीच युद्ध राेकिएन । यो युद्धमा जोर्डनले जेरुसेलमको एउटा हिस्सा जित्यो, जसलाई पूर्वी जेरुसेलम भनिन्छ ।
मे १९४८ मा इजरायल स्वतन्त्र भयो । नेपालले सयुक्त राष्ट्र संघको महासभामा इजरायलको पक्षमा भोट दिएको थियो । जेरुसेलमलाई छोडेर दुवै देशले बराबरी भूमि पाएका थिए ।

तर युद्ध बारम्बार चलिरह्याे । सन् १९५७ मा इजरायल र अरबीहरूबीच लडाइँ भयो । यसमा बेलायत र फ्रान्सले इजरायललाई साथ दिए । इजरायलले गाजा जित्यो । तर, संयुक्त राष्ट्र संघको दबाबका कारण १९५७ मा इजरायलले गाजा फिर्ता गरेको थियो ।
त्यसपछि सन् १९६७ मा ६ दिने युद्ध भयो । यो लडाइँको सुरुवात इजरायल र सिरियाको सीमाबाट भएको थियो । भूमिसम्बन्धी विवादले पछि भीषण सङ्ग्रामकाे रूप लिएको थियो । सन् १९४८ मा देशको मान्यता पाएदेखि इजरायलले आफ्नो शक्ति खुबै बढाएको थियो । सिरियासँगको युद्धमा इजरायलले गोलन हाइट कब्जा गर्यो । यो कुरा इजरायलको दक्षिणी छिमेकी इजिप्टलाई मन परेन । र, उसले रातो समुन्द्र (रेड सी) मा इजरायली जहाजहरू रोकिदियो । अर्कोतिरबाट ऊ इजरायललाई युद्धको निम्तो दिन थाल्यो ।
उत्तरमा सिरियासँग युद्ध चलिरहेका बेला दक्षिणबाट इजिप्टले इजरायलमाथि आक्रमण गर्यो । पछि जोर्डन, लेबनान पनि युद्धमा इजरायलविरुद्ध सामेल भए । अरबी मुलुकहरू इजरायलविरुद्ध उत्रिए । इजरायल एक्लै सातवटा मुस्लिम देशसँग युद्ध लड्यो । उसले सबैलाई पराजित गरिदियो । यही युद्धबाट इजरायलले सिरियाको गोलन, प्यालेस्टाइनको गाजा र वेस्ट बैंक जित्यो । यति मात्र होइन, जोर्डनको कब्जामा रहेको त्यो पवित्र स्थल पनि इजरायलले हात लियो । सन् १९६७ सम्म त्यो पवित्र स्थलमा गैरमुसलमान जान पाउँदैन थिए । तर, अब गैरमुसलमान पनि पवित्र स्थलमा जान थाले ।
यसमा दुवै धर्मका कट्टरपन्थीहरू सन्तुष्ट थिएनन् । मुसलमानहरू वेस्ट वालमा यहुदीहरूको आउजाउ देखेर रुष्ट थिए । यहुदीहरू त्यहाँ आफ्ना लागि थप अधिकार खोजिरहेका थिए । त्यो बेलासम्म यहुदीहरू वेस्ट बैंकसम्म त जान पाउँथे, तर प्रार्थना गर्न पाउँदैनथे । त्यसैले बारम्बार यी दुई धर्मका अनुयायीबीच झडप भइरहन्थ्यो । यस्तै झडपका बीच १९८२ मा यहाँ प्रहरीले गोली चलाउनुपरेको थियो । त्यसमा कैयौँ मानिस मारिएका थिए । तर, विवाद सुल्झिएन । इजरायलका लागि नेपालका पूर्व राजदूत प्रल्हाद प्रसाईंका अनुसार २०१४ मा पनि यस्तै विवाद भएको थियो । 'त्यो बेला इजरायल र हमासबीच ५२ दिनसम्म बमबारी भएको थियो', प्रसाईंले शिलापत्रसँग भने, 'यसपालिकाे छोटो भए पनि भयानक संघर्ष थियो । यी दुई मुलुकबीचको तनाव यसै समाधान हुने छाँट देखिँदैन ।'
