नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले अक्सिजन प्लान्ट भएको कर्णाली प्रदेश अस्पातालले कोरोनाका बिरामाी भर्ना नलिने सूचना प्रकाशन गर्नु दुःखद भएको जनाएको छ । नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार मातहतमा रहेको कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट हुँदाहुँदै पनि अक्सिजनका अभावका थप बिरामी भर्ना नलिने सूचना प्रकाशित हुनु दुःखद भएको बताएका हुन् ।
कर्णालीको सुविधा सम्पन्न अस्पतालमा अक्सिजनको अभाव हुनुले कर्णालीका अन्य अस्पतालको हालत के होला भनेर प्रश्नसमेत गरिएको छ । ‘सुविधा सम्पन्न भनिएको कर्णाली प्रदेश अस्पतालको अवस्था यस्तो छ भने बाँकी जिल्ला अस्पतालको अवस्था कस्तो होला आफैँ अनुमान गर्न सकिन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारसँग स्रोतको कमी छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व प्रदेश सरकारको नै हो । आफूसँग भएको स्रोतको उचित परिचालन गर्न नसक्ने, अरुको सहयोग पनि लिन नसकेकाले आजको परिस्थिति उत्पन भएको हो ।’
कोरोना महामारीको अन्त्य नभएको र आउँदा दिनमा झन् कष्टकर हुने संकेत देखापरेकाले नागरिकको रक्षा पहिलो भएको कँडेलले बताए । ‘तत्कालीन र भविष्यमा आउने सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्याआवश्यक सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, आईसीयु र भेन्टिलेटरसहित बेड, चिकित्सक, स्वाथ्यकर्मी र आवश्यक औषधिको उचित व्यवस्थापनमा लाग्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछौँ’ उनले भने, ‘यसमा सहयोग गर्न संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला सबैमा हार्दिक आह्वान गर्छौं ।’
त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकको जीवन दिन प्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालमा पनि अक्सिजन अभावले नागरिकले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् ।
‘बिरामीको उपचारमा परेको कठिनाइ भइरहेकोप्रति संघीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर रूपमा लागेर अक्सिजनलगायतका स्वास्थ्य सामग्री तत्काल व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछु,’ उनले भने, ‘गत वर्ष नै नेपालमा पुनः महामारीको प्रकोप आउन सक्ने विज्ञहरूद्वारा दिएको सुझाव र सचेत गराएको कुरालाई हल्का रूपमा लिई पर्याप्त समय हुँदाहुँदै अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरबाही हो ।’
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८ १७:०६