कोरोनाका कारण फिल्मक्षेत्र निकै मारमा पर्यो । २०७६ फागुनदेखि नै बन्द रहेका फिल्म हल १० महिनापछि गत माघमा खुल्ला भए । त्यसपश्चात् केही नयाँ फिल्महरू रिलिज पनि भए । तर, हलमा दर्शकको उपस्थिति शून्यजस्तै भयो ।
लकडाउन खुलेसँगै केही फिल्मले आफ्नो छायांकन सकाए । तर, रिलिजका लागि पूर्ण रूपमा तयार फिल्महरू रिलिज हुन नसकेको समयमा नयाँ फिल्मको छायांकन सकिनुले फिल्मक्षेत्रमा उत्साह थपेको भने छैन ।
पहिलो चरणको लकडाउनमा फिल्मकर्मीहरू निकै संकटमा परे । अझ भनौँ, फिल्ममा दैनिक ज्याला मजदुरी गरेर खाने प्राविधिकहरूको त हरिबिजोग नै भएको थियो । त्यो समयमा केही दिलदार कलाकारहरूले प्राविधिकहरूलाई सहयोग गरे । कसैले चन्दा उठाएर पनि सहयोग गरेझैँ गरे ।
त्यतिबेला चलचित्र विकास बोर्डले मर्कामा परेका केही फिल्मकर्मीलाई राहत दियो । विकास बोर्डले नगद नै सहयोग गरेको थियो ।
अहिले पुन: फिल्मक्षेत्र ठप्प अवस्थामा छ । फिल्म हल बन्द छन् । फिल्मको छायांकन पनि गर्ने अवस्था छैन । अहिले पुन: फिल्मकर्मीहरू मर्कामा परेका छन् ।
निर्माताहरू फिल्म बनाउन लिएको ऋणको ब्याज तिरिरहेका छन् । हल संचालकहरू भाडा र बिजुलीको डिमाण्ड चार्च तिर्दातिर्दै ऋणमा डुबिसके ।
यता प्राविधिकहरू पुन: आर्थिक संकट आइलाग्ने डरमा छन् । अबको एक महिनासम्म पनि काम सुरु नभए आफूहरू संकटमा पर्ने गुनासो प्रविधिकहरूको छँदै छ ।
तर, अहिलेको अवस्थामा चलचित्र विकास बोर्ड निरीहजस्तै बनेको छ । विकास बोर्डले चाहेर पनि फिल्मकर्मीको चोटमा मलम लगाउन सकेको छैन ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अहिले चलचित्र विकास बोर्डको हालत नाजुक रहेको बताउँछन् । उनी भन्छन्, 'हामी आफैँलाई कार्यलय खर्च धान्न पनि गाह्रो भइरहेको छ । राहतबारे सोच्न पनि सकेका छैनौँ ।'
चलचित्र विकास बोर्ड विदेशी फिल्म नेपालमा रिलिज गरेबापत पाउने पैसाले चल्ने गर्छ । तर, अहिले त न विदेशी फिल्म रिलिज भएका छन्, पैसा आउने कुनै अर्को विकल्प छ । विकास बोर्ड आफैँ आर्थिक संकटमा फस्ने अवस्थामा छ ।
चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल ।यस्तो अवस्थामा सरकारी निकायबाट आफूहरूलाई कुनै सहयोग नभएको अध्यक्ष दाहालले बताए । उनी भन्छन्, 'हामीले धेरै पटक सम्बन्धित निकायमा पत्र पठाइसकेका छौँ । तर, उहाँहरूबाट केही सुनुवाइ नै भएको छैन । आफैँ गएर नझक्झकाएसम्म उहाँहरूले हाम्रो बोली सुन्नुहुन्न ।'
अध्यक्ष दाहाल अहिलेको विषम परिस्थितिमा सरकारले नै फिल्मक्षेत्रका लागि विभिन्न कार्यक्रमहरू बनाएर बजेट दिनुपर्ने माग गर्छन् । 'फिल्मसम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिसँग हामीले केही दिनमा छलफल गर्दै छौँ । छलफलमा हामी सरकारसमक्ष कसरी जाने भन्ने विषयमा निर्णय गर्नेछौँ । र, त्यसैअनुसार अगाडि बढ्नेछौँ', अध्यक्ष दाहालले भने ।
निषेधाज्ञा सुरु भएपछि भने विकास बोर्डमा गुनासो लिएर कुनै संस्था वा फिल्मकर्मी नआएको अध्यक्ष दाहालले बताए । उनी भन्छन्, 'पछिल्लो समय त्यस्तो गुनासो त आएको छैन । सायद, उहाँहरूलाई पनि विकास बोर्डको अवस्था थाहा भइसक्यो होला ।'