तस्वीरः बीबीसी२०१८ सम्म तेलअभिव इजरायलको राजधानी थियो । तर, उसले अब जेरुसेलमलाई आफ्नो राजधानी घोषणा गरिदियो । प्यालेस्टाइन र इजरायलबीच मध्यस्थता गरिरहेको अमेरिकाले इजरायलको उक्त कदमलाई तुरुन्तै साथ दियो, तेलअभिवबाट आफ्नो दूतावास जेरुसेलम सारेर । मध्यस्थता गरिरहेको देशले नै युद्धलाई निम्तो दिन सहयोग गरेको भन्दै मुस्लिम देशहरूले अमेरिकी कदमको विरोध गरे । तर, नेपालले भने दूतावास अहिलेसम्म सारेको छैन । अहिले पनि नेपालको दूतावास तेलअभिवमै छ ।
जमिनसम्बन्धी विवाद
अरबीहरूले लखेटेका यहुदीहरू इजरायल फर्किंदै गर्दा सन् १८९६ मा टर्कीको नियन्त्रणमा रहेको भूमि (पूर्वी जेरुसेलम)मा यहुदी संगठनहरूले अरबीहरूसँग जमिन किनेका थिए । १९६७ मा इजरायलले युद्ध जितेपछि यहुदीहरूले त्यो जमिन खाली गर्न दबाब दिन थाले । यसमा पनि लफडा भएपछि सन् १९८२ मा प्यालेस्टाइन र इजरायलबीच सम्झौता भयो । प्यालेस्टाइनले मान्यो, यो भूमिमा इजरायलकै शासन हुनेछ । तर, प्यालेस्टिनीहरूलाई त्यहाँबाट निकाल्न पाउने छैन । यसमा इजरायल पनि सहमत भयो । पछि यो भूमिलाई लिएर विवाद भई नै रह्यो । यहाँ रहेका अरबी समुदायलाई यहूदीले निकाल्न खोजेपछि यो मुद्दा इजरायलको सर्वोच्च अदालतमा पुग्यो । १० मे २०२१ मा इजरायलको सर्वोच्च अदालतबाट फैसला आयो– यहुदीले यो जग्गा किनेका हुन् । यसको वास्तविक मालिक तिनै हुन् ।
पछिल्लाे तनाव यहीँबाट उब्जिएकाे हाे । १० मेमा यो फैसला आएको भोलिपल्ट इद हुनेवाला थियो । अल-अक्सा मस्जिदमा नमाज पढ्न मुसलमानहरू भेला हुँदै थिए । त्यसै दिन यहुदीहरू इजरायल दिवस मनाउँदै थिए । प्रहरीले सुरक्षा सतर्कता बढाएकाे थियाे । प्रहरीको दाबीअनुसार अल-अक्सा मस्जिद क्षेत्रबाट गस्तीमा रहेको प्रहरी टोलीमाथि ढुंगामुढा हुँदा केही प्रहरी घाइते भए । त्यसपछि प्रहरीले अल-अक्सा मस्जिदभित्र छिरेर ह्यान्ड ग्रिनेड, रबर बमले हान्न थाल्यो । त्यस क्रममा तीन सय जना घाइते भए । विस्तारै इजरायलले मस्जिद खाली गराएको छ । अल-अक्सा मस्जिद अहिले इजरायलको कब्जामा छ । त्यहाँ प्रहरी चेकपाेस्ट राखिएकाे छ । प्यालस्टाइनसहित संसारका मुस्लिम देशहरूले इजरायलको यो कदमप्रति आपत्ति जनाएका छन् । प्यालेस्टिनी भनिरहेका छन्, ‘भूमि त हडप्यौ, अब हाम्रो मस्जिद पनि कब्जा गर्यौ, यो अन्याय भयो ।’ तर, इजरायल भनिरहेको छ, ‘पहिला तिमीहरूले नै मस्जिदबाट हामीमाथि आक्रमण गर्यौ ।’
हमासकाे इन्ट्री
