गाजामा रहेको एक बहुतल्ले भवन इजरायलले आक्रमण गरी ध्वस्त बनाएको छ । सञ्चारमाध्यमको कार्यालयसमेत रहेको उक्त भवन इजरायलले ध्वस्त पारेपछि अमेरिकाले चेतावनी दिँदै इजरायललाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न भनेको छ ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले ट्विट् गर्दै भनेकी छन्, 'हामीले इजरायललाई भनेका छौँ, स्वतन्त्र मिडिया तथा पत्रकारको सुरक्षा सुनिश्चित गर्नु उसको अहम् जिम्मेवारी हो ।'
शनिबार भएको उक्त आक्रमणमा भएको हताहतीका बारेमा यकिन विवरण आइसकेको छैन । इजरायलले ध्वस्त बनाएको उक्त भवनमा अलजजिरा तथा एपीका कार्यालय थिए ।
आफ्नो कार्यालय रहेको भवन ध्वस्त भएपछि अल जजिराका कार्यवाहक महानिर्देशक डा. मुस्ताव स्वेगले भनेका छन्, 'गाजास्थित अलजजिरा तथा अरू मिडियाको कार्यालय रहेको भवनमा आक्रमण गर्नु मानवअधिकारको उल्लंघन हो । र, अन्तर्राष्ट्रियस्तरमा यसलाई युद्ध अपराध मानिन्छ ।'
अलजजिराले इजरायलको यो कदमलाई स्वतन्त्र मिडियालाई चुप लगाउनु र गाजाको वास्तविकता दुनियाँसामु आउनबाट रोक्ने उद्देश्यले प्रेरित भएको बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८ १०:१७