फिल्मकर्मी अशोक शर्मा अहिले चलचित्र विकास बोर्ड निरीह रहेको बताउँछन् । आम्दानीको स्रोत नै बन्द भएपछि विकास बोर्ड आफैँ समस्यामा फसिरहेको बताउँछन् । यस्तो अवस्थामा विकास बोर्डमा गुनासो गर्नु जायज नभएको उनको भनाइ छ ।
अशोक अहिलेको समयमा सरकारले नै फिल्मक्षेत्रलाई हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'हामी फिल्मकर्मीले वर्षैांदेखि विभिन्न शीर्षकमा सरकारलाई अर्बौं कर बुझाइसकेका छौँ । तर, मारमा परेको बेला सरकारले हामीलाई बेवास्ता गरिरहेको छ ।'
यो संकटको समयमा सम्पूर्ण फिल्मक्षेत्रलाई भन्दा पनि मारमा परेका फिल्मकर्मीको छनोट गरेर सरकारले नै राहत दिनुपर्ने अशोकको भनाइ छ । 'हामीले सबैलाई पैसा दिनुपर्छ भनेका छैनौँ र भन्दैनौँ पनि । तर, लगानी फ्रिज भएका निर्माताहरूलाई उनीहरूको लगानीको ५० प्रतिशत र मारमा परेका हलवालाहरूलाई सरकारले केही राहत दिनुपर्छ’, अशोकले भने ।
त्यस्तै, चलचित्र निर्माता संघका महासचिव रोज राणा अहिले विकास बोर्डसँग राहत माग्ने कुनै आधार नरहेको बताउँछन् । उनी भन्छन्, 'हामीले विकास बोर्डलाई पैसा दे भन्न मिल्दैन । विभिन्न सेवा सुविधाको माग राख्ने हो । अहिलेको समयमा के सेवा सुविधाको माग गर्ने हो र ?'
अहिले विकास बोर्डसँग वा सरकारसँग राहत वा सहयोग माग्नुपर्ने अवस्था नरहेको रोजको भनाइ छ । 'हामी यहाँ व्यापार गर्न आएका हौँ', रोज भन्छन्, 'हाम्रोजस्तै अन्य धेरै व्यापारहरू घाटामा गएका छन् । अन्य व्यापारीलाई पनि त सरकारले केही गरेको छैन । केही समय कुरौँ न ।'
विकास बोर्डले सरकारसँगको समन्वयमा हलवालाले तिर्ने भाडा र विद्युतीय डिमाण्ड चार्जमा भने छुट गरिदिनुपर्ने रोजको माग छ । बाँकी 'पर्ख र हेर'को अवस्था रहेको रोज बताउँछन् । उनी भन्छन्, 'पहिला अवस्था केही सामान्य बनोस्, त्यसपछि हामीले विकास बोर्डसँग मिलेर के गर्न सकिन्छ भन्नेबारे सोचौँला ।'
फिल्मकर्मीलाई भ्याक्सिन !
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अहिले बोर्डले फिल्मकर्मीहरूका लागि भ्याक्सिन लगाउने व्यवस्था मिलाउन लागेको बताउँछन् । फिल्मकर्मीलाई सुरक्षित महसुस गराउन पनि भ्याक्सिन लगाउने तयारी गरिएको उनले बताए ।
दाहाल भन्छन्, 'भ्याक्सिन लगाउन कलाकारहरू हस्पिटलसम्म पुग्नु भएन । सेलिब्रेटी भएपछि कतिपयलाई त जान पनि गाह्रो हुने भयो । त्यसैले विकास बोर्डले फिल्मकर्मीहरूलाई भ्याक्सिन लगाउने मेसो मिलाइरहेको छ ।'
अहिलेको समयमा फिल्मका सम्पूर्ण काम ठप्प छन् । फिल्मकर्मीहरू घरमा नै थुनिएर बसेका छन् । के घरमा थुनिएर बसेका फिल्मकर्मीलाई भ्याक्सिन जरुरी छ ?
उनले जवाफ दिए, 'अहिले पो ठप्प भएको छ । केही समयपछि त फिल्मक्षेत्र पनि चलायमान होला नि । त्यो समयमा सुरक्षित हुनका लागि पनि अहिले भ्याक्सिन उपलब्ध गराउन लागेका हौँ ।'
भ्याक्सिनका लागि पनि सम्बन्धित निकायसँग छलफल गरिरहेको अध्यक्ष दाहालले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १६:१०