जमिन खाली गराउनबाट बढ्दै गएको विवादमा अचानक हमास छिर्यो । अरबीहरूले दाबी गरिरहेको भूमिबाट यहुदीहरूलाई हटाउन हमासले १० मे रातिदेखि रकेट बम हान्न थाल्यो । गैरआवासीय नेपाली संघ इजरायलका प्रवक्ता राज क्षत्री तेलअभिवबाट भन्छन्, ‘हमासतिरबाट यो आक्रमण यति तीव्र थियो, केही घण्टामै करिब १६ सय कासम रकेट हानियो ।’ इजरायलमा बसिरहेका नेपालीहरू पनि पछिल्लो युद्धबाट त्रसिद् बनेका थिए । किनकि, हमासले तेलअभिवलाई निशाना बनाएको थियो । तेलअभिवमा सयौँ नेपाली काम गर्न बसेका छन् ।
तेलअभिवस्थित बिजनेस ट्रेड सेन्टर ।हमाससँग कासम, १, २, ३, ग्रेड, डब्लूएस–१ ई जस्ता रकेट रहेकाे बताइन्छ । विज्ञहरूका अनुसार कासम ३ ले १२ किलोमिटर परसम्म आक्रमण गर्न सक्छ । ग्रेडले २० किलोमिटर, डब्लूएस– १ ई ले ४५ किलोमिटरदेखि ठूलोमा १ सय ५० किलोमिटरसम्म मार हान्न सक्ने रकेट हमाससँग छ । तर, अहिलेसम्म यसले हल्का रकेटको प्रयोग गरिरहेको छ । यी रकेट उसलाई अरबी देशहरूले नै दिएका हुन् ।
इजरायलले आफ्नो सुरक्षाका लागि एन्टी मिसाइल सिस्टम जोडेको छ, जसलाई आइरन डम भनिन्छ । यो नै उसको रक्षाकवज हो । इजरायलका ठूला शहरहरूको सुरक्षा आइरन डमले नै गर्छ ।
इजरायली आकाशमा आउने कुनै पनि मिसाइललाई आइरन डमले हावामै नाश गरिदिन्छ । ‘तर, यसपल्ट हमासले चलाखी गर्यो । उसले एकसाथ धेरैभन्दा धेरै रकेट पठाइदियो । यसो हुँदा आइरन डमसमेत यदाकदा चुक्न पुग्यो’, तेलअभिवबाट साइमन घिमिरेले भने, 'त्यसैले यसपल्ट इजरायलले पनि क्षति बेहाेर्नुपरेकाे छ ।'
सुरक्षा विशेषज्ञका अनुसार आइरन डम निकै महँगो प्रविधि हो, जुन हमासले फालिरहेको रकेटभन्दा ४०/५० गुणा महँगो हुन्छ । त्यसैले पछिल्लाे युद्ध इजरायलका लागि पनि उत्ति नै महँगो पर्याे ।
बिस्मातको कुरा त के भने, इजरायलले हमासलाई मेटाउने नाममा निहत्था प्यालेस्टिनीमाथि गोली हानेकाे छ । इजरायली सेनाको बम र गोलीको सिकार बालबालिकासमेत भएका छन् । गाजामा इजरायलको बमले अन्तर्राष्ट्रिय मिडिया हाउससमेत रहेको बहुतल्ले भवन ध्वस्त पारिदिएको छ । अन्य कैयौँ घरहरूमा इजरायलले बम हानेको छ । गाजाबाट एक लाखजति मान्छे भाग्न विवश भएका छन् । वेस्ट बैंकमा भने अहिलेसम्म यस्तो अप्रिय घटना भएको छैन । किनकि, त्यहाँ प्यालस्टिनी छन्, जोसँग आफ्नै सेना छैन ।
जेरुसेलममा इजरायली र प्यालेस्टिनीबीच ढुंगा हानाहान, मारपिट चलिरहेको छ । त्यहाँ मानिसहरू साँझ भेला हुन्छन् र घम्साघम्सी चल्छ । प्रहरीले त्यसलाई रोकिरहेको छ । पूरै जेरुसेलम अहिले इजरायलको कब्जामा छ । गाजा त उसले खुसीखुसी छोडिदिएको थियो । तर, हमासले आक्रमण गरेपछि इजरायलले गाजामा पुनः कब्जा जमाउने प्रयास गरेकाे थियाे । अन्तर्राष्ट्रिय दबाबका कारण गाजा कब्जा गर्न यसपटक पनि ऊ सफल भएन ।
हमास के हाे र किन ?
इजरायलविरुद्ध संघर्ष गर्नका लागि सन् १९८७ मा हमासको स्थापना भएको थियो । गाजामा हमासको शासन छ । त्यहीँबाट हमासले आक्रमण गर्ने गरेको छ । दक्षिणबाट इजिप्टले हमासलाई हतियार पठाउँछ । इरानचाहिँ उसकाे मुख्य सहयाेगी हाे । हमासले इजिप्टसम्म जानका लागि गाजापट्टिबाट सुरुङमार्ग बनाएको छ, जसको गहिराइ करिब १ सय ५० फिटसम्म रहेको बताइन्छ । इजरायलले आक्रमण गरेका बेला हमास विद्रोहीहरू त्यही सुरुङमा छिर्छन् । हमासलाई अन्य अरबी मुलुकले पनि सहयोग गर्दै आएका छन् ।
नेपालको डोल्पा जिल्ला ७ हजार ८ सय ८९ वर्ग किलोमिटरको छ । तर, कुनै बेलाको ठूलो प्यालेस्टाइन अहिले केवल ६ हजार वर्गकिलोमिटरको छ । अर्थात्, नेपालको डोल्पा जिल्लाभन्दा सानोमा खुम्चिएको छ प्यालेस्टाइन । त्यो पनि छिन्नभिन्न स्थितिमा । याद गर्नुपर्ने के छ भने, सन् १९४८ मा बेलायतले इजरायल र प्यालेस्टायनलाई करिब बराबरी जमिन दिएर छुट्याइदिएकाे थियो । तर, धर्मयुद्धमा प्यालेस्टाइनले ठूलै मूल्य चुकाउनुपर्यो ।
प्यालेस्टिनीसँग सेना छैन । हतियार छैन । उनीहरूले जमिनका लागि बढीभन्दा बढी ढुंगामुढा गर्ने हुन् । तर, हमासलाई टर्की, इजिप्ट, लेबनानले हतियार पठाउँछन् । यद्यपि, छ/सातवटा देशलाई छ दिनमै गलाउने इजरायल हमासलाई खासै ठूलो चुनौती ठान्दैन । तेलअभिवबाट घिमिरे भन्छन्, 'आफूमाथि आक्रमण गर्ने र त्यस्ता आक्रमणकारीलाई समर्थन गर्नेसँग बदला लिएर इजरायल संसारलाई देखाउन चाहन्छ- हामीमाथि कसैले आक्रमण गर्नुअघि दुई पटक सोचुन् । त्यसैले त हमासलाई हान्दा उसले निहत्था प्यालेस्टिनीकाे पर्वाह गर्दैन ।'
हमासलाई पछि सार्न प्यालेस्टिनी नागरिक मार्ने गरेको भन्दै अन्तर्राष्ट्रिय जगत्मा इजरायलकाे आलोचना हुने गरेको छ । हमासलाई अरबी मुलुकहरू एक राजनीतिक संगठन मान्छन् । तर, अमेरिकासहित संसारका कतिपय मुलुक यसलाई आतंकवादी समूह भन्छन् ।
नेपालका लागि इजरायली राजदूत हनान गोडर इजरायलले सन् १९९३ मा प्यालेस्टाइनसँग शान्ति सम्झौता गरे पनि हमासका कारण युद्ध हुने गरेको बताउँछन् । 'हामी प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा चिन्छौँ', उनले शिलापत्रसँग भने, 'हाम्रा लागि हमास केवल आतंकवादी संगठन हो । उसले आक्रमण गर्छ भने हामी प्रत्याक्रमण गर्छौं ।'
पूर्वी जेरुसेलम र तेलअभिवकाे याफ्फोमा धेरै छन् अरबी मूलका नागरिक । याफ्फाेमा बस्ने २४ वर्षीया हदिल, हमासकाे रिस फेर्न इजरायल सरकारले मुस्लिम समुदायमाथि निर्मम व्यवहार गरेकाे बताउँछिन् ।

'तपाईंहरूले हालै मात्र देखिसक्नुभयो, हमासले आक्रमण गर्यो भनेर इजरायलकाे आर्मीले हतियारबिनाका प्यालेस्टिनी महिला, बच्चालाई पनि छाडेन । के तपाईंहरूको देशमा पनि यसरी अधिकार मागिरहेका अल्पसंख्यकमाथि तपाईंको सरकारले दमन गर्छ ?' उनी प्रश्न गर्छिन् ।
तेलअभिव बस्ने उदयपुरका साइमन घिमिरेका अनुसार इजरायलमा रहेका अरबी समुदाय आफूहरूलाई यहूदीहरूले बारम्बार अपमान गरेको ठान्छन् । 'हामीलाई प्रार्थना गर्नसमेत इजरायलले बाधा गरेको छ । मस्जिदमा प्रहरी राखेको छ । के यो हद पार गरेको होइन ? हाम्रो प्रार्थना गर्ने ठाउँमा इजरायलको प्रवेश किन ? यहाँका अरबी समुदाय प्रश्न गरिरहेका छन्', घिमिरेले शिलापत्रसँग भने ।
युद्धका कारण गाजाबाट करिब एक लाख नागरिक भागेका थिए । गाजा प्यालेस्टाइनकै भूमि हाे । तर, यहाँ प्यालेस्टाइनकै सहमतिमा हमासले शासन गर्छ । पछिल्लाे युद्धविरामपछि गाजाबाट भागेकाहरू फर्किन थालेका छन् । तर, क्षति भने यति ठूलाे छ, जुन भरपाइ गर्न केही वर्ष हाेइन, दशकाैं लाग्ने देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमास आफूहरूको अधिकारका लागि लडिरहेको भए पनि उसकै कारण प्यालेस्टिनीले ठूलो क्षति बेहोर्नुपरेको हदिल बताउँछिन् । 'हामीलाई थाहा छ, हमास अरबीहरूको अधिकार फर्काउन लडिरहेको छ । तर, यसमा बढीभन्दा बढी निहत्था मारिइरहेका छन्', उनले भनिन् ।
उनलाई नेपाल गौतमबुद्धको देश भन्ने थाहा छ । भन्छिन्, 'शान्तिका भगवान् जन्मेको देश हाम्रो हकका पक्षमा उभिदिनुपर्छ । नेपालसँगै संसारका मुलुकहरूसँग म आग्रह गर्छु ।'
इजरायलमा १९ लाखभन्दा बढी अरबीहरू रहेकाे त्यहाँस्थित केन्द्रीय तथ्यांक विभागले जनाएकाे छ । याे भनेकाे इजरायलकाे कुल जनसंख्याकाे झण्डै २१ प्रतिशत हाे । इजरायलकाे जनसंख्या अहिले ९० लाखभन्दा बढी छ ।
नेपाल कसकाे पक्षमा ?
नेपालले प्रष्ट भनिसकेको छ– हामी कसैको पक्ष वा विपक्षमा होइन, शान्तिको पक्षमा छौँ । यसको अर्थ नेपाल यो मुद्दामा तटस्थ बस्न चाहन्छ ।
विगतमा नेपालले इजरायल र प्यालेस्टाइन दुवैलाई सहयोग गरेको देखिन्छ । सन् १९४८ मा इजरायललाई देशको मान्यता दिने सार्क क्षेत्रमा नेपाल पहिलो मुलुक हो । तर, डिसेम्बर २०१७ मा नेपालले जेरुसेलमलाई इजरायलको राजधानी मान्न अस्वीकार गरेको थियो । त्यो बेला १ सय २८ देश इजरायलको विपक्षमा उभिएका थिए । त्यही वर्ष अमेरिकाले तेलअभिवको आफ्नो दूतावास जेरुसेलम सारेको थियो । तर, नेपालको दूतावास अहिले पनि तेलअभिवमै छ । सन् २००७ मा नेपालले तेलअभिवमा दूतावास स्थापना गरेको थियो ।

दक्षिणी छिमेकी भारतभन्दा पुरानो हो नेपाल–इजरायल सम्बन्ध । भारतले सन् १९९२ मा इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । तर, नेपाल र इजरायलबीच १ जुन १९६० मै द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो । त्यही वर्ष नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गरेका थिए । सन् १९६३ मा नेपालका राजा महेन्द्र वीरविक्रम शाहले इजरायल भ्रमण गरेका थिए भने सन् १९६६ मा इजरायलका तत्कालीन राष्ट्रपति जलमान साजार नेपाल आएका थिए । सन् १९६८ मा तत्कालीन युवराज वीरेन्द्र शाह दुई हप्ते अध्ययन भ्रमणका लागि इजरायल गएका थिए ।
नेपालभन्दा ४६ वर्षअघि अर्थात् मार्च १९६१ मै इजरायलले काठमाडौंमा दूतावास खोलेको थियो । आधुनिक कृषि, सैन्य प्रविधिमा इजरायल अब्बल देश मानिन्छ । द्वीपक्षीय सम्बन्ध बनेदेखि नै इजरायलले नेपाललाई कृषि क्षेत्रको विकास, सहकारी, सैनिक–नागरिक सम्बन्ध, सैनिक तालिमलगायतमा सहयोग गर्दै आएको छ । त्यो आजपर्यन्त छ ।
इजरायलमा ‘केयर गिभर’का रूपमा कार्यरत ११ सय नेपाली छन् । सन् २०१४ बाट कृषि तालिमका लागि वार्षिक २ सयकाे हाराहारीमा नेपाली प्रशिक्षार्थी पनि इजरायल जाने गरेका छन् । इजरायलमा अवैधानिक रूपमा बसेकासमेत गरी २५ सयभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । भिसा अवधि सकिएर पनि थुप्रै नेपाली लुकेर बस्ने गरेका छन् ।
चिन्ता
मध्यपूर्वमा इजरायल–प्यालेस्टाइनबीचको संघर्षले संसारलाई अशान्त बनाउन सक्छ । त्यसैले जब गाजा र वेस्ट बैंकमा तनाव सुरु हुन्छ संसारका धेरै देश चिन्तामा पर्छन् । शक्तिका हिसाबले इजरायलकाे अगाडि प्यालेस्टाइन तुलना नै हुन सक्दैन । शक्तिशाली इजरायलका लागि हमास पनि खासै ठूलो चुनौती होइन । तर, हमासलाई मुस्लिम देशहरूको बलियो साथ छ । हमास र इजरायलबीच युद्ध बढ्दै जाँदा मुस्लिम देशहरू एक ठाउँमा उभिन सक्छन् । प्यालेस्टाइन र इजरायलबीच मध्यस्थकर्ता भनिए पनि अमेरिकाले निर्णायक घडीमा इजरायललाई साथ दिँदै आएको छ । उसले सन् २०१८ मा तेलअभिवबाट आफ्नो दूतावास जेरुसेलम सारेको थियो । इजरायलविरुद्ध मुस्लिम देशहरू एकट्ठा भएपछि युरोप र पश्चिमा देशहरू पनि विभाजित हुन्छन् । यस्तोमा एसियाली मुलुकहरू पनि ध्रुवीकृत हुनेछन् । दोस्रो विश्वयुद्ध पनि कुनै दुई देशबीचको लडाइँबाटै सुरु भएको थियो । त्यसैले अधिकांश मुलुकहरू इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वमा तटस्थ बस्ने गरेका छन् ।
यसपालिकाे संघर्षमा हमासतिर २०० भन्दा बढीकाे मृत्यु भयो, जसमा ५५ जना बालबालीका परे । इजरायलमा १२ जना मरे, यीमध्ये पाँच जना विदेशी नागरिक हुन्, जाे इजरायलमा काम गर्न बसेका थिए । मारिएकामा चार जना थाइल्याण्डका र एकजना भारतीय नागरिक छन् । यसपल्ट संयुक्त राष्ट्रसंघले दुई पक्षबीच भीषण युद्ध हुनसक्ने चेतावनी दिइसकेको थियो । तर, अन्तर्राष्ट्रिय समुदायका दबाबका बीच इजरायल र हमासले गत शुक्रबार युद्धविराम गरेका छन् र सम्भावित युद्ध तत्काललाई टरेको छ ।
यो पनि ः
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १६:२७